+
+
Shares

अबको ध्यान सम्पदा पुर्ननिर्माणमा केन्द्रितः मेयर शाक्य

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २३ गते ९:४७

२३ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आर्थिक वर्ष २०७६–०७७ को बजेट सर्वसहमतिले पारित गरेको भन्दै अबको ध्यान सम्पदा पुर्ननिर्माणमा केन्द्रित गर्ने बताएका छन् ।

राजधानीमा बिहीबार मातृभूमि महिला समाजले आयोजना गरेको ‘काठमाडौँ महानगरपालिका जनप्रतिनिधिहरु त्था संघीय राज्य व्यवस्था’ नामक पुस्तक विमचोन कार्यक्रममा यस्तो बताएका हुन् ।

अहिले वर्षात्का कारण काम गर्न केही समस्या भएको छ,’ उनले भने, ‘वर्षा सकिने वित्तिकै कामले गति लिनेछ ।’ उनले महानगरवासीको अपेक्षा अनुसार नै कामको गति अघि बढाउने प्रष्ट पारे ।

‘हामी जनप्रतिनिधि हौँ, त्यसैले हाम्रो ध्यान महानगरवासीको अपेक्षा अनुसार अघि बढ्नुपर्छ । हामी त्यहि अनुसार खटिरहेका छौँ,’ उनले भने, ‘म अहिले जति खटिरहेको छ, मेरो वडाध्यक्ष र समेरो सम्पूर्ण टीम पनि महानगरपालिकाको विकास कसरी गर्न सकिन्छ भनेर योजनासहित खटिरहेको छ ।’

उनले आफ्नो कार्यकालमा काठमाडौँ महानगरवासीले कल्पना गरेको सहरका रुपमा विकास गर्ने प्रयासमा निरन्तर लाग्ने पनि प्रतिवद्धता व्यक्त गरे ।

उनले आफ्नो सम्पूर्ण टीम नै त्यसैमा केन्द्रित भएर लागेको पनि प्रष्ट पारे । उनले आफू कुनै एक दलको प्रतिनिधि बनेर निर्वाचित भए पनि मेयर बनेपछि सबै जनताको साझा हुने भएकाले निर्वाचनमा विजयी हुन नसकेका उम्मेदवारले समेत व्यक्त गरेका प्रतिवद्धतालाई समेत जनताको बीचमा लिएर जाने प्रतिवद्धता व्यक्त समेत गरे । ‘निर्वाचनका बेलामा हामी सबै पार्टीका उम्मेदवारले आ–आफ्ना प्रतिवद्धता व्यक्त गरेका थियौँ,’ उनले भने, ‘म मेयर निर्वाचित भएर आएँ । अब मेरो मात्र होइन अरु उम्मेदवारले पनि व्यक्त गर्नुभएका सकारात्मक प्रतिवद्धतालाई आफ्नो पनि प्रतिवद्धता हो भनेर हामी जनताको बीचमा गइरहेका छौँ ।’

उनले सम्पदा संरक्षण आफ्नो पहिलो प्राथमिकतामा रहेको भन्दै सबै भन्दा बढी ध्यान सम्पदा पूर्ननिर्माणमा केन्द्रित गरेको पनि जानकारी दिनुभयो । ‘सम्पदाको पुर्ननिर्माण गर्ने, हरियाली प्रर्वद्धन गर्ने कुरालाई पनि प्राथमिकतामा राखेका छौँ,’ उनले भने ।

उनले यो पटकको बजेटमा करको दरमा बृद्धि नगरेको पनि प्रष्ट पारे । ‘करको दर बढाउँदा जनतालाई मार पर्छ भनेर हामीले यसो गरेका हौँ,’ उनले भने, ‘कर ‘कहर’ले होइन रहरले तिर्ने अवस्था बनोस् भनेर नै हामीले यसो गरेका हौँ ।’

उनले काठमाडौँ महानगरपालिका अन्य स्थानीय सरकार भन्दा फरक रहेको भन्दै यहाँको जनप्रतिनिधिबाट अलिक बढी नै अपेक्षा गर्ने कुरालाई आफूले पनि आत्मसाथ गरेको प्रष्ट पारे । ‘काठमाडौँ देशको राजधानी पनि हो,’ उनले भने, ‘पछिल्ला तथ्याङ्क अनुसार काठमाडौँका मतदाताको जनसंख्या २ लाख ७५ हजारको हाराहारीमा छ ।

तर, अहिले काठमाडौँ महानगरपालिकाको सेवाग्राहीको सङ्ख्या हेर्ने हो भने ४० लाखको हाराहारीमा छ । त्यति मानिसलाई हामीले सेवा दिनु पर्ने बाध्यता छ । त्यसकारण पनि हामीले सोचे अनुसारको सेवा दिन सकेका छैनौँ ।’

उनले यद्यपि कामलाई गति दिने कुरा हिजो भन्दा आज र आज भन्दा भोलि बढी हुँदै गएको पनि दाबी गरे । ‘हाम्रो टीमले गौरव गर्ने गरी काम गरिहेको छ । दुई वर्ष अघिको काठमाडौँ र अहिलेको काठमाडौँमा तुलना गर्नुहोस् । धेरै कुरामा अघि बढेका छौँ,’ शाक्यले भने, ‘यद्यपि हामीले कल्पना गरेको महानगरपालिका अझै बन्न सकेको छैन । यो बनाउन अझै समय लाग्छ । त्यसका लागि हामी मात्र खटेर हुँदैन । कर्मचारी र जनताको पनि उत्तिकै सहयोग आवश्यक छ ।

सहकार्य र समन्वयबाट मात्रै हामी हाम्रो लक्ष्यमा पुग्न सक्छौँ । हामी सबै समृद्ध महानगरपालिका बनाउन लाग्नुको अर्को विकल्प छैन ।’उनले तीन तहकै सरकार संघीयतालाई बलियो बनाउन लाग्नु पर्नेमा पनि जोड दिए ।

उनले आफू मात्र समृद्ध भएर हुँदैन भनेर काठमाडौँ महानगरपालिकाले छिमेकी नगरपालिकासँग पनि सहकार्य गरेर अघि बढेको दाबी पनि गरे । कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सेनालगायतले पनि बोल्नु भएको थियो भने सस्कृतिविद् सत्यमोहन जोशी, मोदनाथ प्रश्रितलगायतलाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?