
२४ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्थालाई बोकेर हिँड्नु संवैधानिक अधिकार भएको बताएका छन् ।
शुक्रबार काभ्रेको धुलिखेलमा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रममा उनले नेकपा अध्यक्ष प्रचण्डले राजसंस्थाको वकालत गर्नेहरुलाई दासको संज्ञा दिएकोमा आपत्ति जनाए ।
अध्यक्ष थापाले सनातन हिन्दु राष्ट्र, संवैधानिक राजसंस्था र सुदृढ स्थानीय शासनको औचित्य अझ बढेको दावी गरे । उनले ७५३ वटै स्थानीय तहका वडासम्म संगठन बनाउने र हिन्दु राष्ट्रको स्थापनाको लागि संकल्प यात्रा गर्ने, भ्रष्टाचार विरुद्ध अभियान चलाउने, गाउँ फर्क अभियान चलाउनेलगायतका कार्यक्रम गर्ने बताएका छन् ।
राप्रपाले लिएको एजेन्डा स्थपित गर्न प्रयास जारी रहेको र केही समय लाग्न सक्ने भए पनि हरेकले स्वतन्त्र रूपमा एजेन्डा बोकेर हिँड्न संविधानले नै स्वतन्त्रता दिएको थापाले बताए ।
कार्यक्रममा वरिष्ठ नेता दिपक बोहरा, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, प्रवक्ता भुवन पाठकलगायतले पार्टीको विचार, सिद्धान्तबारे बुझाउन प्रशिक्षण कार्यक्रम फलदायी हुने बताए ।
प्रशिक्षक प्रशिक्षण कार्यक्रममा अध्यक्ष कमल थापा, महामन्त्री राजेन्द्र लिङ्देन, प्रवक्ता भूवन पाठक, रमानन्द न्यौपाने, रोजेश रिजाल लगायतले प्रशिक्षण दिनेछन् ।
प्रतिक्रिया 4