Comments Add Comment

बिहारका ‘मस्ट वान्टेड’ सुटर सहजै आए विराटनगर

२४ साउन, विराटनगर । विराटनगरका खाद्यान्न व्यापारीको हत्याका लागि पाँच लाख भारुको ‘सुपारी’ लिने राकेश झा भारतमा मष्ट वान्टेडको सूचीमा रहेको व्यक्ति भएको खुलेको छ । बिहारको सीतामढी जिल्लाका उनीमाथि १० भन्दा बढी लुटपाटमा संलग्न भएको आरोप छ ।

भारतीय पत्रिका ‘जागरण’काअनुसार सीतामढीका चर्चित गुण्डा झा तीन वर्षअघि सीतामढीका राजनीतिक कार्यकर्ता राजिव गौतमको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेर केही महिनामा छुटेका थिए । त्यसपछि पनि आपराधिक गतिविधिमा संलग्न उनी बिहार प्रहरीको ‘मस्ट वान्टेड’ सूचीमा छन् ।

सर्लाहीका हरिनारायण झासँग सम्बन्ध बनाएका झाले नेपालका तराईका जिल्लाहरुलाई सुरक्षित शरणस्थल बनाएका थिए । उनले जेठ दोस्रो साता विराटनगरका खाद्यान्न व्यापारी जितेन्द्र राय (जितु) को हत्या गर्ने ‘सुपारी’ हरिनारायणबाटै लिएका थिए । विराटनगरका मन्नु गुप्ताले लेनदेनको रिसइबीका कारण रायको हत्या गर्ने योजना बनाएका थिए ।

प्रहरी स्रोतका अनुसार, राकेश झा गुप्तासँग ‘डिल’ गर्न जेठ तेस्रो साता विराटनगर आएर ‘सुटर’ लिन सीतामढी फर्किएका थिए । सीतामढीकै कुलानकुमार सिंह र राजुकुमार रौनियारलाई उनी फेरि विराटनगर आए ।

कुलान र राजु रौतहटको गौर हुँदै अनि राकेश जोगवनीको बाटो विराटनगर आएका थिए ।

जेठ २६ गते रायको घर देखाएर राकेश त्यही बेलुका भारततिर लागे । २७ गते बिहान योजना अनुसार गोली हान्ने मौका नपाएपछि तनावमा परेका कुलान र राजु बेलुका मदिरा सेवन गर्न रेष्टुरेन्टमा पसेका थिए । त्यसक्रममा गोजीको पेस्तोल भुँइमा खसेपछि नेपाल प्रहरीको हातमा परेका उनीहरुले केरकारको क्रममा सबै योजना बताए ।

जितु रायको हत्या गर्न सितामढीबाट दुईवटा पेस्तोत र सात राउण्ड गोली बोकेर गौर हुँदै विराटनगर आएका कुलानकुमार र राजुकुमार कसैको नजरमा परेनन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारी राकेश झा उनीहरुभन्दा एकदिन अघि विराटनगर आएर फरार भएको हुनसक्ने बताउँछन् ।

कुनै समय विराटनगरमा हुने ठेक्कापट्टा र चन्दा असुलीमा कुख्यात रहेका अभिषेक गिरी तीन वर्ष अघिसम्म जिल्ला कारागार मोरङमा थिए । त्यो बेला गिरीले बाहिरी काममा जितु राय र मन्नु गुप्तालाई परिचालन गर्ने गरेको प्रहरी स्रोत बताउँछ । स्रोतका अनुसार, २०७४ चैतमा गिरीलाई काठमाडौं स्थानान्तरण गरिएपछि जितु र मन्नुबीच लेनदेन विवाद चर्कियो ।

त्यहीबीचमा मन्नु बलात्कारको आरोपमा पक्राउ परे । यो प्रकरणमा जितुले भूमिका खेलेको भन्दै मन्नुले हत्या गराउन सुपारी दिएको प्रहरी स्रोत बताउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment