Comments Add Comment

तिलोत्तमा नगरपालिकाले लगानी सम्मेलन गर्दै , दुई अर्ब लगानी भित्राउने लक्ष्य

२२ साउन, बुटवल । स्थानीय तहहरु मध्ये रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पहिलो पटक लगानी सम्मेलन गर्ने भएको छ । कम्तीमा दुई अर्ब लगानी भित्राउने लक्ष्यसहित आगामी असोज ९ गते ‘तिलोत्तमा लगानी सम्मेलन’ आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।

लगानी सम्मेलनमा कृषि, उद्योग, व्यापार, पर्यटन, पूर्वाधारलगायतका क्षेत्रका १९ वटा परियोजना प्रस्तुत गरिने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख बासुदेव घिमिरेले बताए ।

देशकै मध्यभाग, बुद्ध जन्मस्थल लुम्बिनी, गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल र भारतीय सिमानाकासँग नजिक, पर्याप्त खुला क्षेत्र र लगानीका लागि आवश्यक पुर्वाधार भएकाले स्वदेशी तथा विदेशी लगानी भित्राई नगरलाई थप समृद्ध बनाउन लगानी सम्मेलन आयोजना गरिएको घिमिरेले बताए । सम्मेलनमा स्वदेशी दुई सय जना र विदेशी ५० जना लगानीकर्ता सहभागी हुने अपेक्षा नगरपालिकाले गरेको छ ।

लगानी सम्मेलनमा तिलोत्तमाको वार्ड नंं १७मा प्रस्तावित कृषि उपज संकलन तथा प्रशोधन केन्द्र -कोल्डस्टोर सहित), वडा नंं १३र १४ मा प्रादेशिक बस पार्क,वडा नंं १० मा ३५ बिघामा तिलोत्तमा औद्योगिक क्षेत्र, वडा नंं १४ मा सूचना प्रविधि पढाइ हुने सिटी कलेज, रिङरोड रेलवे, वडा नंं ११मा ढाक्रेबास एकीकृत पर्यटकीय क्षेत्र, वडा नंं ६र ८ मा एकीकृत सरसफाई केन्द्र, तिलोत्तमा बिजनेस हब, स्मार्ट पार्किङ, स्मार्ट पार्क तथा बाल उद्यान, दुग्ध संकलन तथा प्रशोधन केन्द्र, मिनी नेपाल, रोहिणी पर्यटकीय क्षेत्र विकास आयोजना, तिलोत्तमा भ्यू टावर, शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र, स्मार्ट हाट बजार लगायतका परियोजना तयार गरिएको नगरपालिकाका प्रमुख घिमिरेले जानकारी दिए ।

‘केही परियोजनाबारे चिनिया र भारतीय लगानीकर्ताहरुसंग प्रारम्भिक छलफल भइसकेको छ, उहाँहरु लगानी गर्न सकारात्मक देखिनुभएको छ’-नगरप्रमुख घिमिरेले भने, ‘हाम्रो प्राथमिकता भने विदेशी भन्दा स्वदेशी लगानीकर्तामै छ ।’ लगानी सम्मेलनमा सम्झौता हुने परियोजनाका लागि आकर्षक कर छुट र एकद्वार प्रणालीबाट सेवा दिने गरी नीतिगत र कानूनी प्रबन्ध गरिएको घिमिरेले बताए ।

लगानी सम्मेलनको तयारीका लागि नगरप्रमुख घिमिरेको संयोजकत्वमा मूल समिति र स्थानीय नीजि क्षेत्रका व्यवसायिक संघ संस्थाहरुको सहभागितामा विभिन्न दुई दर्जन उपसमितिहरु बनाएर काम अघि बढाइएको प्रवक्ता सुरेन्द्र श्रीले बताए ।

प्रदूषण गर्ने खालका उद्योगहरुलाई भने स्थान नदिइने नगरपालिकाको नीति छ । लगानी सम्मेलनमा आयोजकसहित संघीय तथा प्रदेश सरकारका मन्त्री, सांसद, प्रमुख राजनीतिक दलका नेता, सरकारका उच्चपदस्थ प्रतिनिधि, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधि, विकास साझेदार संस्थाका प्रतिनिधि, नेपाली निजी क्षेत्र, गैरआवासीय नेपाली र स्वदेशी तथा विदेशी लगानीकर्ता समेत गरी ५ सय जनाको सहभागिता रहने छ ।

तिलोत्तमाको कोटिहवास्थित टाईगर प्यालेस रिसोर्टमा हुने सम्मेलनका लागि करिव ३० लाख खर्च हुने अनुमान गरिएको छ । सम्मेलनमा सहभागिताका लागि मुलुकका विभिन्न स्थानमा अन्तरक्रिया समेत गरिनेछ । लगानी सम्मेलनपछि यहाँ आउने लगानी, पुँजी र ज्ञानले नगर समृद्धिको मार्गचित्र कोर्ने भएकाले यो लगानी सम्मेलनलाई कोशेढुंगाको रुपमा लिइएको उपप्रमुख जागेश्वरीदेवी चौधरीले बताइन् ।

२०७१ सालमा स्थापित ७२ नगरपालिका मध्ये तिलोत्तमा सबैभन्दा धेरै क्षेत्रफल भएको नगरपालिका हो । साविकका सात वटा गाविस शंकरनगर, आनन्दवन, करहिया, मक्रहर, गंगोलिया, मधवलिया, टिकुलिगढ मिलेर बनेको तिलोत्तमा नगरपालिका तीव्र शहरीकरण भैरहेको छ । यहाँ दिनहुँ चार वटा नयाँ घर थपिने गरेका छन् भने उद्योग, व्यापार, व्यवसाय, होटल, रिसोर्ट खुल्ने क्रम पनि तीव्र छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment