Comments Add Comment

प्रदेश २ मा सांसदले मुख्यमन्त्रीलाई प्रश्न सोध्न पाउने

२४ साउन, जनकपुरधाम । प्रदेश २ का सांसदहरुले मुख्यमन्त्रीसँग प्रत्यक्ष रुपमा प्रश्न गर्ने भएका छन् । प्रदेशसभा कार्य संचालन नियमावलीलाई पहिलो संशोधन गर्दै यस्तो व्यवस्था गरिएको छ ।

नियमावली संशोधन संसदमा पेश गरिएपछि चार जना सांसदको एउटा उप-समिति बनाइएको थियो, जसले संशोधन पारित गरेको छ । प्रदेशसभा कार्य सञ्चालन नियमावली संशोधन गर्दै समितिले मुख्यमन्त्रीसँग सांसदहरुले प्रत्यक्ष रुपमा प्रश्न गर्ने व्यवस्था ल्याएका हुन् ।

नयाँ व्यवस्थाअनुसार सांसदहरुले मुख्यमन्त्री वा निजको कार्यक्षेत्रभित्रका मन्त्रालयसँग प्रत्यक्ष रुपमा सम्बन्धित महत्वपूर्ण बिषयमा प्रश्न सोध्न सक्नेछन् । यसका लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्तामा बस्ने पहिलो बैठकको पहिलो एक घण्टा निर्धारण गर्न सक्नेछन् ।

उक्त दिन कारणवश बैठक बस्न नसकेमा त्यसपछि लगत्तै बस्ने बैठकको पहिलो एक घण्टाको समय निर्धारण गरिनेछ ।

सोधिएको प्रश्नको जवाफ मुख्यमन्त्रीलाई तत्कालै दिनुपर्ने हुन्छ । तर मुख्यमन्त्रीको कार्यक्षेत्रभित्रका मन्त्रालयसँग सम्बन्धित बिषयको जवाफ सभामुखको अनुमति लिई मुख्यमन्त्रीको अनुपस्थितिमा निजले तोकेको अर्काे कुनै मन्त्रीले दिन बाधा पुर्‍याएको मानिँदैन ।

एक दिनको बैठकमा बढीमा १० जना सदस्यले मात्र प्रश्न सोध्न सक्ने तथा एउटा सदस्यले सोधेको प्रश्नको जवाफ दिइसकेपछि क्रमशः अर्काे प्रश्नकर्ता सदस्यको नाम सभामुखले बोलाउनेछन् । प्रश्नकर्ताले बैठक प्रारम्भ हुनुभन्दा एक घण्टा अगाबै सभामुखलाई प्रश्नबारे जानकारी गराउनुपर्ने र प्रश्नोत्तर सम्बन्धी बैठकमा छलफल भने हुने छैन ।

प्रदेशसभा कार्य संचालन मूल नियमावलीको नियम ५६ पछि थप गर्दै यो नियम राखिएको उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment