Comments Add Comment

सचिवालयका नेतालाई विभागीय जिम्मेवारी नदिन नेकपामा दबाव

नेताहरुको रुचि बुझ्ने क्रम सकियो, विभाग प्रमुखमा धेरैको दाबी

२६ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अधिकांश स्थायी कमिटी तथा केन्द्रीय कमिटी सदस्यहरुले सचिवालयमा रहेका नेताहरुलाई बिभागीय प्रमुखको जिम्मेवारी नदिन लिखित र मौखिक सुझाव दिएका छन् ।

जिम्मेवारी पाउन बाँकी रहेका स्थायी कमिटी तथा केन्द्रीय कमिटी सदस्यहरुको रुचि अनुसार भूगोल, विभाग र मोर्चा संगठनको जिम्मेवारी दिनका लागि महासचिव विष्णु पौडेलले व्यक्तिगत रुपमा भेटेर उनीहरुको चाहना बुझ्नेक्रममा यस्तो सुझाव आएको हो ।

स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी, बेदुराम भुसाललगायतका नेताहरुले सचिवालयले सिंगो पार्टी कमाण्ड गर्ने भएकाले सचिवालय सदस्यहरुलाई बिभाग प्रमुख नबनाउन सुझाव दिएको स्रोतले जनाएको छ । अधिकांश नेताहरुले सचिवालयमात्र होइन मन्त्रीलाई पनि अन्य जिम्मेवारी दिन नहुने बताएका छन् ।

सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ले अघिल्लो सचिवालय बैठकमै यो प्रस्ताव राखेका थिए । अर्का सचिवालय सदस्य ईश्वर पोखरेल पनि एउटा विभागमा विवाद गरेर बस्नुभन्दा सचिवालयमा रहने नेताले कुनै पनि बिभागमा सीमित हुन नहुने पक्षमा छन् ।

‘एक जनाले धेरै जिम्मेवारी लिनु विधानविपरीत’

नेकपा स्रोतका अनुसार स्थायी कमिटी सदस्य बेदुराम भुसालले लिखित रुपमै आफ्ना सुझाव दिएका छन् । पार्टी स्कूल विभाग प्रमुखको दावी गरिरहेका भुसालले सचिवालय सदस्यले समग्र पार्टी कामको अनुगमन तथा निर्देशन गर्नुपर्ने भन्दै विभागीय जिम्मेवारी नदिन सुझाव दिएका छन् ।

नेता भुसालले एक जनाले धेरै जिम्मेवारी लिने कुरा पार्टी विधानको विपरित हुने भएकाले एक व्यक्ति एक मुख्य जिम्मेवारीको कुरा आफूले उठाएको बताए । उनले सचिवालय सदस्यहरुले एउटामात्रै विभाग लिएर बस्नेभन्दा पनि ठूलो दायरामा जिम्मा लिनु उपयुक्त हुने सुझाव दिएको स्वीकारे ।

भुसालले भने– केन्द्रीय सचिवालय सदस्यहरुले अनुगमन र समन्वयको कामको जिम्मा लिएर ठूलो दायरामा पार्टी कामको नेतृत्व गर्नु उपयुक्त हुन्छ । ठूला जनसंगठन र धेरै काम हुने बिभागको इञ्चार्ज स्थायी कमिटीबाट बनाउनुपर्छ भन्ने मेरो राय महासचिवलाई बुझाएको हुँ । यसमा अधिकांश केन्द्रीय सदस्यहरुको राय समेटिएको छ ।

विभाग प्रमुखमा धेरैको दाबी

नेकपा स्रोतका अनुसार अधिकांश स्थायी कमिटी सदस्यहरुले आ–आफ्नो रुचि राख्ने क्रममा बिभाग प्रमुखमा दावी गरेका छन् । महासचिव पौडेलले स्थायी कमिटी तथा केन्द्रीय कमिटी सदस्यहरुसँग लिखित तथा मौखिक सुझाव लिई सकेसम्म उनीहरुको रुचिअनुसारकै जिम्मेवारी दिन केन्द्रीय सचिवालय बैठकमा प्रस्ताव लैजाने बताइएको छ ।

केन्द्रीय कमिटी सदस्यहरुलाई फारम भराएरै कार्य विभाजनको टुंगो लगाउने निर्णयअनुरुप महासचिव पौडेलले पार्टी कामको जिम्मेवारी पाउन बाँकी सदस्यहरुलाई कुन विभाग, फाँट वा मोर्चामा काम गर्न इच्छा छ भनेर रुचि बुझेका हुन् ।

नेकपाको कुल ४४१ सदस्यीय केन्द्रीय कमिटीका आधाभन्दा बढीले प्रदेश र जिल्ला तथा महानगरमा जिम्मेवारी पाइसकेका छन् । अब बाँकी केन्द्रीय सदस्य र स्थायी कमिटी सदस्यहरुको रुचिलाई समेत ध्यानमा राखी कामको जिम्मेवारी तोक्न लागिएको स्रोतले जनाएको छ ।

मन्त्रीलाई दोहोरो जिम्मेवारी नदिन सुझाव

स्रोतका अनुसार केन्द्रीय कमिटीका सदस्यहरुमध्ये जसको कार्य विभाजन हुन बाँकी छ, उनीहरुसँग तीनवटा विकल्प सहितको सुझाव संकलन गरिएको छ । एउटा व्यक्तिले तीनवटा विकल्पसहित पार्टी सचिवालयमा आफ्नो सुझाव दिएका छन् । अधिकांशले सचिवालय सदस्यलाई विभागमा सीमित नगर्न र मन्त्रीहरुलाई दोहोरो जिम्मेवारीबाट मुक्त गर्न सुझाव दिएको स्रोतले जनाएको छ ।

पौडेलले सबै सदस्यहरुको रुचिसहितका विकल्पमा सुझाव संकलन गरी आगामी साउन २८ गते बस्ने केन्द्रीय सचिवालय बैठकमा पेश गर्नेछन् ।

अध्यक्ष केपी ओली साेमबार स्वदेश फर्किदैछन् । ओली फर्किएपछि नेताहरुबीच छलफल गरेर सचिवालय बैठकमा प्रस्ताव पेश हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment