Comments Add Comment

डोटीमा पटकपटक गर्भपतन गराउने महिलाको संख्या बढ्दै

२६ साउन, डोटी । सन्तानको रहर पुगिसकेकी पूर्वीचौकीकी जयसराले (नाम परिवर्तन) आइतबार जिल्ला अस्पताल सिलगढीमा गर्भपतन गराइन् । दुई छोरा र तीन छोरीकी आमा उनले योसमेत तीन पटक गर्भपतन गराइसकेकी छन् ।

दुई बर्षअघि पनि उनले गर्भपतन गराएकी थिइन् ।

बोगटानकी ईश्वरा (नाम परिवर्तन) केहीदिन पहिले जिल्ला अस्पतालमा भेटिइन् । उनको गर्भ रहेको ११ हप्ता भइसकेको थियो । स्थानीय सूचीकृत स्वास्थ्य संस्थाले नौ हप्तासम्मको मात्रै गर्भपतन गराउन मिल्ने भएका कारण उनले जिल्ला अस्पतालमै आउनुपर्‍यो । एक छोरा एक छोरीकी आमा उनले यसअघि पनि एक पटक गर्भपतन गराइसकेकी छिन् ।

गत आर्थिक वर्षमा जिल्लाका विभिन्न स्वास्थ्य संस्थाबाट एक हजार १६६ जनाले सुरक्षित गर्भपतन गराएका छन् । डोटी जिल्ला अस्पतालबाट ३ सय ३, परिवार नियोजन संघ डोटी शाखाको क्लिनिकबाट ६० र जिल्लाका ग्रामीण क्षेत्रमा रहेका सूचीकृत १९ स्वास्थ्य संस्थाहरुबाट ८०३ जनाले गर्भपतन गरामएका गैरसरकारी संस्था सामुदायिक विकास मञ्चको तथ्याङ्क छ । शैलेश्वरी अस्पतालबाट सेवा लिनेहरुको संख्या जोडिएको छैन ।

यसअघि आर्थिक वर्ष २०७४/०७५ मा एक हजार १२६ र २०७३/०७४ मा ६३९ जनाले गर्भपतन गराएका कार्यक्रम संयोजक दीपिका सिंहले जानकारी दिइन् । डोटी जिल्ला अस्पतालले १८ हप्तासम्मको गर्भ र अन्य स्वास्थ्य संस्थाहरुले नौ हप्तासम्मको गर्भपतन गराउन पाउने इजाजत पाएका छन् ।

सुरक्षित गर्भपतन गराउने कानुनी व्यवस्था भएपछि यसको संख्या बढेको डोटी जिल्ला अस्पतालका डा. मिश्रले बताए । पहिले ग्रामीण क्षेत्रमा सूचीकृत स्वास्थ्य संस्थाहरुको संख्या पनि कम र पहुँच नभएकाले पनि बढी असुरक्षित गर्भपतन हुने गरेको बुझाइ डा. मिश्रको छ ।

एउटै महिलाले एकै वर्षमा तीन पटकसम्म सुरक्षित गर्भपतन सेवा लिने गरेको उनले बताए । पटक-पटक गर्भपतन गराउनु महिलाको लागि राम्रो नभएको उनले बताए । उनले भने, ‘यसले महिलाहरुमा बाँझोपन ल्याउन सक्छ, पाठेघरमा संक्रमण हुन सक्छ र धेरै रगत बग्यो भने एनिमिया हुने खतरा हुन्छ ।’

परिवार नियोजनका साधनप्रतिको बेवास्ताका कारण पनि गर्भपतन गराउनेको संख्या बढेको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. भुषण मिश्र बताउँछन् । डा. मिश्रका अनुसार श्रीमान विदेशबाट घर फर्केपछि इच्छा विपरीत गर्भ रहन जाँदा गर्भपतन गराउँछन् ।

सुरक्षित गर्भ पतन गराउनेतर्फ भन्दा पनि गर्भपतन गर्नै नपर्ने गरी जनचेतना जगाउनुपर्ने डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए । ‘गर्भपतन गराउनु स्वास्थ्यका दृष्टिकोणले राम्रो होइन’ प्रजिअ पौडेलले भने ‘बरु परिवार नियोजनका अस्थायी साधनहरुको प्रयोग गर्नेमा जोड दिनु जरुरी छ ।’

१८ वर्ष मूनिकाले पनि गराउँछन् गर्भपतन

सुरक्षित गर्भपतन सेवा लिनेमा १८ बर्ष मूनिका किशोरीहरु पनि रहेको कार्यक्रम संयोजक सिंहले बताइन् । ‘१५/१६ बर्षकै उमेरमा पनि गर्भपतन गराउन आएको देखिन्छ’ उनले भनिन् ‘गत बर्ष गर्भपतन गराउनेमध्ये २.८० प्रतिशत २० बर्ष मुनिका थिए ।’

सिंहका अनुसार ४५ बर्ष पुगेका महिलाहरु गर्भपतन गराउन आएका छन् ।

मुलुकी अपराध (संहिता) ऐन, २०७४ अनुसार १८ बर्ष मूनिका किशोरीसंग उसको मञ्जुरी लिई वा नलिई यौन सम्पर्क गरे जबरजस्ती करणी भएको मानिन्छ । १८ बर्षमूनिका किशोरीहरु गर्भपतन गराउन आउँदा कानूनी दायरामा ल्याउनुपर्ने जिल्ला प्रहरी प्रमुख एसपी विद्यानन्द माझीले बताए ।

सुरक्षितको नाममा असुरक्षित गर्भपतन

जिल्ला समन्वय समिति डोटीका उपप्रमुख सशी सोवले केही असुरक्षित गर्भपतन पनि भइरहेको आशंका गरिन् । औषधी पसल सञ्चालकहरुले असुरक्षित गर्भपतन गराउने गरेको उल्लेख गर्दै उनले थपिन् ‘एक पटक औषधी व्यवसायीहरुसंग समन्वय गर्नु जरुरी छ ।’

कस्तो अवस्थामा गर्भपतन गराउन पाइन्छ ?

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन २०७५ अनुसार गर्भवती महिलाको मञ्जुरीमा १२ हप्तासम्मको गर्भपतन गर्न पाइन्छ ।

यस्तै गर्भपतन नगराउँदा गर्भवती महिलाको ज्यानमा खतरा हुन सक्ने वा विकलाङ्ग बच्चा जन्मने भनी इजाजत प्राप्त चिकित्सकको रायमा २८ हप्तासम्म, जबरजस्ती करणी वा हाडनाता करणीबाट रहन गएको गर्भ भए २८ हप्तासम्मको गर्भपतन गर्न पाउने कानुनी व्यवस्था रहेको छ ।

यस्तै रोग प्रतिरोध क्षमता उन्मुक्ति गर्ने जीवाणुु (एआईभी) वा त्यस्तै प्रकृतिको अन्य निको नहुने रोग लागेको अवस्थामा र भ्रुणमा कमी कमजोरी भएका कारण गर्भमै नष्ट हुन सक्ने वा जन्मेर पनि बाँच्न नसक्ने गरी गर्भको भ्रुणमा खरावी रहेको, वंशाणुगत खरावी वा अन्य कुनै करणले भ्रुणमा अशक्तता हुने अवस्थामा स्वास्थ्यकर्मीको रायमा २८ हप्तासम्मको गर्भपतन गर्न पाउने कानुनी व्यवस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment