Comments Add Comment

छोरीले आमा खोज्दा भक्कानिन्छन् पुरुषोत्तम

रंगीन चलचित्र खिच्ने छायाँकारको श्यामश्वेत जीवन

साउनको ४ गते । पुरुषोत्तम प्रधानको आँखाबाट आँशुको भेल बग्यो । साढे ४ वर्षकी छोरी यजश्वीको एक प्रश्नले उनलाई यसरी रुवाएको थियो ।

छोरीले पुरुषोत्तमलाई सोधिन्, ‘बाबा, मेरो मामु खोइ ? केक लिएर कतिबेला आउनु हुन्छ ?’

उनले छोरीलाई उत्तर फर्काउन सकेनन् । कोठामा पसे र चुकुल लगाएर हुँक्क–हुँक्क रोए ।

त्यो दिन पुरुषोत्तमकी श्रीमती अर्थात् यजश्वीको मम्मी अनुको जन्मदिन थियो । तर, अनु आफ्नो जन्मदिन मनाउन यो संसारमा थिइनन् । छोरी २४ दिनको हुँदा नै उनी ‘भगवानको घर’ गएकी थिइन् ।

यजश्वीले मम्मीको अनुहार याद गर्न पनि पाइनन् । ४ गते छोरीलाई पुरुषोत्तमले नै मम्मीको जन्मदिन भएको सम्झाए । फोटोमा ढोग्न लगाए । त्योपछि छोरीले प्रश्न गरेकी थिइन्, ‘मम्मी केक लिएर कतिबेला आउनु हुन्छ ?’

०००

अहिलेका सर्वाधिक व्यस्त अनि चर्चित छायाँकार हुन् पुरुपोत्तम प्रधान । फिल्मको रंगीचगी दुनियाँलाई क्यामरामा उतार्ने उनको व्यक्तिगत जीवन भने श्यामश्वेत छ । पत्नी अनुको मृत्यूपछि उनको जीवनको रंग उडेको छ ।

छोरीको अन्य जुनसुकै प्रश्नमा पुरुषोत्तम निकै खुसी भएर उत्तर दिन्छन् । तर, छोरीले मामु खोइ भन्ने प्रश्न गरिन् भने उनी औधी पिरोलिन्छन् । छोरीले यो प्रश्न नगरिदिए हुन्थ्यो भन्ने उनलाई लाग्छ ।

पुरुषोत्तम भन्छन्, ‘मैले जति नै माया दिएर राखे पनि उनलाई मामुको त अभाव खड्किन्छ नै । त्यसैले बारम्बार सोधिरहन्छिन् मामुको बारेमा । तर, मसँग उत्तर छैन ।’

६२ वर्षकी हजुरआमा र काकाले भने यजश्वीलाई मामु ‘जुन लिन गएको’ भनेका छन् । अचेल त यजश्वीले यस्तो जवाफलाई पत्याउन छोडिसकिन् ।

०००

२०७१ वैशाख २७ गते पुरुषोत्तमले आफ्नो प्रेमिका अनुसँग मागी विवाह गरेका थिए । त्यतिबेला पुरुषोत्तम ३६ वर्षका थिए । त्यही वर्ष फागुनमा छोरी जन्मिइन् । छोरी जन्मेपछि माइती गएर बस्ने परम्पराअनुसार १६ दिनको छोरी च्यापेर अनु माइत पुगिन् ।

माइत पुगेको ८ औँ दिनमा अनुको स्वास्थ्यमा समस्या आयो । ससुरालमा घोडेजात्रा मनाएर बेलुका ९ः३० मा घर आएका पुरुषोत्तमलाई फोन आयो, ‘अनुलाई गाह्रो भयो, हस्पिटल लानुपर्‍यो ।’

दिनभर सँगै बसेकी श्रीमती एकदम ठीक थिइन् । एक्कासी बिरामी भएको समाचार आएपछि पुरुषोत्तमलाई सुरुमा त विश्वास नै लागेन । जिस्किएको होला भन्ने लागेर फोन काटे र निदाउन खोजे । पुरुषोत्तम सम्झिन्छन्, ‘पहिले त वास्ता गरिनँ । पछि आमालाई फोन आएपछि डर लाग्यो ।’

अनुलाई काठमाडौं मेडिकल कलेज पुर्‍याइयो । पुरुषोत्तम पनि हतार–हतार त्यहाँ पुगे । भित्र पुगेर डाक्टरलाई सोधे । डाक्टरले आशा एकदमै कम भएको उत्तर फर्काए । केहीबेरमा नै उनले श्रीमतीले छाडेको खबर उनले सुन्नुपर्‍यो । भगवानलाई पुकारिरहेका उनी भगवानलाई नै गाली गर्दै रुन थाले ।

‘म पाँच वर्षको हुँदा मेरो बुबा बित्नुभयो । छोरी २४ दिनको हुँदा श्रीमती बितिन् । भगवानले मलाई साँच्चिकै ठगेको छ,’ पुरुषोत्तमका आँखा रसाउँछन् ।

अब २४ दिनको छोरीलाई कसरी हुर्काउने ? तर, आफन्तले दिएको हौसलाले उनले छोरीलाई हुर्काउने हिम्मत जुटाए । उनी भन्छन्, ‘मेरो श्रीमतीले देखेको सपना अब छोरीमा पूरा गर्नेछु भन्ने लाग्यो र हिम्मत जुटाएँ ।’

१ वर्षको हुदाँसम्म छोरी मामाघरमा नै बसिन् । त्यतिन्जेल उनी छोरी भेट्न दिनदिनै ससुराली पुग्थे । उनी भन्छन्, ‘छोरीलाई एक झलक देखिन भने मलाई निद्रा पर्दैन थियो ।’ काठमाडौं बाहिर सुटिङ पर्दा फोन गरिरहन्थे उनी । छोरीको आवाज सुनेपछि मन हलुको बनाएर काम गर्थे उनी ।

पुरुषोत्तम फेरि अर्को विवाह गर्ने मनस्थितिमा छैनन् । उनी अब आफ्नो जीवन छोरी र आमामा समर्पण गर्न चाहन्छन् ।

एक वर्ष मामाघरमा बसेकी यजश्वी त्यसपछि बाबुसँगै बसिरहेकी छन् । उनी राति बुवासँगै सुत्न खोज्छिन् । पुरुषोत्तम सुटिङको लागि बाहिर गएको बेला भने हजुरआमाको काखमा निदाउँछिन् । त्यस्तो बेला पनि बाबाको आवाज नसुनी निदाउँदिनन् उनी ।

कोही नयाँ मान्छे भेटिन् भने बोल्न लजाउँछिन् । पुरुषोत्तम भन्छन्, ‘उ एकदमै शान्त भएर बसिरहन्छिन् । चिनेको मान्छे भए बोल्न जान्छिन् । नत्र चुपचाप बस्छिन् ।’ अहिले यजश्वी एलकेजीमा पढ्छिन् । दुई वर्षको उमेरदेखि नै स्कुल जान थालेकी उनी स्कुलमा राम्रै पढ्ने विद्यार्थीमा पर्छिन् ।

०००

०५१ सालमा एसएलसी पास भएपछि फुर्सदमा थिए, पुरुषोत्तम । त्यही समय एकजना दाईले उनलाई चलचित्रमा काम गर्न बोलाए । अवला चलचित्रमा उनले स्पटब्वाइको रुपमा काम गरे । इन्जिनियर बन्ने लक्ष्य राखेका पुरुषोत्तमलाई त्यो काम निकै कठिन लाग्यो । चलचित्रको छायांकन सकिएपछि पुनः काम नगर्ने सोचमा थिए उनी ।

तर, त्यसको केही समयमा नै उनलाई साउन्ड रेकर्डिस्ट माधव थपलियाले काम गर्न बोलाए । उनले नाई भन्न सकेनन् र माधवको सहायक भएर साउन्डमा काम गरे । उनी भन्छन्, ‘मेरो रुचि अर्कै भएकाले फिल्ममा काम गर्दिन नै भनेको थिएँ । तर, पछि उहाँले अफर गरेपछि नाई भन्न सकिनँ ।’

पुरुषोत्तम लाइट र फोकसमा पनि काम गर्न थाले । माधव थपलियाले उनलाई भनेका थिए, ‘यदि त लाइट र फोकसमा रामरोसँग काम गरिस् भने त छायांकार बन्छस् ।’ उनले त्यो समय नाम चलेका सबै छायाँकारको सहायक भएर काम गरे ।

लामो समय सहायक भएर काम गरेपछि उनी टेलिसिरियल खिच्न थाले । उनले त्यो समय टेलिभिजनमा आउने सफल–सफल सिरियलहरु खिचेका थिए । त्यही समय उनलाई चलचित्रको अफर आयो । पहिलो चलचित्रका रुपमा पुरुषोत्तमले ‘समयको डोरी’ नामक चलचित्र खिचे ।

पुरुषोत्तमले खिचेको पहिलो फिचर चलचित्र भने ‘सपूत’ हो । यस चलचित्र खिच्दाको पनि रमाइलो किस्सा छ उनीसँग । ‘मलाई चलचित्र खिच्न सक्छु भन्ने आँट नै थिएन । त्यसैले खिच्दिन भनेको थिएँ’, पुरुषोत्तम भन्छन्, ‘पछि प्रज्ञाजी र योगेश दाईले तपाई नखिच्ने भए चलचित्र नै बनाउदिन भन्नुभयो । त्यसैले पनि खिच्नपर्‍यो ।’

तर, यही चलचित्र नै उनको करिअररको टर्निङ प्वाइन्ट बन्यो । यस चलचित्रमा छायांकनको निकै चर्चा भयो । चर्चासँगै कामको अफर गर्नेहरु पनि धेरै भए । त्यस चलचित्रपश्चात् पुरुषोत्तम खाली हात बस्नु परेको छैन ।

पुरुषोत्तम आफूले अझै क्यामेरा बुझिनसकेको बताउँछन् । उनले भने, ‘क्यामेरा भन्ने चिज त भवसागर रहेछ । एउटा चलचित्र गर्दा अलिअलि बुझे जस्तो लाग्छ, अर्को चलचित्रमा काम गर्दा फेरि नयाँ कुरा थाहा पाइन्छ । यो त सिक्दै जाने कुरा रहेछ ।’

०००

पुरुषोत्तमले नेगेटिभमा पनि चलचित्र खिचेका छन् । अहिलेको डिजिटल क्यामेरा त उनको दैनिकी नै हो ।

पुरुषोत्तम पहिला र अहिलेमा तुलना गर्दा केही पक्षमा अहिले र केहीमा पहिले राम्रो रहेको बताउँछन् । उनले भने, ‘अहिले भनेको टेक्निकल कुराहरुले केही सहज बनाएको छ । तर, नेगेटिभमा खिच्दाको पनि सकारात्मक पक्षहरु थिए ।’

नेगेटिभमा चलचित्र खिच्दै गर्दा छायाँकारको आँखालाई नै पूर्ण विश्वास गरिन्थ्यो । छायाँकारले जे देख्यो त्यही सहि हुन्थ्यो । तर, अहिले त्यो अवस्था छैन । खिचिसकेको ‘क्लिप’ सबैले हेर्न मिल्छ । पुरुषोत्तम यसलाई राम्रो पक्ष मान्छन् ।

तर, पहिलाको निर्देशकहरु धेरै बुझ्ने थिए । क्यामेराको लेन्स हेरेर कति जुम भएको छ थाहा पाउँथे । यदि शंका लागे आएर क्रस चेक गर्थे । पुरुषोत्तम भन्छन्, ‘त्यो समयका जत्तिको निर्देशक अहिले छैनन् ।’

अहिले कलाकारहरु निकै अल्छि भएको पुरुषोत्तम बताउँछन् । उनले भने, ‘पहिला नेगेटिभमा चलचित्र खिच्दा कलाकारहरु निकै सजग भएर काम गर्थे । अहिले पनि टेक्निकल कुराले मिलाउने हुनाले कलाकारहरु कम मेहनत गर्छन् । यसको असर उनीहरुको लाइभ पर्फमेन्समा देखिन्छ ।’

पुरुषोत्तम चलचित्र क्षेत्रबाट सन्तुष्ट भने छैनन् । यस क्षेत्रमा कोही पनि व्यक्ति पोख्त नभएको उनी बताउँछन् । उनले भने, ‘यहाँ निर्देशक, कलाकार, सिनेमाटोग्राफर, साउन्ड रेकर्डर जो सुकै होस् कोही पनि पोख्त छैनौँ । तर, यहाँ हामी माथि छौँ भन्ने भ्रम छ ।’

पुरुषोत्तमले वर्षमा ६ देखि ९ वटा चलचित्र खिच्छन् । उनले एउटा चलचित्रबाट निकै महंगो पारिश्रमिक बुझ्छन् । त्यो पैसा भने उनले आफ्नो खाताम राख्दैनन् । उनले आएको सम्पूर्ण पैसा आमाको खातामा हाल्दिन्छन् ।

पुरुषोत्तम भन्छन्, ‘मैले आफ्नो खर्च पनि आमासँग मागेर चलाउँछु । मेरो पारिश्रमिक त सबै उहाँकै खातामा छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment