Comments Add Comment

श्रीमानलाई घरको काम कसरी सिकाउने ?

घरको काममा श्रीमती जति उत्कृष्ट हुन्छिन्, त्यति श्रीमानहरु हुँदैनन् । श्रीमतीले घरको हरेक स-साना कुराहरुलाई सही तरिकाले व्यवस्थापन गरेकी हुन्छिन् तर श्रीमानलाई ती सबै कामका बारेमा त्यति ज्ञान नै हुँदैन । तर घरको कामको बारेमा श्रीमतीलाई झै श्रीमानलाई पनि ज्ञान भयो भने श्रीमतीको उनुपस्थितिमा श्रीमानलाई ती काम गर्न सहज हुन्छ ।

श्रीमानलाई घरको बारेमा कुनै पनि ज्ञान भएन भने श्रीमती बाहिर निस्केको समयमा उनले घरमा भएका कुनै पनि समान भेट्दैनन् र बारम्बार श्रीमतीलाई फोन गर्नु पर्ने बाध्यता हुन्छ । चिया पकाउँदा चिनी र चियापत्तिको डब्बादेखि लिएर खाजा खानका लागि बिस्कुट, ब्रेड सम्मका लागि श्रीमतीलाई फोन गर्नु पर्छ । त्यस्ता धेरै कुराहरुका जानकारीको अभावमा श्रीमतीलाई बारम्बार फोन गर्नु पर्ने अवस्था आउँछ ।

श्रीमानलाई घरका साना-ठूला कुराको जानकारी नहुँदा श्रीमतीले आफू कतै जानु अगाडि हरेक कुरा तयार पारेर जानु पर्ने बाध्यता हुन्छ । श्रीमानलाई आफ्नो अनुपस्थितिमा कुनै समस्या नहोस् भन्नाका लागि खानेकुरा तयार गरेर फ्रिजमा राखिदिनु पर्ने, डाइनिङ टेबलमा अन्य आवश्यक खानाहरु राख्ने तथा श्रीमानलाई आवश्यक लुगाहरु दराजबाट निकालेर देखिने ठाउँमा मिलाएर राखिदिनु पर्ने बाध्यता हुन्छ ।

प्रायः यसप्रकारका श्रीमतीहरु जसले आफ्नो श्रीमानलाई  हरेक कुरा हात-हातमा दिने बानी बसालेर श्रीमानलाई घरको काममा यति निष्क्रिय र अपाङ्ग बनाइदिन्छन्, जसका कारण श्रीमानहरु घरको स-साना कामहरु बाहेक आफ्नो व्यक्तिगत आवश्यकताको कामसमेत गर्न बिर्सन्छन् ।

विवाहपछि श्रीमान्-श्रीमतीबीच प्रगाढ प्रेम हुन्छ । जसमा श्रीमती आफ्ना श्रीमानको सबै काम गर्दा अपार प्रेमको अनुभव गर्छिन् । तर त्यहीबाट एउटा अनुचित परम्पराको प्रारम्भ हुन थाल्छ । श्रीमानले पनि ती सबै कामहरुलाई श्रीमतीको कर्तव्य सम्झन थाल्छन् । केही समयपछि परिवार बढ्न थाल्छ र समयको अभावका कारण श्रीमतीले श्रीमानका ती सबै काम गर्न असमर्थ भएको अनुभव गर्न थाल्छिन् । त्यस्तो स्थितिमा श्रीमानलाई श्रीमतीले आफूलाई पहिले जस्तो ध्यान नदिएको अनुभव हुन्छ, जसका कारण श्रीमान्-श्रीमतीबीच मनमुटाव हुन्छ । त्यस्ता साना कुराका कारण उत्पन्न हुने मनमुटावले कहिलेकाहीँ ठूलो झगडाको कारण पनि बन्न पुग्छ ।

श्रीमतीले शुरुमा श्रीमानको सम्पूर्ण काम गर्दा अनुभव गर्ने प्रेमले श्रीमानलाई अपाङ्ग बनाउने मात्र होइन स्वयम् आफ्नो खुट्टामा बन्चरो हान्नु बराबर हुन पुग्छ ।

तपाईं गृहिणी अथवा कामकाजी महिला, तपाईंले आफ्नो सन्तानलाई जसरी आवश्यक गृहकार्यहरुका लागि दक्ष बनाउनु हुन्छ, त्यसैगरी श्रीमानलाई पनि घरको काममा पनि दक्ष  बनाउन आवश्यक छ । जसले गर्दा तपाईंको अनुपस्थितिमा पनि कुनै कामको लागि श्रीमानले तपाईंको मुख ताक्न पर्ने स्थिति नहोस् र आफ्नो र आफ्ना बच्चाको कार्य सहज तरिकाले गरोस् ।

श्रीमानलाई सहयोगी बनाउनुहोस्

कतै जाँदा आफ्नो लुगा स्वयं निकाल्न अथवा आफ्नो जुत्ता आफैं सफा गर्न सिकाउनु होस् । अफिसबाट घर आएपछि पनि आवश्यक सामाग्रीहरु मिलाएर राख्न श्रीमानलाई नै लगाउनु होस् । त्यसो गर्दा तपाईंलाई कामको भार पनि कम हुन्छ र श्रीमानको काम गर्ने बानी पनि बस्छ ।

भान्साको काम सिकाउनुहोस्

चिया, कफी, दाल, खाना, पुलाउ तथा तरकारी जस्ता दिनहुँ प्रयोग गरिने कुराहरु पकाउन सिकाउनु अति आवश्यक छ । यद्यपि पहिलेभन्दा अहिले पुरुषहरुमा धेरै परिपरिवर्तन आएको छ । हिजोआज पुरुष पनि भान्छाको काममा रुचि लिन थालेका छन् ।

तर पनि हाम्रो समाजमा पुरुषले भान्छाको काम गर्नु हुन्न भनेर केही सिकाइदैन र विवाहपछि ती पुरुषहरु श्रीमतीको टाउको दुखाइको कारण बन्न पुग्छन् । त्यसैले आफ्नो जीवनसाथीलाई भान्छाको स-साना  कामहरुमा दक्ष बनाउनु तपाईंको जिम्मेवारी हो ।

बच्चाको हेरचाह गर्नु

यदि तपाईं कामकाजी महिला हुनुहुन्छ भने बच्चाको पढाइ, होमवर्क आमा-बुबा दुवै मिलेर गराउनुहोस् । यदि तपाईं गृहिणी हुनुहुन्छ भने छुट्टीको दिन बच्चाका ती कामहरुको जिम्मा श्रीमानलाई दिनुहोस् । त्यसले तपाईंलाई केही राहत प्राप्त हुन्छ भने बच्चाहरुलाई पनि आफ्नो बुबासँग भावनात्मक सम्बन्ध पनि बलियो हुन्छ ।

बगैंचामा पनि श्रीमानसँग सहयोग लिनुहोस्

आफ्नो श्रीमानलाई बगैंचाको काममा पनि सहयोग गर्न प्रेरित गर्नुहोस् । जसले गर्दा तपाईंको अनुपस्थितिमा पनि बगैंचा हराभरा हुन्छ । श्रीमानले तपाईंलाई बगैंचामा गरेको सहयोगका कारण तपाईंको अनुपस्थितिमा पनि बगैंचाको आवश्यक काम श्रीमानले सम्हाल्छन् । यदि तपाईंको श्रीमान् अफिसको काममा व्यस्त छन् भने छुट्टीको समयमा श्रीमानलाई बगैंचाको काम सिकाउन सक्नु हुन्छ ।

किनमेल गर्न लगाउनुहोस्

यदि घरको सबै सामानको किनमेल दिनहुँ तपाईं एक्लै गर्नु हुन्छ भने तपाईं थाकेको अवस्था होस् अथवा कुनै अन्य कुनै स्थिति, किनमेल गर्ने कार्य तपाईंले नै गर्नुपर्छ । श्रीमानलाई किनमेलको ज्ञान छैन भनेर कहिल्यै किनमेल गर्न नलगाउने श्रीमतीहरुले जुनै स्थितिमा पनि किनमेलको जिम्मेवारी लिनु पर्ने बाध्याता हुन्छ ।

त्यसैले किनमेल गर्न जाँदा आफ्नो  श्रीमानलाई साथमा लिएर जानुहोस् । ताजा, बासी, राम्रो, नराम्रो जस्ता कुराहरु आफ्ना श्रीमानलाई जानकारी गराउनुहोस् । बाहिरबाट आउँदा स-साना कुराहरु मगाउनुहोस्, जसले श्रीमानलाई सामान किनमेल सम्बन्धी ज्ञान बढ्दै जान्छ र तपाईंलाई पनि किनमेल गर्ने काममा सहयोग पुग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment