+

क्रिजमा क्रिस लिन र नीशमको ब्याटल, मैदानमा सुदूरपश्चिमको गर्जन

२०८२ मंसिर  ५ गते २३:५२ २०८२ मंसिर ५ गते २३:५२
क्रिजमा क्रिस लिन र नीशमको ब्याटल, मैदानमा सुदूरपश्चिमको गर्जन

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुदूरपश्चिम रोएल्सले नेपाल प्रिमियर लिगमा लगातार दुई खेल जितेर उत्कृष्ट सुरुवात गरेको छ भने पोखरा एभेन्जर्सले दुवै खेल गुमाएको छ ।
  • जोश ब्राउनले दोस्रो खेलमा ६८ रन बनाउँदै सुदूरपश्चिमलाई ठूलो स्कोरमा पुर्‍याए । पोखराका जिमी नीशमले ३ विकेट लिएका थिए । खेलमा लिन र नीशमको ब्याटल हेर्नलायक थियो ।
  • हेमन्त धामीले राष्ट्रिय टिममा स्थान बनाउन एनपीएललाई अवसर मान्दै विश्वकप तयारीका लागि राम्रो प्रदर्शन गरिरहेको बताए ।

५ मंसिर, काठमाडौं । सुदूरपश्चिम रोएल्स । दुवै खेलमा टस आफ्नो पक्षमा रहेन । तर दुवै खेल जित्यो । पोखरा एभेन्जर्स दुवै खेलमा टस जित्यो तर खेल गुमायो ।

यी दुई टिमको हकमा हेर्दा टस जित्नेले खेल जित्छ भन्ने भनाई ठिक उल्टो भइरहेको छ । डे-नाइट म्याचमा ड्यु फ्याक्टरले लक्ष्य पछ्याउने टिमलाई फाइदा पुग्छ भने भनाई यी दुई टिमको खेलमा लागु हुन सकेन ।

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा साविक उपविजेता सुदूरपश्चिम रोएल्सले लगातार दुई खेल जित्दै सानदार सुरुवात गर्दा पोखरा एभेन्जर्स भने सुरुवाती दुवै खेलमा पराजित भएको छ ।

जोश ब्राउन  र क्रिस लिनको ब्याटिङमा यस सिजन दोस्रो ठूलो स्कोर बनाएको सुदूरपश्चिमले शुक्रबार पोखरा एभेन्जर्सलाई १८ रनले पराजित गर्दै लगातार दुई खेल जितेर आफ्नो शक्ति देखाइसकेको छ । सुदूरपश्चिमले टस हारेर पहिले ब्याटिङ गर्दै १९३ रन बनाएको थियो । जवाफमा पोखराले १७५ रन जोडे ।

अर्कोतर्फ पहिलो सिजन जस्तै पोखराको खराब सुरुवात भएको छ । यस पटक एउटा फरक देखिएको छ कप्तान कुशल भुर्तेलले लगातार दुई खेलमा उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक बनाएपनि टिमले भने जित निकाल्न सकेको छैन ।

सधैँ जसो टेलिभिजनमा मात्र हेरिरहेको क्रिस लिन, जोश ब्राउन, जिमी नीशम जस्ता खेलाडीले  टीयू स्टेडियममा छक्का, चौकाको वर्षा गर्दा नेपाली दर्शकका लागि त्यो रमाइलो माहोल बनेको थियो । यस्तै कुशल भुर्तेलले लगातार रन जोड्नु पोखराका लागि मात्र नभई नेपालकै लागि सुखद देखिएको छ ।

लगातार जित वा हारले कस्तो प्रभाव पार्छ भन्ने कुरा हेम्त धामी र राजीव कुमारको प्रतिक्रियाले नै पुष्टी गर्छ । खेलपछि पोष्ट म्याच कन्फेरेन्समा आएका सुदूरपश्चिमका बलर हेमन्त धामीले लगातारको जितले मोमेन्टमा आउने बताए ।  ‘लगातार जित महत्वपूर्ण छ किनकी जितको मोमेन्टम बनिरहेको हुन्छ, धामीले पोष्ट म्याच कन्फ्रेन्समा भने ।

ब्राउनको जोश

पहिलो खेलमा जोस ब्राउन खाता नखोली आउट हुँदा आफ्नो खेल देखाउन पाएनन् । दोस्रो खेलमा भने उनले सुरुवात देखि नै आक्रमक खेले । पहिलो ओभरमा आकाश चन्दलाई एक चौका हानेका ब्राउनले तेस्रो ओभरमा आकाशलाई सुरुवाती तीन बलमा लगातार चौका र पाँचौ बलमा छक्का प्रहार गर्दै एकै ओभरमा २० रन जोडेका थिए ।

त्यसपछि ब्राउनले सागर ढकाललाई १०औं ओभरमा ३ छकक् सहित १९ रन प्रहार गर्दै उक्त ओभरमा पनि २० रन आएको थियो ।

May be an image of text that says 'Nau พานี N SiddharthaBark RedBull Red DSC onlinekhabar.co ar.com SiddharthaBank 安 NATIONAL ΡΑΤΗ NATIONALPATHLA LAB'

पावर प्लेमा ब्रानउ र विनोद भण्डारीले ६० रन जोडेका थिए भने १० ओभरमा यो जोडीले ९९ रनको साझेदारी गर्दै सानदार सुरुवात दिलाएका थिए र सुदूरपश्चिमले आरामले २०० रनको स्कोर कटाउने देखिएको थियो । तर खेलमा जिमी नीशमले फरक पारे ।

११औं ओभरको चौथो बलमा नीशमले आक्रमक ब्याटिङ गरिरहेका ब्राउनलाई आउट गर्दै पोखरालाई पहिलो सफलता दिलाए ।

त्यसपछि पोखराका बलरले विकेट लिन थालेको थालेको थियो । ब्राउनले ३५ बल खेल्दै ६ चौका र ५ छक्का मद्तमा ६८ रन जोडे । उनले ५४ रन बाउण्ड्रीबाट मात्रै जोडेका थिए । १७औं ओभरसम्म खेलेका अर्का ओपनर भण्डारीले ४२ बलमा ४३ रन जोडे । जसमा ४ चौका प्रहार गरेका थिए ।

‘जोसले राम्रो खेल्यो ओपनिङमा । विनोद दाईले पनि साथ दिनुभयो । क्रिस लिनले राम्रो खेल्यो । लास्टको दुई ओभरमा अली रन बने । २२० रन पुग्न सक्थ्यो ।’ धामीले भने ।

लिन भर्सेस नीशम

आजको खेलमा दुई विश्व चर्चित खेलाडी दुई फरक टिमबाट थिए । आईपीएल, बीबीएल देखि विश्व चर्चित लिगहरु खेलिसकेका अष्ट्रेलियन आक्रमक ब्याटर क्रिस लिन सुदूरपश्चिम र न्युजिल्याण्डका अलराउण्डर जिमी नीशम पोखराबाट खेलेका थिए ।

यी दुई विदेशी खेलाडीबीचको ‘ब्याटल’ पनि हेर्न लायक थियो । लिनले अधिकांश रन नीशमकै बलिङमा जोडे भने नीशमले नै लिनलाई आउट गरे । ११औं ओभरमा नीशमले नै ब्राउनलाई आउट गरेपछि वान डाउनमा लिन क्रिजमा पुगेका थिए । त्यस ओभरमा लिनले नीशमको दुई बल फेस गरे तर रन जोड्न सकेनन् । त्यसपछि असली मज्जा १३औं ओभरमा देखियो ।

उक्त ओभरमा लिनले नीशमलाई दुई छक्का र तीन चौकासहित २६ रन प्रहार गरे । पहिलो बल नीशमले डट फाले । त्यसपछि लिनले नीशमलाई चौका,छक्का अनी चौका प्रहार गरे । पाँचौ बलमा लिनले १२ रन जोडे । सुरुमा नो बल हुँदा लिनले चौका प्रहार गरे । अनी फ्री हिट पाए । अर्को बलमा नीशमले वाइड फाल्दा त्यसपछि लिनले छक्का प्रहार गरे । अन्तिम बलमा नीशमले  लिनलाई आउट गरे । अभिषेक तिवारीले लिनको क्याच लिएका थिएका थिए ।

बलिङमा पोखराको कमब्याक

सुदूरपश्चिमले आक्रमक सुरुवात गर्दा आज सबै रेकर्ड तोडिन्छ जस्तो संकेत देखिएको छ । एनपीएल सिजन टु को दोस्रो दिनमै विराटनगर किंग्सले पोखरा विरुद्ध २२० रनको कीर्तिमानी स्कोर बनाएको थियो । त्यो पनि आज खतरामा देखिएको थियो ।

तर पोखराका बलरहरुले कमब्याक गरे । विशेषगरी जिमी नीशम, डान डौथवेइट र आकाश चन्दले विकेट लिँदै सुदूरलाई १० ओभरपछि दबाबमा राख्न सफल भए ।

१५ ओभरमा १६०-२ हुँदा सुदूर ठूलो स्कोरतर्फ देखिएको थियो तर पोखराले डेथ ओभरमा कमब्याक गर्यो । अन्तिम पाँच ओभरमा सुदूरले ३३ रन हान्दा ५ विकेट गुमायो ।

मिडल ओभरमा डानले उत्कृष्ट बलिङ गर्दै कप्तान दीपेन्द्र सिंह ऐरी र हर्मीत सिंहको विकेट लिए । उनले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिँदै सबैभन्दा किफायती बलर बने ।

यस्तै नीशमले ब्राउन र लिनको महत्वपूर्ण विकेटसहित ३ विकेट लिए । उनले ४ ओभरमा ४७ रन खर्चिए । यस्तै सरुवाती दुई ओभरमा ३० रन खर्चेका आकाशले सेकेण्ड स्पेलमा जम्मा १४ रन मात्र खर्चेर २ विकेट लिए । उनले १७औं ओभरमा विनोद भण्डारी र १९औं ओभरमा स्कट कुगेलेइनलाई आउट गर्दा ७-७ रन मात्र दिए । अन्य बलरले विकेट लिन सकेनन् ।

रनआउट र हर्मीतको २ विकेट

१९४ रनको ठूलो स्कोर पछ्याउने क्रममा पोखराले सुरुवातमै विकेट गुमायो । अघिल्लो खेलमा ब्याटिङ मा चम्बेबा हर्मीतले पोखरा विरुद्ध नयाँ बलले बलिङ सुरुवात गर्दै टप अर्डरलाई झड्का दिए ।

पहिलो ओभरमा हर्मीतले जम्मा ३ रन मात्र दिएका थिए । तर पोखराले आप्नै कारण एडम रोसिङ्गटनलाई रनआउटमा गुमायो । रोसिङ्गटन र दिनेश खरेलको तालमेल नमिल्दा उनी रनबउटको शिकार बने ।

‘त्यो ब्याड कम्युनिकेसन थियो । कल पनि भएन । मिस्टेक भयो ।’ पोखराका मुख्य प्रशिक्षक राजीव कुमारले पोष्ट म्याच कन्फ्रेन्समा भने ।

त्यसपछि स्कट कुगेलेइनले दोस्रो ओभरमा जम्मा १ रन मात्र दिए । तेस्रो ओभरमा दिनेशले हर्मीतलाई पहिलो बलमै चौका प्रहार गरेका थिए । तर हर्मीतले दोस्रो बलमा दिनेशलाई हेमन्त धामीबाट क्याचबउट गराए । दिनेशले ९ बलमा जम्मा ६ रन बनाए । उक्त ओभरमा पोखराले जम्मा ७ रन जोड्दा चौथो ओभरमा ९ रन मात्र जोड्यो ।

पाँचौ ओभरको दोस्रो बलमा हर्मीतले किरण ठगुन्नालाई आउट गरेपछि पोखरा २०-३ को अवस्थामा पुगेको थियो । कप्तान कुशल एक छेउबाट विकेट जाँदा दर्शकजस्तै बनेका थिए ।

भुर्तेल र नीशमको साझेदारी, डौथवेइटको आक्रमण

पावर प्लेमा २५-३ को अवस्थामा रहेको पोखराको इनिङ्स त्यसपछि कप्तान भुर्तेल र जीमी नीशमले सम्हाले ।

पोखराका लागि आज भुर्तेलसँगै नीशम र डान डौथवेइटले उत्कृष्ट ब्याटिङ गरे । यी तीन बाहेक अन्य खेलाडीको स्कोर फोन नम्बरको अंक जस्तै रह्यो ।

कुशलले लगातार दोस्रो खेलमा अर्धशतक बनाउने क्रममा सर्वाधिक ५३ रन बनाए । ३२ बलमा उनले ४ चौका र ४ छक्का प्रहार गरे ।

लगातार विकेट जादा पनि सम्हालिएका कुशलले नीशमसँग चौथो विकेटका लागि ७० रनको महत्वपूर्ण साझेदारी गरेका थिए । यी दुई क्रिजमा रहँदा आशा रहेपनि नीशम १२औं ओभरमा आउट भए ।

यस्तै नीशमले २५ बलमा २ चौका र ५ छक्का प्रहार ४७ रन जोडे । सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीलाई १२औं ओभरमा सुरुमा लगातार दुई छक्का हान्दै आक्रमक देखिएका नीशमलाई ऐरीले तेस्रो बलमै बोल्ड गरे । त्यसपछि ऐरीको त्यो समरसल्ट सेलेब्रेसन हेर्नलायक थियो । नीशमको विकेट कति महत्वपूर्ण थियो भन्ने ऐरीको सेलेब्रेसनले पनि पुष्टी गर्छ ।

भुर्तेल आउट भएपछि आएका सुमित वर्मा ७ बलमा ६ रन बनाएर आउट भए । पहिलो खेल खेलेका म्याट टेलरको स्थानमा आज वर्माले खेलेका थिए । पोखराले यसअघि उनको नाम सार्वजनिक नगरेपनि आज सिधै प्लेइङ ११ मा रहँदै उनले खेले ।

भुर्तेलले एक छेउबाट इनिङ्स सम्हालिरहेपनि १६औं ओभरको चौथो बलमा स्कट कुगेलेइनको बलमा बोल्ड भए ।

यस्तै अभिषेक तिवारी १३ बल खेलेर जम्मा ३ रनमा आउट भए । भुर्तेल आउट भएपछि क्रिसजमा पुगेका डान डौथवेइटले विष्फोटक ब्याटिङ गर्दै केमियो इनिङ खेलेपनि उनको योगदान जितका लागि पर्याप्त हुन सकेन । डोथवेइटले १६ बल खेल्दै ३७ रन बनाउने क्रममा १ चौका र ५ छक्का प्रहार गरेका थिए । नीशम जस्तै डौथवेइटले अलराउण्डर प्रदर्शन गरेपनि पोखरा पराजित हुँदा उनको खेल छायामा पर्‍यो ।

सुदूरपश्चिमका लागि बलिङमा सबैले योगदान गरे । विशेषगरी हर्मीतले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिएका थिए । कुगेलेइन, कप्तान दीपेन्द्र, हेम्नत धामी, अविनाश बोहरा र नरेन साउदले १-१ विकेट लिए ।

विश्वकपमा पर्न अवसर छ

पहिलो संस्करणमा च्याम्पियन टोली जनकपुर बोल्ट्समा रहेका हेमन्तले २ खेल मात्र खेल्दा  बलिङ गर्न नपाएका हेमन्तले यस पटक सुरुवातदेखि नै मौका पाइरहेका छन् ।

यू-१९ टिमको कप्तानी गरिसकेका र नेपालको सिनियर टिमबा६ समेत खेलिसकेका हेमन्त फेरी राष्ट्रिय टिममा स्थान बनाउने प्रयासमा छन् । त्यसका लागि एनपीएल राम्रो प्ल्याटफर्म हुने उनले बुझेका छन् ।

हेमन्तले स्कट कुगेलइनजस्ता बलरसँगै बलिङ गर्ने अवसर पाएका छन् । यस्तै क्रिस लिन लगायत खेलाडीसँग ड्रेसिङ रुम सेयर गर्न पनि पाएका छन् ।

‘मेरो लागि एकदमै ठूलो महत्व छ । गत वर्ष बलिङ गर्न पाएन । अहिले खेल्न पाछु । यहाँ राम्रो गरेपछि फाइदा हुन्छ । विश्वकप (टी२०) आउँदैछ त्यसको लागि तयारी पनि हुन्छ । यस पटक सोचे भन्दा राम्रो भएको छ,’ हेमन्तले भने, ‘यहाँ राम्रो गरेपछि विश्वकपमा परिन्छ, त्यही भएर यहाँ राम्रो गरिराछु म ।’

दोस्रो संस्करणमा सुरुवाती दुई खेलमा उनले ३ विकेट लिइसकेका छन् । पहिलो खेलमा कुगेलेइनसँगै न्यु बल फालेका उनले काठमान्डु गोर्खाज विरुद्ध २ विकेट लिएका थिए । पोखरा विरुद्ध १ विकेट मात्र लिएपनि उनले आवश्यकता अनुसार कुनै पनि बेला बलिङ गर्न तयार रहेको प्रमाणित गरेका थिए ।

एनपीएल क्रिस लिन जिमी नीशम पोखरा एभेन्जर्स सुदूरपश्चिम रोएल्स
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय