Comments Add Comment

सिमेन्ट उत्पादन मागभन्दा बढी, कंक्रिट सडक बनाउन व्यवसायीको सुझाव

२९ साउन, काठमाडौं । सिमेन्टको उत्पादन मागभन्दा धेरै भएपछि नेपालका सिमेन्ट उद्योगी वैकल्पिक बजार खोज्न थालेका छन् । उद्योगीहरुका अनुसार आर्थिक वर्ष ०७७/७८ को अन्त्यसम्म नेपालमा खपतको तुलनामा दोब्बर सिमेन्ट उत्पादन हुनेछ ।

हालसम्म सञ्चालनमा आएका ४० नेपाली सिमेन्ट उद्योगहरुको उत्पादन क्षमता एक करोड ५० लाख टन छ । अहिले एक करोड टन सिमेन्ट मात्र नेपाली बजारले खपत गरिरहेको सिमेन्ट उत्पादक संघबाट प्राप्त तथ्यांकले देखाउँछ ।

नेपालमा ०७५/७६ को अन्त्यसम्म दुई सरकारीसहित ६१ वटा प्लान्टहरु स्थापना भएका छन् । जसमध्ये २१ वटा प्लान्टहरु उत्पादनको तयारीमा छन् । दुई वर्षभित्र सञ्चालनमा आउने सबै उद्योगको जडित उत्पादन क्षमता दुई करोड ५० लाख टन पुग्ने छ, जुन तत्कालीन समयमा हुने मागको दोब्बर बढी हो । सिमेन्ट उत्पादक संघको तथ्यांकअनुसार आर्थिक वर्ष ०७७/७८ को अन्त्यसम्म अहिलेकै अवस्था अनुसार नेपाली बजारमा सिमेन्टको माग १ करोड २२ लाख टन मात्रै पुग्नेछ ।

सिमेन्ट मात्रै नभई अबको दुई वर्षमा क्लिङ्करको जडित उत्पादन क्षमता २ करोड एक लाख ५० हजार टन पुग्नेछ भने माग एक करोड टन मात्रै हुनेछ । सिमेन्ट उत्पादक संघको विवरणअनुसार अबको दुई वर्षमा खपतको तुलनामा एक करोड २५ लाख टन सिमेन्ट र १ करोड १ लाख ५० हजार टन क्लिंकर उपयोगका लागि नयाँ बजार आवश्यक हुनेछ । अन्यथा सिमेन्ट उद्योगमा आएका नयाँ लगानी जोखिममा पर्ने निश्चित भएको व्यवसायीहरु बताउँछन् ।

‘देशमै खपत बढाऔं’

नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुवराज थापा नेपालको सिमेन्ट तथा क्लिंकर नेपालमै अत्यधिक खपत गर्नुपर्ने बताउँछन् । उनको विचारमा नेपाली सिमेन्टले बिटुमिन आयातलाई प्रतिस्थापन गर्न सक्छ ।

‘अर्बौंको बिटुमिन आयात गरेर बनाइने पिच सडकभन्दा नेपाली सिमेन्ट प्रयोग गरेर बनाइने कंक्रिट सडक धेरै टिकाउ हुन्छ,’ उनले भने ।

नयाँ बन्ने सबै सडक र पुराना सडक मर्मतका लागि सिमेन्ट प्रयोग अनिवार्य गरिए ब्यापार घाटा पनि घट्ने सिमेन्ट उत्पादक संघका महासचिव डा.ताराप्रसाद पोख्रेल बताउँछन् । यसका अलावा उद्योगहरुका लागि सरकारले निर्यातमुखी कानुन तर्जुमा गर्नुपर्ने, भन्सार कार्यालयहरु व्यवस्थित बनाइनुपर्ने तथा संघीय संरचनामा देखिएको दोहोरो कर हटाउनु पर्ने उनले बताए ।

छिमेकी मुलुक भारत, बंगलादेश र चिनियाँ सीमा नजिकका बजारसम्म नेपाली सिमेन्टको पहुँच बनाउन जरुरी भएको उनको कथन छ ।

सहज छैन निर्यात

व्यवसायीहरु झण्झटिलो सरकारी प्रावधानका कारण नेपाली सिमेन्ट दक्षिण एसियाकै सबैभन्दा महँगो हुन पुगेको बताउँछन् । व्यवसायमैत्री श्रम, कर र वातावरण कानुन नहुँदा उद्योगको लागत बढेको उनीहरुको दाबी छ ।

खानीको रोयल्टी, वातावरण प्रदूषण र सडक कर, महँगो विद्युत्, अघोषित विद्युत् कटौती, कोइला आयातका झण्झट जस्ता कारणले नेपाली सिमेन्टको मूल्य बढ्न पुगेको सिमेन्ट संघका अध्यक्ष थापा बताउँछन् । उत्पादन लागत बढी भएकाले विदेशमा नेपाली सिमेन्टले प्रतिस्पर्धा गर्न सक्ने आधार कमजोर छ ।

सम्भव छ कंक्रिट सडक ?

सडकहरुलाई सिमेन्टले ढलान गर्नेबारे सकारात्मक छलफल भइरहेको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ । मन्त्रालयको अध्ययनबाट पनि ढलान सडकको आयु कम्तीमा २५ वर्ष हुने पाइएको छ । पिच सडक ५ वर्ष मात्र टिक्ने गरेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता राजेश्वर ज्ञवालीले बताए ।

‘अहिले पनि धेरै पानी बग्ने तथा माटो कमसल भएको ठाउँमा सडक ढलान गरिन्छ । कुनै नीतिगत निर्णय नभए पनि कंक्रिट सडकका सम्बन्धमा गहन छलफल भइरहेको छ,’ सहसचिव ज्ञवालीले भने ।

नेपालका प्रमुख राजमार्गहरुमा कंक्रिट सडक आवश्यक भइसकेको सडक पूर्वाधार विज्ञ पदम शाही बताउँछन् । सडक इन्जिनियरिङ्गको मापदण्डमा पनि दैनिक निश्चित मात्राभन्दा धेरै सवारी गुड्ने तथा ठूला भारवहनका सवारी गुड्ने सडक कंक्रिट निमार्णकै चरणमा जानुपर्ने उनले बताए ।

तर, बिटुमिन पिचभन्दा कंक्रिट सडक निमार्णमा चार गुणा बढी खर्च हुने व्यवासायी बताउँछन् । खर्च भए पनि लाइफ साइकल खर्च जोड्दा देशका लागि कंक्रिट सडकबाट फाइदा हुने शाहीको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment