Comments Add Comment

कक्षा ११ मा भर्ना भइन‍् शान्ता चौधरी, रोल नम्बर ६२

२९ साउन, काठमाडौं । सरकार नम्बर प्लेटको सेतो स्कोरपियो गाडीबाट भीआईपी ओर्लिदा नयाँ बानेश्वर रत्नराज्य माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थीको नजर उनैतिर हुनेनै भयो । तर गाडीबाट ओर्लिएकी भीआईपीले आफ्नो कक्षा कुन हो भनेर सोधखोज गरेपछि थाहा भयो उनी त ११ कक्षामा भर्ना भएकी विद्यार्थी रहिछन् ।

बुधबार विहान रत्नराज्य स्कूलमा पुगेकी भीआईपी थिइन् सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाकी सांसद तथा संसदीय दलकी सचेतक शान्ता चौधरी । दाङबाट यसैवर्ष एसईई पास गरेकी चौधरी दुई दिनअघि रत्नराज्यमा गएर ११ कक्षामा भर्ना भएकी रहिछन् ।

चौधरीलाई विद्यालयका शिक्षकहरुले उनको कक्षामा लगेर सहपाठी विद्यार्थीहरुसँग परिचय गराइदिए । उनले साथीहरुलाई आफ्नो परिचय दिइन् तर विहान चाँडै बैठकहरु परेकाले सबै कक्षा लिन भने पाइनन् । उनलाई कक्षा ११ का विद्यार्थीले स्वागत गर्दै आफूहरुले धेरै कुरा सिक्न पाउने आशा व्यक्त गरे ।

सरकारी सामुदायिक विद्यालयहरुको पठनपाठनको स्तर बृद्धि गर्नका लागि आफू रत्नराज्यको विद्यार्थी बनेको चौधरीले बताइन् । सरकारी विद्यालयलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन आफूले चाहेको उनको भनाइ छ ।

रत्नराज्यबाट संसद भवन पनि नजिकै भएकाले उनलाई केही सहज नै भएको छ । विद्यालय व्यवस्थापन समितिले चौधरीलाई विद्यार्थी प्रतिनिधिका रुपमा व्यवस्थापन समिति सदस्य समेत मनोनित गरेको छ । वाल्यकालदेखिनै जमिन्दारको घरमा कमलरी बसेकी चौधरीले सानैमा पढ्न पाइनन् ।

उनी २०६४ सालमा संविधानसभा सदस्य भएर काठमाडौं आएपछि हस्ताक्षरसमेत गर्न नजान्दा ठाउँ ठाउँमा अपमानित भएपछि पढ्न थालेकी थिइन् । उनले यस वर्ष दाङको महेन्द्र मावि तुलसीपुरबाट एसईई दिएकी थिइन् ।

उनका छोराले १२ कक्षा पास गरिसकेका छन् भने छोरीले यसैवर्ष आमासँगै एसईई दिएकी थिइन् । छोरीले नर्सिङ पढ्न चाहेको र उनको भर्ना बाँकी रहेको चौधरीले बताइन् ।

आफूलाई कक्षामा पाउँदा विद्यार्थीहरु उत्साहित पाएको उनको भनाइ छ । चौधरी मानविकी संकायमा समाजशास्त्रको विद्यार्थीको रुपमा भर्ना भएकी हुन् । उनको रोल नम्बर ६२ कायम भएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment