Comments Add Comment

श्री एयरलाइन्सले पायो अन्तर्राष्ट्रिय सेड्यूल उडान अनुमति

अन्तर्राष्ट्रिय उडान गर्ने नेपालको चौथो कम्पनी

२९ साउन, काठमाडौं । सरकारले श्री एयरलाइन्सलाई अन्तर्राष्ट्रिय सेड्यूल उडानको अनुमति दिएको छ । बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले श्रीलाई भारतका ४ र बंगलादेशको एक शहरमा उडान गर्न सक्ने अनुमति दिएको हो । यसअघि श्रीलाई चार्टर्ड उडानको मात्र अनुमति थियो ।

अब नेपालबाट अन्तर्राष्ट्रिय सेड्यूल उडान गर्ने कम्पनीको संख्या ४ पुगेको छ । यसअघि नेपालबाट विदेश उडान गर्ने अनुमति नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र बुद्ध एयरसँग मात्र थियो ।

श्रीलाई भारतको नयाँ दिल्ली, कलकत्ता, अहमदावाद र बैंलौरमा उडान गर्न सक्ने अनुमति दिइएको छ । बंगलादेशको ढाकामा समेत यसले उडान गर्न सक्नेछ । अब कम्पनीले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति लिनुपर्छ ।

प्राधिकरणबाट उडान अनुमति पाएसँगै उक्त कम्पनीले आफूले उडान गर्न चाहेको विदेशी गन्तब्यमा प्रक्रिया थाल्न सक्छ । शुरुमा भारतीय शहरहरुबाटै उडानको तयारी गरिने श्री एयरलाइन्सको भनाइ छ ।

मे २०१७ बाट आन्तरिकतर्फ नियमित उडान थालेको श्री एयरलाइन्ससँग बम्बाडीयर सीआजे एयरक्राफ्ट छन् । नेपाल बाहिरका छोटो उडान दूरीका लागि यी जहाज उपयुक्त मानिन्छन् । श्रीले आगामी शनिबार एक जहाज थप्दैछ । आगामी साता अर्को जहाज ल्याउने योजना कम्पनीको छ । यससँगै श्री एयरलाइन्ससँग ५ वटा जहाज पुग्नेछन् । श्रीले लामो समयदेखि हेलिकोप्टर सेवासमेत दिइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment