
३० साउन, काठमाडौं । उपत्यका भित्रने प्रमुख नाकाको रूपमा रहेको थानकोट नाकाबाट धेरै लागुऔषध ओसारपसार हुने गरेको छ ।
महानगरीय प्रहरी वृत्त थानकोटले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७५/०७६ मा लागुऔषध मुद्दामा १४४ विरुद्ध मुद्दा दायर भएको छ ।
महानगरीय प्रहरी वृत्तका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले उपत्यका भित्रिने प्रमुख नाका धेरै व्यक्ति आवतजावत गर्ने भएकाले पनि धेरै लागुऔषध ओसारपसार पनि थानकोट नाकाबाटै हुने गरेको बताए ।
‘थानकोट प्रहरी अवैधरूपमा ओसारपसार गरिएको लागुऔषध धेरै हदसम्म बरामद गर्न सफल भएको छ’, उनले भने । यस्तै गरी भक्तपुरको जगाती, काठमाडौँको दक्षिणकालीबाट पनि लागुऔषध भित्रिने गरेको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार काठमाडौं प्रहरीले आर्थिक वर्ष २०७५/०७६ मा मात्र लागुऔषधसम्बन्धी ५२५ विरुद्ध मुद्दा दायर गरेको छ । आर्थिक वर्ष २०७५/०७६ मा भक्तपुरले ३६ र ललितपुरले ५९ व्यक्तिविरुद्ध मुद्दा चलाएको छ ।
लागुऔषध ओसारपसारमा तराई–मधेश मूलका व्यक्ति धेरै संलग्न हुने गरेको प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले बताए ।
उनले भने, ‘छिमेकी मुलुक भारतको खुला सीमानाका कारण पनि तराईको बाटो हुँदै धेरै लागुऔषध उपत्यका भित्रिने गरेको छ ।’ लागुऔषधभित्र पर्ने गाँजा र अफिमबाहेक सबै लागुऔषध विदेशबाट आयात हुने गरेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया 4