Comments Add Comment

छापामा आज : गोप्य राखिएको लाल आयोगको प्रतिवेदनमा के छ ?

३१ साउन, काठमाडौं । राष्ट्रिय जनता पार्टीले संघीय संसदमा ६ महिनाअघि तराई मधेस र थरुहट आन्दोलनको छानबिन गर्न गठित गिरीशचन्द्र लाल नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरिरहेको छ । यही विषयलाई लिएर गत महिना तीन साता प्रतिनिधिसभा बैठक अवरुद्ध भयो । सरकार भने अझै उक्त प्रवितेदन सार्वजनिक गर्न तयार छैन । किन त ?

कान्तिपुर दैनिकले आज लाल आयोगको प्रतिवेदन सार्वजनिक नहुनुको कारण खोतलेको छ । समाचार अनुसार, प्रतिवेदनले सरकारप्रति गम्भीर आरोप लगाएको छ । सरकारमाथि गम्भीर आरोप लगाएको प्रतिवेदनले मधेसकेन्द्रित दलहरूको भने प्रशंसा गरेको छ । मधेसवादी दललाई प्रतिवेदनमा उदारवादी, लोकतन्त्रवादी र वास्तविक राष्ट्रवादी शक्तिका रूपमा चित्रण गरिएको कान्तिपुरको दाबी छ । प्रतिवेदन सार्वजनिक नगरी राख्नुको मुख्य कारण यही भएको कान्तिपुर समाचारको सार छ ।

कान्तिपुरले लेखेको छ– आयोगले सरकारलाई बुझाइसकेको तर सार्वजनिक नगरिएको प्रतिवेदनमा अधिकारका लागि भएका शान्तिपूर्णृ आन्दोलनमा दमन गरिएको उल्लेख छ । जिम्मेवारी पूरा नगर्ने, प्रदर्शनकारीमाथि गोली हान्न आदेश दिने तथा आदेश पालना गर्ने तत्कालीन प्रहरी र स्थानीय प्रशासनका कर्मचारीमाथि अनुसन्धान र कारबाही गर्न पनि सिफारिस गरिएको छ । प्रतिवेदनमा आन्दोलन हिंसात्मक बन्नुको मुख्य दोष सरकारलाई देखाइएको छ । आन्दोलनकारीको कुनै कमजोरी उल्लेख छैन ।

जाँचबुझ आयोगमा पूर्वनायब महान्यायाधिवक्ता सूर्य कोइराला, नेपाल प्रहरीका पूर्वएआईजी नवराज ढकाल, राष्ट्रिय अनुसन्धान विभागका पूर्वएआईजी सुखचन्द्र झा, वरिष्ठ अधिवक्ता सुजन लोप्चन सदस्य र गृह मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख सदस्य सचिव थिए । आयोगले १४ महिना लगाएर प्रतिवेदन तयार गरे पनि अहिलेसम्म सार्वजनिक गरिएको छैन ।

महिना नपुग्दै भत्कियो धनगढी चक्रपथ
धनगढी उपमहानगरपालिकामा बनाइएको चक्रपथ एक महिना नपुग्दै भत्किन थालेको छ । सुदूरपश्चिम प्रदेशको राजधानी रहेको धनगढीमा निर्माण गरिएको चक्रपथको ८ दशमलव ९ किलोमिटर सडक १ महिनामै भत्किएको नागरिकले लेखेको छ ।

मिलेमतोमा गुणस्तरहीन काम भएकाले एक महिनामै सडक भत्किएको नागरिकको ठहर छ ।

करिब १० करोड रुपैयाँ लगानीमा भन्सारदेखि राजपुरसम्मको ८ दशमलव ९ किलोमिटर खण्ड निर्माण गरिएको एक महिना नपुग्दै भत्किन थालेपछि स्थानीय निरास बनेका छन् ।

मन्दिरको ५ बिघा जग्गा कब्जा

जनकपुरधामस्थित हनुमान मन्दिर शृंगार भवनको साढे ५ बिघा जग्गा व्यक्तिका नाममा दर्ता गरिएको तथ्य अन्नपूर्णले प्रस्तुत गरेको छ ।

जनकपुर उपमहानगरपालिका–१९ र साबिकको बेंगासिहपुर–७ (क) स्थित कित्ता नम्बर ४८८ को ५ बिघा १० कट्ठा र कित्ता नम्बर ४८९ को १७ धुर व्यक्तिका नाममा नामसारी भएको हो ।

एक अर्बभन्दा बढी मूल्य पर्ने जग्गा मालपोत कार्यालयका कर्मचारी र भूमाफियाको मिालेमतोमा व्यक्तिका नाममा दर्ता गरिएको समाचारमा उल्लेख छ ।

बिहीबार दिवंगत भएका साहित्यकार मदनमणि दीक्षितको व्यक्तित्व र कीर्तित्वको चर्चा आजका सबैजसो दैनिक पत्रिकाहरूले गरेका छन् । अन्नपूर्णले उनलाई आख्यानका माडसाब भनेको छ । त्यस्तै गोरखापत्रले मदनमणिलाई साहित्य र पत्रकारिताको मणिको संज्ञा दिँदै उनको निधनबाट देशलाई अपुरणीय क्षति पुगेको उल्लेख गरेको छ ।

प्रधानमन्त्रीको स्वास्थ्यमा देखिएको समस्या र कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खड्गबहादुर खत्रीको बर्खास्तगीलाई पनि आजका पत्रिकाहरूले प्राथमिकतापूर्वक पहिलो पृष्ठमा छापेका छन् ।
हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment