Comments Add Comment

समाजवादी पार्टी हात्ती हो, हात्तीछाप चप्पल होइन : अध्यक्ष भट्टराई

३१ साउन, पोखरा । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी अध्यक्ष डाक्टर बाबुराम भट्टराईले आफ्नो पार्टी हात्ती छाप चप्पल नभइ हात्ती भएको बताएका छन् ।

समाजवादी पार्टी गण्डकी प्रदेशले शुक्रबार पोखरामा गरेको पार्टी समायोजन तथा सपथ ग्रहण कार्यक्रममा उनले समाजवादी पार्टी अरु परम्परागत पार्टीकै स्थितिमा ‘थप’ हुन नआएको दाबी गरेका हुन् ।

‘यो पार्टी अरु पुरातन पार्टीमै थप एउटा पार्टी हुन आएको होइन । यो हात्ती जस्तै बलियो देखाउन बनाइएको हात्ती छाप चप्पल पनि होइन,’ अध्यक्ष भट्टराईले भने, ‘समाजवादी पार्टी हात्ती हो । स्थस्थ बलियो हात्ती हो,’ उनले देशमा अब समृद्धि समाजवादी पार्टीलेमात्रै ल्याउन सक्ने दाबी गरे ।

कांग्रेस र कम्युनिस्ट पार्टी पुराना भएर ब्रान्ड भइसकेको तर उनीहरुले काम नगर्ने आरोप भट्टराईको छ । ‘कांग्रेस र कम्युनिस्टको झन्डा पेप्सी र कोकाकोलाको जस्तो ब्रान्ड भइसक्यो । अब तिनीहरुको कामै छैन,’ उनले भने, ‘त्यो ब्रान्ड भइसकेको झन्डामुनी बसेर समृद्धि आउँदैन ।’

यो पनि पढ्नुस्–

बाबुरामको विश्लेषण : नेकपा फर्सी कुहिएझैं हुन्छ, कांग्रेसलाई म्युजियममा राखौं

केही समयअघि पोखरा आएकाबेला अध्यक्ष भट्टराईले कांग्रेसलाई म्युजियममा राख्ने भनाइ राखेका थिए । सोही भनाइ शुक्रबार फेरि दोहोर्‍याउँदै कांग्रेसले चित्त दुखाएको बताए । ‘मैले म्युजियममा राख्ने भन्दा कांग्रेस साथीहरु रिसाउनु भएछ । एक समय थियो बीपीले कांग्रेसका साख जोगाएका थिए । तर, बीपीको पुस्ता सकिएपछि कांग्रेसको पनि समय सकिएको छ,’ उनले भने, ‘अब उहाँहरु सकिनु भो । आराम गरेर बसे हुन्छ ।’

भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली उपचार गर्न विदेश गएकोमा समेत आपत्ति जनाए । ‘आफ्नो देशमा अस्पताल बनाउन नसक्ने । अनि आफू चाहिँ उपचार गर्न विदेश जाने ?’ उनले प्रश्न गरे, ‘उहाँलाई समस्या थाहा रैछ त । नेपालमै राम्रो उपचार हुने अस्पताल खोल्न किन सक्नु हुन्न ?’ उनले सरकारले व्यक्तिगत चाहना भन्दा पनि जनताको चाहनालाई प्राथमिकता दिनुपर्ने बताए ।

कम्युनिस्ट ‘भनाउँदा’ पार्टी नै संघीयताको मर्मविपरीत गइरहेको भट्टराईले आरोप लगाए । उनले भने, ‘कम्युनिस्ट हौं भन्ने अनि राजश्वी सुविधा खोज्ने । कम्युनिस्ट पार्टीका साथीहरु नै धर्मगुरुको पछि लाग्नु भाछ,’ उनले कम्युनिस्ट सरकारले गर्दा नेपाल विश्वमै लज्जित हुनु परेको भनाइ राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment