Comments Add Comment

संस्मरण : मदनमणि युगको अवसान

३२ साउन, काठमाडौं । ९३ वर्षसम्मको आफ्नो आयुको अधिकांश समय नेपाली वाङ्मयलाई समर्पण गर्ने वरिष्ठ विद्वान साहित्यकार मदनमणि दीक्षितको अवसानसँगै एउटा युगको अवसान भएको छ, मदनमणि युगको ।

कुनै एउटा व्यक्तिले आफ्नो योग्यता र योगदानले युगको निर्माण गर्नु चानचुने कुरा होइन । समीक्षा पत्रिकाको माध्यमले वनेको एउटा युग, वैदिक साहित्यको अध्ययन र तत्सम्वन्धी लेखनले बनेको अर्काे युग र नेपाली साहित्यमा आख्यान र निवन्ध एवम् आत्मकथात्मक रचनाको समग्रताले बनेको अर्काे युग सहितको तीन युगको समष्टि मदनमणि युग थियो, त्यो अब अवसान भएको छ ।

मेरो साहित्य लेखनको शुरुवात ताका ०३६ सालको आन्दोलन र जनमत संग्रहको घोषणा अनि बहुदलको पक्षमा भवानी घिमिरेको नेतृत्वमा भएको ऐतिहासिक सडक कविता क्रान्ति, यी सबैको परिप्रेक्षमा मेरो चिनजान समीक्षा र मदनमणि माड्सापसँग भएको थियो । जनमत सङ्ग्रहको मतदान गर्ने हप्तामा उनले बहुदलको नीलो रंगमा समीक्षा प्रकाशन गरेका थिए ।

झण्डै १६ जना सडक कविता क्रान्तिमा सकृयरुपले सहभागी कविहरुको समीक्षाको मुखपृष्ठमा तस्वीर प्रकाशन गरेर सडक कविता क्रान्ति तथा बहुदलको पक्षमा उनले टेको लगाउने काम गरेका थिए । संयोगबस त्यो मुखपृष्ठमा तस्वीर छापिनेमध्ये म पनि एक थिएँँ ।लेखनको अति प्रारम्भकालमै यस्तो अवसर पाउनु मेरा लागि अभुतपूर्व अवसर थियो ।

तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य भैसकेका मोहन कोइरालादेखि नेपाली कवितामा नाम बनाइसकेका तथा लोकप्रिय भैसकेका हरिभक्त कटुवाल, शैलेन्द्र साकार, वेन्जु शर्मा लगायतसँगै कुनै साप्ताहिक पत्रिकाको मुखपृष्ठमा तस्वीर छापिनुको प्रतिष्ठा र आनन्दानुभूतिको लेखो नै थिएन । मदनमणि दीक्षित नै तीे व्यक्ति थिए, जसको एक प्रकारले एकलौटी विचार र निर्णयले त्यो अखबारको रथ चल्दथ्यो । उनकै एकल निर्णयले त्यो सम्भव भएको थियो ।

परिचय भएपछि म उनलाई भेट्न कालिकास्थानको निवास गएँ, जहाँ भुइँतलामा लेटर प्रेस थियो र माथि माडसापको निवास । पहिलो भेटमै मलाई उनले लेखेका कृतिहरु “कसले जित्यो ? कसले हार्‍यो ?”, “म रुँदै विर्सिन्छु”, “दस लाख हिरोशिमातिर” अनि त्यसको अङ्ग्रेजी संस्करण लगायत उपहार पाएँ । उनीसँग नभएका बजारमा पाइने कृतिहरु पनि खोजेर किन्न तथा पढ्न थालें । विभिन्न सभा समारोहमा भेटघाट हुन पनि थाल्यो । उनले भाषणमा बोल्दा होस् वा कुराकानीको सिलसिलामा, पुराना कुराहरु साल मिति गते र बारसमेत तोकेर उल्लेख गर्दथे । यस्तो स्मरण शक्ति र क्षमता भएका मानिस मैले ६० वर्षको यो जीवनमा विरलै पाएको छु अथवा भनौं दोश्रो टड्कारो नाम मेरो स्मृतिमा छैन ।

कुनैबेला मदनमणि दीक्षित भनेको समीक्षा, समीक्षा भनेको मदनमणि दीक्षित भनिन्थ्यो भने त्यो आहान बदलिएर मदनमणि दीक्षित भनेको माधवी, माधवी भनेको मदनमणि दीक्षित हुन पुग्यो

मदनमणि माड्सापको जीवनमा आरोह अवरोहहरु प्रशस्त भए । उनले वीरगञ्जमा मास्टरी गरे । त्यसैले उनी सदाका लागि धेरैका लागि मदनमणि दीक्षित होइन, मदनमणि माड्साप भए । फोटोग्राफी पनि उनले गरे । पछिसम्म पनि कोही नजिकै कसैको हातमा क्यामेरा देख्यो भने त्यो मागेर ओल्टाई पल्टाई हेर्ने उनको वानी थियो । केही समय फोटोग्राफीको पेशा गरे पनि शौखका रुपमा उनले पछिसम्म पनि फोटो खिच्ने गरिरहे । उनी पञ्चायत कालमा एकपल्ट राष्ट्रिय पञ्चायतको सदस्यमा पनि उम्मेदवार भएर पराजित भएका थिए ।

तर, जे जस्ता परिस्थितिहरु जीवनमा भोगे पनि एक कालखण्डमा उनको परिचय मदनमणि दीक्षित भनेकै समीक्षा , समीक्षा भनेकै मदनमणि दीक्षित भन्ने भयो । त्यस सँगसँगै रसियन झुकावका कम्युनिष्टका रुपमा पनि मान्छेहरुले उनलाई चिन्दथे । त्यतिवेलाको सोभियत संघको दूतावाससँग र सोभियत संघका माथ्लो तहमा पनि उनको राम्रो सम्पर्क र बसउठ थियो । उनका प्राय सवै छोराहरुले निशुल्क छात्रवृत्तिमा सोभियत रुसबाटै अध्ययन गरेका थिए ।

समीक्षा पत्रिका वेलावेलामा पञ्चायती सरकारको आँखाको तारो वन्दथ्यो । अनि प्रकाशनमा प्रतिवन्ध लाग्दथ्यो । यसले उनलाई क्रोधित बनाउँथ्यो । क्षुव्ध वनाउँथ्यो । एकपल्ट नगेन्द्र प्रसाद रिजाल प्रधानमन्त्री हुँदा समीक्षा पुनः प्रतिवन्धित भयो र उनी अति क्षुव्ध, आक्रोशित र एक प्रकारको विचलित नै भए । अनि त्यसको समाधानका लागि राजदरबारको ढोकामा गएर आत्मदाह गर्ने निर्णयसम्म गर्न पुगे ।

तर, उनले पछि विचार बदले र त्यो समीक्षाको प्रतिवन्धित कालखण्डलाई “माधवी” जस्तो कालजयी कृति लेखनमा लगाए । कुनैबेला मदनमणि दीक्षित भनेको समीक्षा, समीक्षा भनेको मदनमणि दीक्षित भनिन्थ्यो भने त्यो आहान बदलिएर मदनमणि दीक्षित भनेको माधवी, माधवी भनेको मदनमणि दीक्षित हुन पुग्यो ।

माधवीको लेखनकालदेखि नै यस कृतिको चर्चा हुन थाल्यो । उनी उपन्यासका अँशहरु आफूलाई भेट्न आउनेहरुलाई तथा केही नजिकका साहित्यकारहरुलाई वोलाएर पनि सुनाउने गर्थे । उनको घरमा छोरा विनोदका निकटतम मित्र मण्डली पाण्डवका रुपमा उपनाम पाएका नगेन्द्रराज शर्मा, ध्रुवचन्द्र गौतम, ध्रुव सापकोटा, रोचक घिमिरे तथा विनोद दीक्षित थिए । उनीहरु नियमितजसो नै खास समयको अन्तरालमा खानपानमा सामेल हुन्थे । त्यसमा मदनमणि माडसापको पनि सहज सहभागिता हुन्थ्यो ।

माधवी त लेखियो, अब प्रकाशनका लागि समस्या थियो । मोटो आकारको उपन्यास भएकाले प्रकाशकहरु उतिसारो उत्साहित भएनन् प्रकाशनका लागि । अनेक जोडजाम गरेर आफैं प्रकाशनका लागि केही जोहो भएपछि त्रिपुरेश्वरतिरको यौटा प्रेसमा ढिला गतिमा माधवीको मुद्रण शुरु भयो । त्यसैवीच साझा प्रकाशनसँग कुरा मिल्यो र जहाँसम्म छापिएको थियो त्यसपछिको अँश छापेर साझा प्रकाशनबाट निस्कने भयो । अब प्रकाशक साझा प्रकाशन भएको थियो । पहिलो संस्करणका प्रतिहरुमा मुद्रण र कागजको रङ्ग फरक भइकन माधवीले पाठकको संसार पायो वि.सं २०३९ साल चैत्रमा ।

माधवीको प्रकाशन यौटा ऐतिहासिक घटना भयो नेपाली वाङ्मयका लागि । हुन त कतिले यो पुस्तक शुरु गरेर छिचोल्नै नसकेका कुरा पनि आए । तर गम्भिर अध्येताहरुले यो कृतिलाई रुचाइदिए । चर्चा परिचर्चा भयो । अध्ययन भयो । अनुसन्धान भयो । मदनमणि माड्साप त माधवीमा यसरी चुर्लुम्म डुवे कि कुनै पनि कुरा गर्दा माधवीको सन्दर्भ ल्याइ हाल्थे । उनमा वैदिक साहित्यको अथाह अध्ययन थियो । उनले दक्षिण भारत गएर त्यहाँका वैदिक साहित्य पनि मनग्ये अध्ययन गरेका थिए नेपाल भारत वी.पी.कोइराला फाउण्डेसनको आर्थिक सहयोगमा ।

त्यस वर्षको अर्थात् ०३९ सालको साझा पुरस्कार माधवीले पाउने घोषणा भयो तर जनकलाल शर्माको कृति “नेपाली समाज एक अध्ययन”का साथमा । दुई स्रष्टाका दुई कृतिका लागि साझा पुरस्कार संयुक्त रुपमा दिइने घोषणा भएको थियो । यो घोषणा मदनमणि माड्सापलाई रुचेन । जनकलाल शर्माको किताव र माधवीको तुलना कसरी हुन सक्छ ? यस्तो पूरै फरक विषयका पुस्तकलाई समान रुपले संयुक्तरुपमा पुरस्कार दिनु गलत हो भन्ने उनले ठहर गरे र साझा पुरस्कार अस्वीकारको घोषणा गरे । यो घोषणाले उनको तारिफ र आलोचना दुबै भयो । नेपाली समाज आलोचनाप्रिय भएकाले आलोचना नै बढी भए प्रकट अप्रकट दुवै रुपमा ।

माधवी प्रकाशनकै बेला नेपालको तराई भूभाग बाढीको उग्र प्रकोपले अत्यन्त ग्रस्त थियो । देशव्यापी रुपमा राहत सङ्कलन कार्य भएको थियो । मदनमणि दीक्षितले माधवीको साझा प्रकाशनबाट पाइने लेखकस्व वाढी पीडितका लागि चन्दा दिने घोषणा गरेका थिए ।

एकेडेमी मसानघाट होइन, लास राख्न बन्द गर्नुपर्छ भनेपछि उनको तीव्र विरोध भयो र उनले पछि वाध्य भएर अनुमति दिन करै लाग्यो

साझा पुरस्कार बहिस्कार गरे पनि माधवीले नेपाली भाषाको अत्यन्त विशिष्ट नीजि क्षेत्रको नेपाली भाषाको कृतिलाई दिइने मदन पुरस्कार प्राप्त गर्‍यो । यसले माधवीको गहनता र महत्वलाई झन् उजागर गर्‍यो । छिचोल्न सकिनँ भन्नेहरुले पनि अब चाहिँ घोटिएर पनि माधवी अध्ययन गर्न थाले । मदनमणि माडसाप झन् माधवीमय भए । यतिसम्म कि भारतका ख्यातिप्राप्त हिन्दी भाषाका विशिष्ट साहित्यकार भीष्म साहनीले लेखेको “माधवी ”नाटक पनि उनलाई चित्त बुझेन, आफूले त्यत्रो मिहेनतले पुनः सिर्जना गरेको माधवीमाथि भीष्म साहनीले न्याय गर्न नसकेको, उनको व्यक्तित्वको विराटतालाई खुम्च्याएको भन्नेे उनलाई भयो ।

मदनमणि माडसाप नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको उपकुलपति पदमा नियुक्त भए नेपालका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला भएका बेला । समीक्षामा र अन्य पत्रिकामा प्रज्ञा प्रतिष्ठानको खुलेर अत्यन्त कडा आलोचना गर्ने माड्साप अब आफैं त्यो संस्थाको सर्वे सर्वा हुन पुगेका थिए ।

त्यसबेलाको नियम अनुसार उपकुलपति र प्रज्ञा सभाको ३० जना सदस्यको नामावली निक्लन्थ्यो । अनि त्यहीमध्येबाट उपकुलपतिले टिम बनाउने भन्ने हुन्थ्यो । अव यसमा सरकारका मान्छे, मन्त्रीका मान्छे, आफ्ना मान्छे, राम्रा मान्छे सवैको सन्तुलन मिलाउनुपर्ने हुन्थ्यो । माडसापलाई अरुमा त खास समस्या परेन । तर सदस्य सचिव कसलाई वनाउने भन्ने ठूलो संकट आइलाग्यो । उनका समक्ष दुई नाम थिए-नगेन्द्रराज शर्मा र डा.ध्रुवचन्द्र गौतम ।

मदनमणि माडसाप नगेन्द्रराज शर्मालाई सदस्य सचिव बनाउन चाहन्थे । तर, साथीजस्तै प्रिय छोरा विनोद दीक्षित डा.ध्रुवचन्द्र गौतमलाई बनाउन जोड लगाउँदै थिए । विनोद र ध्रुवचन्द्र निकै मिल्ने मित्र थिए लामो समयदेखि । अन्तमा आफ्नो इच्छालाई तिलाञ्जली दिएर पुत्रमोहका कारण डा. ध्रुवचन्द्रलाई सदस्य सचिव वनाउन वाध्य भए ।

तर, यो निर्णय नै पछि उनका लागि गलपासो भयो । केही समयको अन्तरालमै मदनमणि माडसाप र डा.ध्रुवचन्द्र गौतमका वीच मतान्तर भयो र यो मतान्तरले यति उग्र रुप लियो कि उपकुलपति र सदस्यसचिव वीच बोलचालसमेत वन्द भयो । एकेडेमीमा पसेदेखि नै मदनमणि त्यो विशाल घरका विविध रंगरुपका मानिसवीच लोकप्रिय हुन सकेनन् । उनी बिहान उठ्नेवित्तिकै एकेडेमी पुग्थे । बगैंचामा टहलिन्थे । आफ्नो टेवुलमा गएर चिया खान्थे । बिहानको खाना पनि त्यहीँ खान्थे घरबाट मगाएर । यो आशक्ति, प्रज्ञाप्रतिष्ठानका कर्मचारीहरुलाई मन पर्ने कुरा थिएन । ड्राइभर पनि एकाविहानै सधैं आउन खुशी हुने कुरा थिएन ।

साहित्यकारको देहान्तपछि एकेडेमीको मूल ढोका अगाडि अन्तिम दर्शनका लागि राख्न अनुमति लिन जाँदा “एकेडेमी मसानघाट होइन, लास राख्न बन्द गर्नुपर्छ” भनेपछि उनको तीव्र विरोध भयो र उनले पछि वाध्य भएर अनुमति दिन करै लाग्यो । वास्तवमा अहिले पनि त्यो प्रचलन छ, म आफैं त्यो प्रचलनको विपक्षमा छु । के एकेडेमीको मूल द्वारमा शव राख्नु ठीक हो त ? यसको वैकल्पिक व्यवस्था गर्ने सोच सम्वन्धितमा किन आउँदैन ? उनले भनेको कुरा ठीक भए पनि सही समयमा र सही रुपमा नहुँदा अलोकप्रियता हात लाग्यो । त्यस्तै वाशिंटन टाइम्स फाउण्डेसनको तर्फबाट अमेरिकामा आयोजित विद्वत् भेलामा आएको निम्ताको व्यवस्थापन पनि उनले गर्न नसक्दा एकेडेमीकै सदस्यहरु समेतको कोपभाजनको शिकार हुनुपर्‍यो ।

एकेडेमीमा सदस्य सचिवसँगको मन मुटावले यस्तो क्षण पनि आयो, उनले राजिनामा लेखेर प्रधानमन्त्री कार्यालयमा दर्ता गरे । तर धेरैको दबावमा र प्रधानमन्त्रीसँग कुराकानी भएपछि राजिनामा फिर्ता भयो , तर सदय सचिवसँगको अन्तरद्न्दको अन्त भएन । बरु नगेन्द्रराज शर्मा, रोचक घिमिरे लगायतको साथ लिएर उनी साहित्यिक देश दौडाहामा लागे । वास्तवमा एकेडेमी लामो समय उपकुलपति र सदस्य सचिवको समानान्तर नेतृत्वमा चल्यो । उनी एकेडेमीमा बिताएको समयलाई आफ्नो जीवनको कालो खण्ड तथा असफलताका दुःखद वर्षहरु भन्ने गर्थे ।

तर, जस्तो परिस्थितिमा पनि उनको लेखन कार्य भने रोकिएन । उनी आफैंले अर्थात् आफ्नो हातले बिरलै लेख्थे, उनी डिक्टेसन गराउँथे । उनले थप कथा लेखे, उपन्यास लेखे, आत्म कथा लेखे, नियात्रा लेखे । उनले अनुवाद कर्ममा पनि हात हाले ।

टोयोटा फाउण्डेसन र च्वसापासाको पहलमा ४० को दशकमा केही जापानी कृतिहरु नेपाली भाषामा अनुवाद भएका थिए । उनले जापानी उपन्यासकार युकियो मिशिमाको प्रख्यात उपन्यास किन्काकुजी अर्थात् द टेम्पल अफ द गोल्डेन पेभिलियनलाई नेपाली भाषामा “स्वर्ण विहार” शीर्षकमा अनुवाद गरेका थिए ।

सोभियत संघ विघटनपूर्व पूर्वी युरोपका विभिन्न मुलुकहरु तथा सोभियत रुसको उनले भ्रमण गरेका थिए । उनको कमै चर्चा भएको नियात्रा कृति “वर्लिन डायरीका पाना”यौटा उम्दा गद्य कृति हो । त्यस्तै विश्वयुद्धको बेला भएको नर संहारसम्वन्धी म्युजियममा यौटा नारीको चुल्ठो देखेपछि उनको हृृदय द्रवित भएको थियो र उनको मष्तिष्कमा एउटा कथाको जन्म भयो । “रेनाताको ज्यूँदो चुल्ठो” त्यही कथा थियो । तर, पछि यसको शीर्षक परिवर्तन गरेर “ग्याँस च्याम्वरको मृत्यु” बनाए । यो कथा विश्वस्तरको यस्तो कथा हो जसलाई जुनसुकै भाषामा अनुवाद गरे पनि उच्चस्तरको ठहरिन्छ भन्ने मेरो विश्वास छ । नेपाली कथा साहित्यका विज्ञ विद्वान डा. दयाराम श्रेष्ठको पनि यस्तै मत रहेको छ र उनले यस कथाको बेग्लै विश्लेषण समेत गरेका छन् ।

माडसापको जीवनकालमा अच्युतरमण अधिकारीले उन्नयन पत्रिकाको मदनमणि दीक्षित वृहत् विशेषाङ्क प्रकाशन गरेका थिए । शेषराज शिवाकोटीको सम्पादनमा प्रकाशन हुने “ज्ञानगुनका कुरा” ले विभिन्न खण्डमा उनका बारेमा साना साना अङ्क निकालेर त्यसको समग्र एउटै विशेष ग्रन्थ पनि प्रकाशन गरेको थियो । उनका मौलिक कृतिहरु कथा, उपन्यास, जीवनी, आत्मकथात्मक रचना, नियात्रा, अनुवादसहित झण्डै चार दर्जन प्रकाशित भएका थिए ।

सम्भवतः नेपाली भाषामा सबैभन्दा धेरै शब्द लेख्ने व्यक्ति मदनमणि माडसाप नै थिए । यसमा उनको एक प्रकारको दावी पनि थियो । ०७६ साउन ३० गते बुधबार बिहान साढे चार बजे माहिला छोरा प्रमोदमणि दीक्षितको सहयोगमा शौच निवृत्त भई सुतेका माड्साप त्यसपछि व्युँझिएनन् । यसरी यी साहित्यिक महर्षि आफ्नो जीवनलाई सार्थक र सिर्जनात्मक देन दिएर चीर विश्राममा सामेल भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment