Comments Add Comment

वाणिज्य बैंकहरुले कमाए ६५ अर्ब, राष्ट्रिय वाणिज्य बैंक पहिलो बन्दा सिभिल देखियो कमजोर

१ भदौ, काठमाडौं । मुलुकमा सञ्चालित २८ वटै वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०७५/७६ को वित्तीय विवरण सार्वजनिक गरेका छन् । वित्तीय विवरणअनुसार वाणिज्य बैंकहरुले गत आर्थिक वर्षमा ६५ अर्ब ३९ करोड ५७ लाख रुपैयाँ मुनाफा आर्जन गरेका हुन् ।

यो अघिल्लो आर्थिक वर्षको तुलनामा करिब २५ प्रतिशत बढी मुनाफा हो । अघिल्लो आर्थिक वर्ष ०७४/७५ यी बैंकहरुले ५२ अर्ब ७ करोड रुपैयाँ मुनाफा आर्जन गरेका थिए ।

नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्म कर्जा तथा निक्षेपको ब्याजदरबीचको अन्तर (स्प्रेड रेट) ४ दशमलव ५ मा झार्न निर्देशन दिएको थियो । अघिल्लो आर्थिक वर्ष ५ प्रतिशत रहेको स्प्रेड रेट असार मसान्तसम्म अधिकांश बैंकले ४.५ मा झारेको भए पनि मूनाफामा राम्रै सुधार भएको हो । औसतमा भने बैंकहरुको स्प्रेड रेट ६ प्रतिशतको हाराहारीमा छ ।

उद्योगी–व्यवसायीहरुले भने बैंकहरुले बढी मुनाफा कमाएको भन्दै स्प्रेड रेट ३.५ प्रतिशतमा झार्न माग गर्दै आएका छन् । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले आगामी असार मसान्तसम्म ४.४ मा झार्न निर्देशन दिएको छ ।

बेलाबेलामा तरलता अभावको सामाना गरिरहेका बैंकहरुले यत्तिको मुनाफा आर्जन गर्नु राम्रो भएको राष्ट्र बैंककै अधिकारीहरु बताउँछन् ।

मुनाफा धेरै कमाउनेमा सरकारी बैंक

पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक मुनाफाका आधारमा नम्बर वान देखिएको छ । यो बैंकले गत आर्थिक वर्षमा पाँच अर्ब ३२ करोड ८३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्दै पहिलो बन्न सफल भएको हो ।

बैंकको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ४५.६१ प्रतिशतले बढेको छ । आर्थिक वर्ष ०७४/७५ मा बैंकले तीन अर्ब ६५ करोड ९२ लाख खुद मुनाफा कमाएको थियो । राष्ट्रिय वाणिज्य बैंक सरकार मात्रैको लगानीमा स्थापना भएको बैंक हो ।

मुनाफाका आधारमा कृषि विकास बैंक दोस्रो स्थानमा देखिएको छ । यो बैंकले एक वर्षमा चार अर्ब ३५ करोड ३२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले आर्थिक वर्ष ०७५/७६ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै चार अर्ब ३५ करोड ३२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको बताएको छ ।

बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष १९.१७ प्रतिशतले मुनाफा बढाएको हो । अघिल्लो आर्थिक वर्ष बैंकले ३ अर्ब ६५ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । यसैगरी बैंकले ३ अर्ब ३१ करोड रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको छ । वितरणयोग्य नाफा अल्लिो आर्थिक वर्षको तुलनामा ७.८२ प्रतिशतले बढेको हो । यो बैंकको चुक्ता पुँजी १४ अर्ब ४४ करोड रुपैयाँ माथि रहेको छ । नेपाल सरकारको सबैभन्दा धेरै लगानी रहेको कृषि विकास बैंकले कृषि क्षेत्रमा केन्द्रित भएर बढी लगानी गर्ने गरेको छ ।

निजी क्षेत्रको पहिलो बन्यो नविल

निजी क्षेत्रको लगानी रहेका बैंकहरु मध्ये सबैभन्दा धेरै मुनाफा नविल बैंक लिमिटेडले कमाएको छ । नविलले एक वर्षमा ४ अर्ब रुपैयाँभन्दा बढी मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्ष ०७५–७६ को चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै ४ अर्ब २९ करोड ४१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको जानकारी दिएको हो ।

अघिल्लो आर्थिक वर्षमा बैंकले ३ अर्ब ९८ करोड रुपैयाँ कमाएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकले गत आर्थिक वर्षमा बैंकको नाफा ७.८४ प्रतिशतले बढाएको हो । बैंकको वितरण योग्य मुनाफा भने ३ अर्ब १८ करोड ४६ लाख रुपैयाँ रहेको छ । बैंकले अघिल्लो आर्थिक वर्ष ३४ प्रतिशत लाभांश दिएको थियो । यस वर्ष त्योभन्दा पनि बढी लाभांश दिने क्षमता नविल बैंकको देखिएको छ । बैंकको खुद ब्याज आम्दानी १७.१५ प्रतिशतले बढेर ७ अर्ब ३३ करोड ६० लाख पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा खुद ब्याज आम्दानी ६ अर्ब २६ करोड २० लाख रहेको थियो ।

गत आर्थिक वर्ष बैंकले १ खर्ब ६४ अर्ब ३७ करोड ६० लाख निक्षेप संकलन गरेको छ । जुन अघिले आर्थिक वर्षको सोही अवधिको भन्दा २१.९३ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा बैंकले १ खर्ब ३४ अर्ब ८१ करोड छ लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो ।

सोही अवधिमा बैंकको कर्जा लगानी १८.५४ प्रतिशतले बढेर १ खर्ब २८ अर्ब २० करोड ४३ लाख पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ खर्ब ९ अर्ब पाँच करोड ९३ लाख कर्जा लगानी गरेको थियो । बैंकको खराब कर्जा ०.७४ प्रतिशत रहेको छ भने बेस रेट ८.०९ प्रतिशत रहेको छ ।

३ बैंकको नाफा बढेन

गत आर्थिक वर्षमा ३ वटा बैंकले मूनाफामा सुधार गर्न सकेनन् । आर्थिक वर्ष ०७४/७५ को तुलनामा ०७५/७६ मा ३ वाणिज्य बैंकहरुले मुनाफामा सुधार गर्न नसकेका हुन् ।

३ मध्ये नेपालकै सबैभन्दा जेठो बैंक नेपाल बैंकको नाफामा समेत गिरावट आएको छ । यो बैंकको मुनाफा करिब १९ प्रतिशतको छ ।

गत आर्थिक वर्षमा यो बैंकको नाफा दुई अर्ब ६१ करोड रुपैयाँ कमाएको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकले हालत पनि उस्तै छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकले तीन अर्ब ४१ करोड ५६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष ०७४/७५ को सोही अवधिमा बैंकले तीन अर्ब ६५ करोड ९३ लाख खुद मुनाफा कमाएको थियो । अर्को सेञ्चुरी कमर्र्सियल बैंकको नाफामा पनि गिरावट आएको छ । सेञ्चुरी कमर्सियल बैंकले जम्मा ८६ करोड आठ लाख रुपैयाँ मात्रै कमाएको छ ।

सुधारोन्मुख प्रगति

एनआईसी एसिया बैंक लिमिटेडले चालु आ.व. ०७५/७६ मा १२९ प्रतिशत अर्थात् रु. १ अर्ब ७२ करोडको वृद्धिसहित रु. ३ अर्ब ५ करोड आर्जन गर्न सफल भएको छ । गत वर्षको सोही अवधिको खुद मुनाफा रु. १ अर्ब ३३ करोड रहेको थियो ।

उता एभरेष्ट बैंकले गत आर्थिक वर्षमा १८ प्रतिशतले नाफा बढाएको छ । बैंकले यो अवधिमा ३ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षमा बैंकले २ अर्ब ५८ करोड रुपैयाँ नाफा कमाएको थियो ।

यसैगरी हिमालयन बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष ५१ प्रतिशतले बढाएर २ अर्ब ८४ करोड ७० लाख रुपैयाँ पुर्याएको छ । अघिल्लो आर्थिक वर्ष बैंकले १ अर्ब ८७ करोड ५६ लाख रुपैयाँ नाफा कमाएको थियो ।

उता ग्लोबल आईएमई बैंकले एक वर्षमा २ अर्ब ७९ करोड ५२ लाख ९४ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । आर्थिक वर्ष ०७५/७६ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै ग्लोबल आईएमईले २ अर्ब ७९ करोड ५२ लाख ९४ हजार रुपैयाँ मुनाफा आर्जन गरेको जानकारी दिएको हो ।

आर्थिक वर्ष ०७४/७५ मा यो बैंकले २ अर्ब १० करोड १३ लाख ६३ हजार रुपैयाँ मुनाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा ग्लोबल आईएमई बैंकले ३३ प्रतिशतले मुनाफा बढाएको हो ।

विदेशी लगानीको स्टान्डर्ड चाटर्ड बैंकले एक वर्षको अवधिमा दुई अर्ब ४९ करोड ५३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा स्टाण्डर्ड चार्टड बैंकले करिब १४ प्रतिशतले मुनाफा आर्जन गरेको हो । आर्थिक वर्ष ०७४/७५ मा बैंकले २ अर्ब १८ करोड रुपैयाँमात्रै आम्दानी गरेको थियो ।

नेपाल राष्ट्र बैंकले तोके अनुसारको ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन बाँकी रहेको नेपाल क्रेडिट एण्ड कमर्श बैंक (एनसीसी) ले गत आर्थिक वर्षमा सन्तोषजनक प्रगति गरेको छ । बैंकले गत आर्थिक वर्ष ०७५/७६ मा १ अर्ब ५२ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

बैंकको अघिल्लो आर्थिक वर्षमा मुनाफा १ अर्ब ३४ करोड १५ लाख रुपैयाँ रहेकोमा करिब १३ प्रतिशतले मुनाफा बढाउँदै बैंकले १ अर्ब ५२ करोड रुपैयाँ पुर्याएको हो ।

तोकिएको चुक्ता पुँजी पुर्याउन बाँकी रहेको एनसीसी एक मात्रै वाणिज्य बैंक हो । एनसीसीको चुक्ता पुँजी अहिले ७ अर्ब १ करोड ८५ लाख रुपैयाँ रहेको छ । बोनस सेयर दिएर बैंकले पुँजी पुर्याउँदैछ ।

अन्य बैंकले कति कमाए ?

प्राइम कमर्सियल बैंक– दुई अर्ब ३६ करोड रुपैयाँ

एनएमबि बैंक– दुई अर्ब ३१ करोड रुपैयाँ

सिद्धार्थ बैंक– दुई अर्ब ३० करोड रुपैयाँ

नेपाल एसबीआई बैंक– दुई अर्ब ३० करोड रुपैयाँ

सानिमा बैंक– दुई अर्ब २४ करोड रुपैयाँ

प्रभु बैंक– दुई अर्ब पाँच करोड रुपैयाँ

बैंक अप– काठमाण्डू– एक अर्ब ९३ करोड रुपैयाँ

मेगा बैंक– एक अर्ब ७१ करोड ९२ लाख रुपैयाँ

माछापुच्छ्रे बैंक– एक अर्ब ७० करोड रुपैयाँ

सनराइज बैंक– एक अर्ब ७० करोड रुपैयाँ

नेपाल बंगलादेश बैंक– एक अर्ब ६१ करोड रुपैयाँ

लक्ष्मी बैंक– एक अर्ब ५७ करोड रुपैयाँ

एनसीसी बैंक– एक अर्ब ५२ करोड रुपैयाँ

सिटिजन्स बैंक इन्टरनेसनल– एक अर्ब ४८ करोड रुपैयाँ

जनता बैंक– एक अर्ब ३४ करोड रुपैयाँ

कुमारी बैंक– एक अर्ब ३३ करोड रुपैयाँ

सिभिल बैंक– ८० करोड रुपैयाँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment