Comments Add Comment

रेसुङ्गाको एकमहिने मेला सकियो

१ भदौ, गुल्मी । जिल्लाको रेसुङ्गामा सञ्चालन भएको एकमहिने साउने मेला सकिएको छ । ऐतिहासिक धार्मिक क्षेत्र रेसुङ्गामा विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि साउनभर एक महिनासम्म मेला आयोजना लागेको थियो ।

रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालका अनुसार एक महिनासम्म धार्मिक प्रवचनसँगै रुद्री र चन्डी पाठ गर्नुका साथै शिवको दैनिक पूजा हुने गर्दछ । एक महिने मेलाअन्तर्गत साउन १ गत, साउने आंैसी, एकादशीको दिन विशेष मेला लाग्ने गर्दछ ।

धार्मिक स्थल रेसुङ्गामा पूजाआजा गर्न गुल्मीसहित छिमेकी जिल्ला अर्घाखाँची, पाल्पा, बागलुङ्ग, प्युठान, रुपन्देही, चितवन लगायतका नेपालका बिभिन्न ठाउँबाट श्रद्धालु भक्तजनहरु आउँछन् । नेपालका चार धाममध्ये एक रेसुङ्गाको पोखरीमा नुहाउने र पूजा गर्नाले सबै पाप नष्ट हुने धार्मिक विश्वास छ ।

सदरमुकाम तम्घासबाट करिब ३० मिनेटको गाडिको यात्रा पछि उक्त स्थानमा पुग्न सकिन्छ । एकमहिने साउने मेलामा आउने भक्तजनको सुविधाका लागि गाडी भाडामा २० प्रतिशत छुट दिइएको थियो । असहाय, अशक्त र सन्त महन्तलाई रेसुङ्गामा निःशुल्क लैजाने व्यवस्था पनि मिलाइएको थियो । रेसुङ्गामा बस्नेहरुका लागि निःशुल्क बास र खानाको व्यवस्था गरिएको थियो ।
धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल रेसुङ्गाको शिखरमा त्रेता युगमा अयोध्याका राजा दशरथका राजकीय ऋषि ऋष्यश्रृंगले तपस्या गरेको जनश्रुति छ । त्यसैले रेसुङ्गालाई आध्यात्मिक र धार्मिक तपोभूमिको रुपमा लिइन्छ । प्राचिन युगमा धेरै ऋषि महर्षिहरुले तपस्या गरेको हुनाले यस ठाउँको नाम रेसुङ्गा रहन गएको पुराण बाचक चैतन्य कृष्ण बताउँछन् ।

समुद्री सतहबाट २ हजार ३ सय ४० मिटरको उचाइमा रहेको रेसुङ्गामा धागीथुम, रामकुण्ड, सिद्धस्थान, अर्जुनडाँडा, महापोखरी, यज्ञशाला, गौशाला, साउने शिवालय जस्ता धार्मिक स्थलहरु पर्दछन् । रेसुङ्गाको उच्च स्थानमा बनाइएको भ्यु टावरबाट धवलागिरिदेखि मनास्लुसम्मका हिमश्रृंखला अवलोकन गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment