Comments Add Comment

२५ वर्षपछि नेपाल लिभिङ टुगेदरमा जान्छ

‘ओशोको मार्गनिर्देशन पाएपछि तुरुन्तै नेपाल आएँ’

१ भदौ, काठमाडौं । जनकपुरको राजनीतिक परिवारमा जन्मेका अरुणकुमार सिंह आध्यात्मतर्फ लागेर ‘स्वामी आनन्द अरुण’का नामले परिचित हुन पुगे । उनी भारतीय दार्शनिक/गुरु ओशो रजनीशका विचारलाई फैलाउन सक्रिय छन् ।

नागार्जुनको जंगलमा आनन्द अरुणले सञ्चालन गरेको ओशो तपोवनमा विश्वभर रहेका ओशोका अनुयायीहरुको आकर्षण छ । उनले नेपालमा र बाहिर गरी करिब २ सय आश्रमहरु स्थापना गरिसकेका छन् भने अहिलेसम्म ९० हजार व्यक्तिहरुलाई आफैंले दीक्षित गरेको बताउँछन् ।

तर, आनन्द अरुण विभिन्नखाले विवादमा भने परिरहन्छन् । ओशो तपोवनले सरकारी जग्गा हडेपेकोदेखि यहाँभित्र यौन स्वच्छदताको अभ्यास हुने गरेकोसम्मका आरोपहरु लागेका छन् । केही समयदेखि एउटा तस्वीरले पनि ओशोलाई विवादमा ल्याएको छ, जसमा एक महिला शिष्यले उनको गोडा मालिस गरिरहेको देखिन्छ ।

त्यसो त ओशो रजनीश आफैंमा एक विवादित पात्र हुन् । खासगरी विवाह तथा यौनसम्वन्धी ओशोका दृष्टिकोणहरु निकै विवादित छन् । तर, आनन्द अरुणचाहिँ ओशोलाई आजको समाजले चिन्न नसके पनि भविश्यमा उनले ‘गौतम बुद्ध’कै दर्जा पाउने दाबी गर्छन् ।

ओशोभक्त स्वामी आनन्द अरुणले अनलाइनखबरसँगको कुराकानीमा केही अपत्यारिता तर्क पनि गरे, जस्तो– पुनर्जन्मको कुरा । विवाह गर्नुभन्दा ‘लिभिङ टुगेदर’मा बस्नु उचित हो भन्ने धारणा राख्ने स्वामीजीले अबको २५ वर्षपछि नेपाली समाज पनि लिभिङ टुगेदरमै जाने दाबीसमेत गरे ।

प्रस्तुत छ– आनन्द अरुणसँग ओशो तपोवनमा गरिएको कुराकानी–

स्वामीजीका बुवा पनि आध्यात्मिक नै हुनुहुन्थ्यो ?

होइन । उहाँ सुरुदेखि सर्भिस होल्डर हो । सुरुमा उहाँले भारतीय सरकारको नोकरी गर्नुभयो । वीपी कोइरालाको भारत निर्वासनका क्रममा रहँदा बुवाले उहाँलाई निकै सहयोग गर्नुभएको थियो । त्यसको फलस्वरुप प्रजातन्त्र आएर वीपी गृहमन्त्री बनेपछि बुवालाई पर्सनल सेक्रेटरी बनाउनुभयो । त्यसपछि ०७ सालदेखि १५ सालसम्म जो–जो प्रधानमन्त्री बने, सबैले बुवालाई आफ्नो निजी सहायक बनाए ।

त्यो समय नेपालमा अंग्रेजी बोल्न जान्ने मान्छे निकै कम थिए । विदेशी प्रतिनिधिहरुसँग संवाद गर्न अंग्रेजी जानेको मान्छे चाहिने । बुवाले भारतमा पढ्नुभएकाले अंग्रेजी राम्रो थियो । त्यसैले वीपीकै सिफारिसमा मात्रिकाप्रसाद कोइराला, केआई सिंह टंकप्रसाद आचार्यले उहाँलाई पर्सनल सेक्रेटरी बनाउनुभयो ।

वीपी ०१५ सालमा जब प्रधानमन्त्री बन्नुभयो, त्यसबेला चाहिँ उहाँले बुवालाई बडा हाकिम बनाउनुभयो । खासमा भारतमै वीपीले बुवालाई प्रजातन्त्र आयो भने गभर्नर (नेपालमा बडाहाकिम) बनाइदिन्छु भनेर बचन दिनुभएको रहेछ । जुन पछि पूरा गर्नुभयो ।

जनकपुर तपाईंको पुर्ख्यौली थातथलो हो कि पछि आउनुभएको ?

पुर्ख्यौली हो । मेरो जन्म त्यहीँ भयो । तर, म जनकपुर धेरै नबसेकाले त्यहाँको जानकारी त्यति छैन । २००७ सालपछि बुवासँग काठमाडौं आएको हुँ ।

बाल्यकालमा मेरो औपचारिक शिक्षा त्यति सहज भएन । काठमाडांैंको दरबार हाइस्कुलमा ४ कक्षामा भर्ना भएको थिएँ । तर, बुवा बडाहाकिम भएर जिल्लातिर गएपछि मलाई पनि सँगै लैजानुभयो । धेरै जिल्लामा विद्यालय नै हुँदैनथ्यो । त्यसैले ती जिल्लामा मलाई सुब्बा, खरदार, न्यायाधीशले पढाउँथे ।

भारत जानुभएको चाहिँ कहिले ?

नेपालमा मेरो पढाइ सुचारु हुन नसकेपछि हजुरबुवाले भारत पठाउनुभयो । बिहारमा मेरो मामाघर थियो । त्यहीँ बसेर विद्यालय र क्याम्पस पढेँ । पटना क्याम्पसबाट १९७२ मा सिभिल इन्जिनियरिङ गरेको हुँ ।

राजनीतिक परिवारमा जन्मेको, इन्जिनियरिङ पढेको मान्छे, आध्यात्मतर्फ कसरी तानिनुभयो ?

आध्यात्मतर्फ झुकाव सानैदेखि थियो मेरो । आध्यात्मिक पुस्तकहरु धेरै पढ्थे । आश्रमहरु घुम्ने र गुरुहरुसँग संगत गर्न रुचाउँथेँ ।

विद्यार्थी जीवनमा नै धेरै गुरुहरुबाट दिक्षा पनि लिएको थिएँ । कलेज पढ्दै गर्दा १९६९ देखि ओशो संगतमा आएँ र आजपर्यन्त उहाँले देखाएको बाटोमा हिँडिरहेको छु ।

ओशोलाई पहिलोचोटि भेट्दा कस्तो महसुस भयो ?

सन् १९६९ मा पटनामा पढ्दै गर्दा एकपटक ओशो प्रवचन दिन आउनुभएको थियो । त्यतिबेला उहाँ भारतमा पनि खासै परिचित हुनुहुन्थेन । मैले पनि उहाँको नाम सुनेको थिइनँ । शहरमा नयाँ योगी आयो भनेर हल्ला चल्यो । उहाँको पोष्टरहरु हेरेँ ।

म त योगी र गुरु भनेपछि जोसुकै होस, दौडेर गइहाल्थेँ । दाह्री पालेको र गेरु वस्त्र लगाएको भए मलाई पुग्ने । त्यसैले उहाँको प्रबचनमा म नपुग्ने कुरै भएन । सन् १९६९ को २९ मार्चमा मैले पहिलोपटक ओशोलाई देखेको हुँ । त्यो दिनलाई म आफ्नो जीवनको अविस्मरणीय दिन मान्छु ।

सर्वप्रथम त उहाँको व्यक्तित्वले नै मलाई सम्मोहित तुल्यायो । उहाँको शरीरमा एक किसिमको तेज थियो, जसलाई हामी ब्रह्तेज भन्छौं । लामो दाह्री, लुङ्गी लगाउनुभएको, माथि खास्टो ओढ्नुभएको । ३५ वर्षको युवकलाई त्यस्तो हुलियामा मलाई विछट्टै मन पर्‍यो ।

मैले धेरै गुरुहरुको प्रवचन सुनेको थिएँ, किताब पढेको थिएँ । तर, त्यस्तो विद्रोही र क्रान्तिकारी कुरा मैले पहिले कुनै गुरुको मुखबाट सुनेको थिइनँ । मैले आजसम्मको बुझाइमा नै उहाँले प्रश्नचिन्ह खडा गरिदिनुभयो । ओशोले महात्मा गान्धीको आलोचना गर्नुभयो, तार्किकरुपमा । म त गान्धीको ठूलो फ्यान थिएँ । ओशोको कुरा सुनेपछि त बडो असमञ्जसमा परिहालेँ । मेरो मस्तिष्कले भन्यो, यो मान्छे उग्र रहेछ, यसको विश्वास गर्नुहुँदैन । तर, मनमा भने छाप परिसकेको थियो ।

भारत र पाकिस्तानको विभाजनलाई ओशोले गान्धीको अविवेकी कदमका रुपमा व्याख्या गर्नुभयो । गान्धीले आत्मसात गर्नुभएको ब्रह्मचर्य अवधारणालाई पनि उहाँले अवैज्ञानिक संज्ञा दिनुभयो । समग्रमा गान्धीको राजनीतिक सोच र चिन्तन नै गलत छ भन्ने ओशोको राय थियो ।यद्यपि, गान्धीको इमान्दारिता र सादगी जीवनको चाहिँ उहाँले प्रशंसा गर्नुहुन्थ्यो ।

सहकार्यचाहिँ कसरी भयो ?

पहिलो लेक्चर सुनेपछि मभित्र उहाँप्रति धेरै जिज्ञासाहरु जागे । बाहिर उहाँको पुस्तकको स्टल राखिएको थियो । एउटा पुस्तकको मूल्य ५० पैसा । तर, फुटकर किन्न नपाइने रहेछ । एक वर्षको ग्राहक बनेपछि एउटा पुस्तक पाइने र बाँकी हुलाकबाट आउने भनियो ।

वार्षिक ग्राहक शुल्क १२ भारु थियो । पुस्तक पाक्षिकरुपमा प्रकाशित हुने रहेछ । म त विद्यार्थी मान्छे, धेरै पैसा बोकेर हिँडिदैनथ्यो । खल्ति छामेँ । जम्मा ३ भारु रहेछ । मलाई जसरी पनि किताब लैजानु थियो । मैले आफ्नो विवशता उनीहरुलाई व्यक्त गरेँ । मैले भनेँ कि ३ रुपैयाँ अहिले दिन्छु, बाँकी ९ रुपैयाँ मनि अर्डरबाट पठाइदिन्छु । सुरुमा त उनीहरुले मानेनन् । तर, मैले साह्रै हत्ते गरेको देखेपछि उनीहरु पनि पग्लिए । त्यसपछि बिलमा ९ रुपैयाँ क्रेडिट लेखेर मलाई किताब दिए ।

तपाईंका पाठकहरुले मलाई गाली गर्न पनि सक्छन् । तर, अबको २५ वर्षपछि नेपाल पनि लिभिङ टुगेदरमा नै जाने हो ।

किताबमा ओशोको ठेगाना उल्लेख गरिएको थियो । भोलिपल्टै मैले आफ्ना केही जिज्ञासाहरु उल्लेख गरेर उक्त ठेगानामा पत्र पठाएँ । ओशोले मेरो पत्रको जवाफ दिनुभयो । उहाँकै हस्ताक्षरमा पत्र पढ्न पाएपछि मेरो उत्साह दुगुना भइहाल्यो ।

गुजरातमा ५ दिनको शिविरमा ओशोसँग मेरो पहिलोपटक प्रत्यक्ष भेटघाट भयो । त्यो भेट एकदम अविश्वसनीय किसिमले जुरेको थियो । गुजरातको शिविरमा म एक्लो नेपाली थिएँ । त्यहाँभित्र सबै गुजराती मात्र थिए । कुराकानी पनि गुजरनती भाषामै हुन्थे । सूचनाहरु पनि गुजरातीमै लेखिन्थ्यो । भाषाको समस्याले मेरो अन्य साधकहरुसँग खासै सम्वाद हुँदैनथ्यो ।

त्यहाँ ओशोसँग करिब १ घन्टा बिताएँ । त्यो मेरो जीवनको बहुमूल्य समय हो । मेरो थुप्रै जिज्ञासाहरु उहाँले हल गरिदिनुभयो । उहाँले मलाई सोध्नुभयो, ‘तिम्रो बढी रुची केमा छ ?’ मैले आफू भ्रमणको सोखिन रहेको बताएँ । साथै, पाइलट बनेर देश विदेश घुम्ने लक्ष्य रहेको पनि सुनाएँ । त्यो सुनेर उहाँले भन्नुभयो, ‘पाइलटले कहाँ देश–विदेश घुम्छ ? उसले त खाली एयरपोर्ट देख्ने हो । यदि तिमी मैले देखाएको बाटो हिँड्यौ भने भविष्यमा देश विदेश घुम्नेछौ ।’

अनि उहाँले मलाई आफ्नो अभियान नेपालमा फैलाउन सहयोग गर्न आग्रह गर्नुभयो ।

पैसाको आश्वासन पनि दिनुभयो कि ?

अहँ, त्यतिबेला उहाँको आफ्नै अवस्था कमजोर थियो । दुईवटा कोठा भाडामा लिएर बस्नुभएको थियो । उहाँले पैसा दिनसक्ने स्थिति नै थिएन ।

ओशोको मार्गनिर्देशन पाएपछि म उत्साहित भएर तुरुन्तै नेपाल आइहालेँ । अनि, काठमाडौंको पुतलीसडकमा एउटा सानो बोर्ड लगाएर आश्रम खोलेँ । आश्रमको नाम उहाँले नै जुराइदिनुभएको थियो– रजनीश इन्फर्मेसन सेन्टर । मैले आफूसित भएको अलिअलि पैसाले ओशोको केही किताब किनेर आश्रममा राखेको थिएँ । साथै ओशोको प्रबचनका केही क्यासेटहरु थिए । तर, आश्रम चलेन । नेपालमा ओशोको बारेमा मानिसहरुलाई थाहै थिएन । त्यसैले कोही पनि आएनन् । त्यसपछि मैले ओशोको प्रचार गर्न अर्कै तरिका लगाएँ ।

कस्तो तरिका ?

आज न्यूरोडको पिपलबोटमा पुस्तक र पत्रिकाहरु बेच्ने गरको देख्नुहुन्छ नि, त्यो सिलसिला मैले नै सुरु गरेको हुँ । मैले पिपलबोटमुनि बसेर ओशोका किताबहरु बेच्न थालेँ । त्यतिबेला म सरकारी जागिर खान्थेँ । बेलुका ५ बजे अफिसबाट फर्केपछि पिपलबोटमा किताब बेच्न बस्थेँ ।

किताब बिक्थे त ?

अहँ बिकेनन् । बरु यसरी किताब बेच्दा प्रशासनको आँखा पर्‍यो । किताबका नामहरु पनि त्यस्तैखालका हुन्थे । ‘क्रान्ति’, ‘विद्रोह’, ‘समाजवाद’ जस्ता शब्दावली हुन्थे । यद्यपि, ती सबै आध्यात्मिक अर्थका थिए ।

एउटा इन्जिनियरले पिपलबोटमा बेलुका बेलुका आएर व्यवस्थाविरोधि किताबहरु बेच्दैछ भन्ने अफवाह प्रशासनको कानमा पुगेछ । अनि त सीआईडीहरुले निगरानी गर्न थाले । केही दिनमा प्रहरीले मलाई पक्राउ गरेर लगिहाल्यो । १५ दिनसम्म हिरासतमा राखियो । निकै टर्चर दिए ।

शारीरिक यातना पनि पाउनुभयो ?

शारीरिक यातनाबाट चाहिँ बचेँ । कस्तो भयो भने कराँते सिकेका एकजना हवल्दारले हरेक दिन बेलुकी जेलभित्र कैदीहरुको सामूहिक पिटाई गर्दा रहेछन् । म जेल बसेको पहिलो दिन उनी आए र सबैलाई लाइन लगाएर पालैपालो मुक्का हान्न थालेँ । जेलभित्र त सबै चोर डाँकाहरु न थिए ।

जब मेरो पिटिने पालो आयो, हवल्दारले मुड्की उज्याउन खोज्दा एक सिपाहीले च्याप्प हात समाए । ‘उहाँलाई नपिट्नुस, सरकारी इन्जिनियर हो । अरु अपराध होइन, किताब बेचेको मात्र हो’ भनेर सम्झाएपछि हवल्दार हच्किए । यसरी म पिटाईबाट बचेँ ।

त्यसपछि मलाई अञ्चलाधिसकहाँ लगियो । उनले ‘सरकारको तलव खाएर बम बनाउन सिकाउने किताब बेच्ने ?’ भन्दै थर्काए । मैले त्यस्तो होइन भन्दै सम्झाउन खोजेँ । त्यसपछि उनले आफ्नो सहायकलाई किताब सरसर्ती हेर्न लगाए । हेरिसकेर ती सहायकले पनि ‘यो त धार्मिक किताब रहेछ सर’ भनेपछि बल्ल अञ्चलाधिश नरम भए ।

मलाई छोड्न त तयार भए, तर किताब बेच्नलाई भने शर्त राखे । पञ्चायतकालमा कुनै पनि किताब अञ्चलाधीसलाई सेन्सर गराएपछि मात्रै बजारमा ल्याउन पाइन्थ्यो । त्यसैले मैले बेच्ने प्रत्येक किताब २–२ कपि अञ्चलाधीश कार्यालयमा बुझाउनुपर्ने र त्यसको सेन्सरपछि मात्रै बेच्न पाइने बताए । तर, मसित त एकदमै सीमित संख्यामा किताब थिए । जागिरबाट आएको पैसा बचाएर किन्ने न हो । त्यो पनि दुई दुई कपी दिएपछि मैले के बेच्ने ? मैले आफ्नो विवशता दर्शाएर धेरै विन्ती गर्दा पनि उनीहरुले नियम तोड्न नमिल्ने भन्दै अड्डी लिए ।

यहाँको जग्गा लालपूर्जामा ४३ रोपनी छ, तर चार किल्लामा चाहिँ ७५ रोपनी छ । हामीले त्यतिबेला २९ लाख रुपैयाँमा किनेका हौं । यो ७५ रोपनीकै मूल्य हो ।

अनि किताब बेच्न बन्द गर्नुभयो ?

हिरासतबाट छुटेपछि म ओशोलाई भेट्न गएँ । उहाँलाई सबै कुरा सुनाएँ । घरमा खोलेको इन्फर्मेसन सेन्टरमा पनि मान्छे नआएको र किताब बेच्न पनि गाह्रो भएको भनेपछि उहाँले मलाई भन्नुभयो, ‘यो काम सजिलो छैन, भविष्यमा अझै धेरै झण्झटहरु आउन सक्छन् । यदि त्यसको सामना गर्ने आँट छैन भने सबै छोडिदेऊ । आफ्नो जागिर गर र योग–साधना गरेर आरामको जीवन बिताउ । यदि समस्या फेस गर्ने आँट छ भने कठिनाईका लागि तयार होउ । अन्तिममा मीठो फल प्राप्त गर्नेछौ ।’

उहाँले त्यसो भनेपछि ममा फेरि उर्जा भरियो । जसरी पनि यो अभियानलाई निरन्तरता दिन्छु भनेर अठोट गरेँ । अनि, उधारोमा २० हजारको किताब लिएर नेपाल आएँ ।

फेरि पिपलबोटमा बसेर बेच्न थालेँ । यसपालि नयाँ आइडीया लगाएँ । किताब बेच्ने ठाउँमा मैले एउटा साइनबोर्ड बनाएर टाँगे, जसमा लेखेको थिएँ, ‘किताब किनेर लैजानुस, पढेर मन परेन भने एक हप्ताभित्र फिर्ता गर्नुस् ।’

यस्तो लेखेपछि बिस्तारै मानिसहरुको चासो बढ्यो । किताब बिक्री हुन थाल्यो ।

इन्जिनियर छोराले यसरी सडकमा बसेर किताब बेच्दा बुवाआमाले गुनासो गर्नुभएन ?

गुनासो त निकै गर्नुभयो । तिमीले हाम्रो परिवारको इज्जत माटोमा मिलायौ भन्नुहुन्थ्यो । आखिर उहाँहरु दुबैजना प्रतिष्ठित व्यक्तित्व हुनुहुन्थ्यो । बुवा मात्र होइन, आमाले पनि राजनीतिमा आफ्नो नाम बनाउनुभएको थियो ।

उहाँ २००८ सालमै निर्वाचित सांसद हुनुभएको हो । उहाँ तराईकै पहिलो महिला सांसद हुनुहुन्थ्यो । मैले पक्राउ पर्दा यदि बुवाआमाको नाम लिएको भए तुरुन्त छुट्न पनि सक्थेँ । तर, उहाँहरुको नाम खराब होला भन्ने सोचेर लिइनँ ।

ताहाचलको आश्रम पनि त्यतिबेलै खोल्नुभएको हो ?

मलाई ओशोले जहिले भेट्दा पनि काठमाडौंमा एउटा घर बनाउ भन्ने गर्नुहुन्थ्यो । तर, घर हाम्रो परिवारको प्राथमिकतामा थिएन । जब मैले गुरुलाई दीक्षाका लागि आग्रह गरेँ, उहाँले शर्त राख्नुभयो कि घर बनाएपछि मात्रै दिक्षा दिन्छु ।

त्यसपछि करै लाग्यो । ताहाचलमा सोल्टीको पछाडि हाम्रो एउटा टुक्रा जग्गा थियो । त्यसैमा मैले दुई बेडरुम र एउटा किचेनको एक तल्ले घर बनाएँ । गृहप्रवेश गरेकै भोलिपल्ट म ओशोलाई भेट्न गएँ । उहाँ खुशी हुनुभयो । अनि भन्नुभयो कि, अब तिम्रो घरमा नै आश्रम खोल ।

मैले भनेँ, गुरु यो त सम्भव छैन । एउटा रुममा बुवाआमा सुत्नुहुन्छ, अर्कोमा म सुत्छु । एउटा किचेन छ । कहाँ चलाउने आश्रम ?
उहाँले सोध्नुभयो, ‘तिम्रो कोठा कत्रो छ ?’ मैले १२ बाई १६ को भएको बताएँ । उहाँले भन्नुभयो, ‘त्यसोभए बेडलाई एउटा भित्तामा सार र बाँकी ठाउँ खाली गरँ । त्यही मानिसहरुलाई ध्यान गराउ ।

उहाँको निर्देशन मानेर मैले आफ्नै बेडरुमभित्र आश्रम सञ्चालन गरेँ । गुरुले सुझाएअनुसार ‘आशिष रजनीश ध्यान केन्द्र’ नामाकरण गरियो । यो आश्रम आजका मितिसम्म निरन्तर छ । सम्भवत यो संसारकै सबैभन्दा पुरानो ओशोको आश्रम हो । अहिले त तल्ला थपिएर घर ठूलो भइसक्यो ।

ओशो तपोवनचाहिँ कसरी स्थापना गर्नुभयो ?

सन् १९९० सालमा हामीले यो तपोवनको स्थापना गरेका हौं । त्यतिबेला एकजना जापानी सन्यासी आउनुभएको थियो । उहाँले जग्गा किन्न पैसा दिनुभयो । त्यतिबेलासम्म नेपालमा १० हजार सन्यासी भइसकेका थिए । सुरुमा हामीले बिनाछानाको कोठामा दुई वर्ष ध्यान कक्ष चलायौं । कुखुरा पालन गर्ने खोरमा १० बर्ष सुत्ने गथ्र्यौं । विस्तारै सहयोगी हातहरु आएर संरचना बन्दै गए ।

कति मूल्यमा किन्नुभएको थियो जग्गा ?

यहाँको जग्गा लालपूर्जामा ४३ रोपनी छ, तर चार किल्लामा चाहिँ ७५ रोपनी छ । हामीले त्यतिबेला २९ लाख रुपैयाँमा किनेका हौं । यो ७५ रोपनीकै मूल्य हो ।

लालपूर्जा र चार किल्लामा कसरी फरक पर्‍यो ?

त्योबेला मालपोत बढी तिर्नुपर्छ भनेर लालपूर्जामा जग्गा कम देखाउने प्रचलन थियो ।

लालपूर्जामा नदेखिएको ३२ रोपनीलाई त कानूनले मान्दैन होला नि ?

योचाहिँ हामीलाई सरकारले धार्मिक वनका रुपमा प्रयोग गर्न अनुमति दिएको छ । हामीले प्रत्येक १० वर्षमा यो अनुमति नवीकरण गर्नुपर्छ । दुईपटक नवीकरण भइसकेको छ । यसमा कुनै विवाद छैन ।

तपाईंहरुले सरकारी जग्गा हडपेको भनेर विवाद किन आयो त ?

हामीले एक इञ्च सरकारी जग्गा पनि हडपेका छैनौं । हाम्रो विरोधिहरुले चलाएको हल्ला हो ।

तपाईंहरुले सावर्जनिक जग्गामा संरचना बनाएको भनेर सरकारले खोसेको होइन र ?

कहाँ खोसेको छ ? एक इञ्च पनि खोसेको छैन । हाम्रो ४३ रोपनीभन्दा बाहिर कुनै संरचना भेटिए भत्काइदिए हुन्छ ।

सरकारले जग्गा खोसेको भनेर त मिडियाहरुमै आएको छ नि ?

एउटा पत्रिकाले लेखेको थियो । त्यत्ति हो । पछि त्यसले पनि खण्डन छापिसक्यो ।

भारतको पुना आश्रम र ओशो तपोवनको विवाद चाहिँ के हो ?

ओशोको हत्यापछि पुना आश्रम ओशोका विरोधीहरुको कब्जामा छ । जसले उहाँको हत्या गरे, उनीहरुले नै त्यो आश्रम चलाइरहेका छन् । त्यसले ओशोको सिद्धान्तलाई अनुशरण गरेको छैन । केवल व्यापारिक हिसाबले सञ्चालन गरिएको छ । हाम्रो उनीहरुसँग कुनै सम्वन्ध छैन ।

तर, पुना आश्रम पनि त ओशोकै नाममा चलाइएको छ नि ?

उनीहरुले मानिसहरुको आँखामा छारो हालिरहेका छन् । पुना आश्रममा भित्र गएर हेर्नुभयो भने ओशोको कुनै अवशेष बाँकी राखिएको छैन । उहाँहरुले तस्वीरहरु पनि सबै हटाउनुभएको छ । नाम पनि परिवर्तन गरेर ‘मेडिटेसन रिसोर्ट’ राख्नुभएको छ । त्यहाँ रक्सी खान पाइन्छ । स्वीमिङ पुल, साउना आदिको सुविधा छ । त्यो आश्रमभन्दा पनि एउटा फाइभ स्टार होटलजस्तो छ । त्यहाँको एउटा कोठाको रेट नै ६ हजार भारुबाट सुरु हुन्छ ।

तपाईंलाई त पुना आश्रममा जान प्रतिवन्ध छ होइन ?

मलाई मात्र होइन, ओशोबाट दीक्षित एक हजारजनालाई प्रतिवन्ध छ । ओशोका वास्तविक अनुयायीलाई उनीहरुले दुश्मनको व्यवहार गर्छन् ।

पुना आश्रमका अशोक भारतीसित तपाईंको पहिले त निकै घनिष्ठता थियो क्यारे । पछि कसरी दुश्मनी भयो ?

होइन । हाम्रो सामान्य सम्वन्ध थियो । घनिष्ठता कहिल्यै भएन ।

तपाईंले नै उहाँलाई नेपालमा शिविर चलाउन आमन्त्रण गर्नुभएको होइन ?

उहाँका चेलाहरुले हाम्रो तपोवनमा शिविर चलाउन अनुमति मागेका थिए । हामीले अनुमति दियौं । तर, शिविरका क्रममा उनीहरुको व्यवहार ठीक लागेन । अलि असामाजिक क्रियाकलाप देखाए । त्यसैले हामीले उहाँहरुलाई अब आइन्दा यहाँ शिविर नगर्नुस भनेका हौं । देशका अन्य भागमा उहाँले शिविर गरिरहनुभएको छ, हामीले रोकेका छैनौं ।

अशोक भारतीले नेपाल आउँदा तपाईंको कटू आलोचना गर्नुभयो । के कारणले तपाईंसित उहाँलाई त्यति रीस उठेको थियो ?
हामीबीच नराम्रो केही भएको छैन । हामीले आफ्नो आश्रममा प्रधानमन्त्रीलाई निम्त्याउँदा उहाँलाई ईष्र्या भएको हुनुपर्छ । उहाँले आफ्नो आश्रममा एउटा मन्त्री पनि बोलाउन सक्नुभएको छैन ।

तर, तपाईंले पहिल्यै सञ्चालनमा आइसकेको लुम्बिनीको आश्रम प्रधानमन्त्रीबाट उद्घाटन गराएर चाकडी गर्र्नै खोज्नुभएको त देखियो नि ?

यदि मैले प्रधानमन्त्रीलाई रिझाउनै खोजेको हो भने पनि के नराम्रो भयो ? उहाँ जनताको भोट पाएर त्यो स्थानमा पुग्नुभएको होइन र ? देशकै शीर्ष व्यक्तिलाई मैले आदर गर्दा के भयो ? के एउटा विदेशीले हाम्रो प्रधानमन्त्रीलाई होच्याउने गरी नानाथरी बोल्न मिल्छ ?

जहाँसम्म पहिले नै सञ्चालनमा आएको भन्ने सवाल छ, हो सामान्यरुपमा सञ्चालनमा आए पनि सबै पूर्णता पाएको थिएन । उद्घाटन गराउने त सबै कुरा पूर्ण भएपछि हो नि ।

प्रधानमन्त्रीलाई जुत्ता लगाएर आश्रम छिराएको भनेर पनि अशोक भारतीले खुब आलोचना गर्नुभएको छ ।

त्यो मिथ्या हो । लुम्बिनीको आश्रमभित्र जाँदा प्रमले जुत्ता बाहिरै फुकाल्नुभएको थियो । अन्य मन्त्री र उहाँका सुरक्षाकर्मीले पनि फुकालेका थिए । तर, अशोक भारतीहरुको झुण्डले दुष्प्रचार गरे । आनन्द अरुणले प्रधानमन्त्रीको जुत्ताको तलुवा चाट्यो भने । यस्तो तुच्छ शब्द एउटा आध्यात्मिक गुरुले कसरी प्रयोग गर्न सक्छ ।

तर, तपाईंले शक्तिकेन्द्रहरुसँग अनावश्यक निकटता राख्ने गरेको आरोप तपाईंलाई नेपालभित्रै पनि लाग्ने गरेको छ । यसमा के भन्नुहुन्छ ?

कसैसँग नजिक र टाढाको कुरा छैन । हो, मैले धेरै शीर्ष व्यक्तित्वहरुको साथ पाएको छ,त्यसमा आफूलाई भाग्यमानी ठान्छु ।

पञ्चायतकालमा राजाको संवाद सचिव रेणुलाल सिंह र रञ्जनलाल खनालले धेरै सहयोग गर्नुभयो । किशुनजीसँग मेरो राम्रो सम्वन्ध थियो । उहाँले नै यो आश्रमको शिलान्यास गर्नुभएको हो । उद्घाटन पनि प्रधानमन्त्रीले नै गर्नुभएको हो । सबै प्रधानमन्त्रीहरुसँग मेरो राम्रो छ । तर, उहाँहरुसितको सम्वन्धलाई कहिल्यै दुरुपयोग गरेको छैन ।

अहिले कोको नेताहरु आउनुहुन्छ आश्रममा ?

सबैजसो नेताहरु आउने गर्नुभएको छ । प्रचण्ड, बाबुराम पनि प्रधानमन्त्री भएका बखत यहाँ आउनुभएको छ । अघि प्रदिप गिरीलाई देखिहाल्नुभयो ।

उहाँहरु यहाँ आएर ध्यानमा पनि बस्नुहून्छ ?

उहाँहरुसित त्यस्तो फुर्सद कहाँ छ र ? उहाँहरु सँधै व्यस्त छौं भन्नुहुन्छ । म चाहिँ भन्छु, तपाईंहरु अस्तव्यस्त हुनुहुन्छ । यहाँ आएको बेला पुस्तकहरु पढ्नुहुन्छ । आश्रमको अवलोकन गर्नुहुन्छ ।

ओशोलाई मान्छेले विभिन्न रुपमा चिन्ने गर्छन् । कसले दार्शनिक भन्छन्, कसैले सेक्स गुरु पनि भन्छन् । तपाईंको व्याख्यामा उहाँ के हो ?

२५ सय वर्षअगाडि बुद्ध पनि सामान्य व्यक्ति हुनुहुन्थ्यो । पछि उहाँलाई भगवान मान्न थालियो । ओशो पनि भविष्यको बुद्ध हो । अहिले नै हामीले यस्तो भन्दा धेरै मान्छले नपत्याउलान् । तर, आजको ५० वर्षपछि बुद्ध जत्तिकै आदरणीय बन्नुहुनेछ ।

भनेपछि उहाँलाई भगवान नै मान्नुहुन्छ ?

‘गड’ नै त नभनौं । नेपालमा धेरै मान्छे नास्तिक छन्, तर बुद्धलाई आदर गर्छन् नि । ओशोलाई पनि नास्तिक, आस्तिक सबैले मान्नेछन् । त्यसैले हामीले भगवान भनेका छैनौं ।

तपाईंले ओशोको हत्या भएको भन्नुभयो, उहाँको त ‘हर्ट फेल’ बाट मृत्यू भएको होइन र ?

अहँ, हामी त्यो मान्दैनौं । ओशोको कसरी हत्या भएको थियो भनेर पुस्तक नै निस्किएको छ ।

कसरी भएको थियो त हत्या ?

अमेरिकामा जाँदा त्यहाँको सरकारले उहाँलाई मन्द विष खुवाएको थियो । त्यसैको असरले मृत्यू भएको हो । यो कुराको प्रमाणहरु प्रशस्त भेटिएका छन् ।

आज ओशोको वास्तविक उत्तराधिकारी तपाईं नै हो त ?

म आफूलाई उत्तराधिकारी ठान्दिनँ । तर, सबैभन्दा बढि काम नेपालमै भएको छ । नेपालमा विश्वमै सबैभन्दा धेरै एक सय ३ आश्रम छन् । यहाँ प्रत्येक वर्ष औसतमा ८० देशका व्यक्तिहरु आएर दिक्षा लिन्छन् । ९० हजार जनालाई त मैले नै दिक्षा दिइसकेको छु । हामीले नेपालबाहिर पनि १ सय आश्रमहरु स्थापना गरेका छौं । त्यसैले सबैभन्दा सक्रिय चाहिँ हामी नै हौं ।

तपाईहरुले यसरी विश्वव्यापी रुपमा आश्रम चलाउने आर्थिक स्रोत चाहिँ के हो ?

आर्थिक स्रोत स्थानीयस्तरमा नै जुटाउने हाम्रो नीति छ । ओशोको अवधारणा पनि यही नै हो । सबै आश्रमहरु आत्मनिर्भर रुपमा चलिरहेका छन् । माथिबाट ‘डोनेसन’ पठाउने प्रचलन छैन ।

स्थानीय स्तरमा चाहिँ कसरी जुट्छ त स्रोत ?

मुख्य त स्वदेशी र भक्तहरुबाट प्राप्त हुने स्वेच्छिक दान नै हो । कहिलेकाहीँ विदेशबाट आएकाहरुले खुशी भएर ४–५ हजार डलर पनि दिनुभएको छ ।

तपाईंहरुले ध्यान गराएको शुल्कचाहिँ लिनुहुन्न ?

हामीले शुल्क भनेर लिएका छैनौं । सबैले स्वेच्छिक रुपमा दान गर्ने मात्र हो ।

प्रवेश शुल्क एक सय ५०, खाना खाएको २ सय लिइन्छ भनेर मिडियामा आएको छ त ?

अहँ, त्यसरी शुल्क भनेर लिएकै छैनौं । हामीसँग ओशोका पुस्तकहरु छन् । निश्चित मुनाफा राखेर ती किताबहरु बेच्छौं । एक सय रुपैयाँको पुस्तक किन्नेलाई प्रवेश अनुमति दिने गरिएको छ ।

यहाँभित्रै हाउजिङको व्यवसाय पनि चलाइरहनुभएको आरोप पनि लागेको छ ? कोठाहरु महंगो मूल्यमा भाडामा लगाउने गर्नुभएको छ रे ?

त्यो सबै झूटा हो । यहाँ मान्छेहरु आउँछन्, ध्यान सिक्छन् । इच्छा लागेको दान गर्छन् । त्यति हो । दान पनि नलिए कसरी आश्रम चलाउने ?

विदेशीहरु धेरै कुन–कुन देशबाट आउँछन् ?

प्राय सबैतिरबाट आइरहेका छन् । अहिलेसम्मको रेकर्ड हेर्दा १ सय १० देशका मान्छे आइसके । खाली अफ्रिका र साउथ अमेरिकाकाबाट आएका छैनन् । युरोप र एसियाका धेरैजसो देशबाट आएका छन् ।

यहाँ आएर साधना गर्नेहरुले के प्राप्त गर्छन् ?

मुलतः जीवन जिउने कला सिक्छन् । ध्यान सिक्छन् । भेजिटेरियन बन्छन् । अहिले नेपालमा १५ प्रतिशत व्यक्तिलाई डिप्रेसन छ । २–३ लाख युवाहरु रेगुलर ड्रग्स खाइरहेका छन् । उनीहरुलाई ध्यान, योगबाट डिप्रेसन र एन्जाइटी तथा ड्रगबाट बाहिर निकाल्छौं हामी । चरम डिप्रेसन भएर घिस्रिँदै यहाँ आएकाहरु ७ दिनपछि नाच्दै फर्किएका छन् । धेरैले आफ्नो जीवन परिवर्तन गरेका छन् ।

सम्वन्धमा बस्ने, तर बिहे नगर्ने । हाम्रो समाजमा पनि लिभिङ टुगेदरको संस्कृति झाँगिदैछ ।

शारीरिक रोगब्याधी पनि निर्मूल गर्न सक्नुहुन्छ ?

हामी डाक्टर होइनौं, त्यसैले शारीरिक रोग निर्मूल पार्ने दावी हाम्रो छैन । तर ७० प्रतिशत रोग मनोवैज्ञानिक कारणले हुन्छ भन्ने विश्व स्वास्थ्य संगठनले नै पुष्टि गरेको छ । ३० प्रतिशत रोग मात्रै शारीरिक कारणले हुन्छन् । डिप्रेसन तथा ब्लड प्रेसरको समस्या ध्यानबाट समाधान हुन्छ । ब्याक्टेरियाबाट हुने रोगलाई त औषधि नै खानुपर्छ ।

रक्सी–चुरोटको लत पनि छुटाउन सक्नुहुन्छ ?

बिलकुल । यहाँ सात दिन ध्यान बस्दा अधिकांस व्यक्तिहरु रक्सी चुरोटको लतबाट बाहिर निस्कन्छन् । कसै–कसैलाई चाहिँ २१ दिनको कोर्स गर्नुपर्छ । अनि, यहाँ २१ दिनको कोर्स गरेर गएकाहरुमध्ये ९० प्रतिशत शाकाहारी बनेका छन् ।

तपाईंहरु जुन बाटोमा हिँडिरहनुभएको छ, यो कुनै धर्म हो कि केवल जीवनशैली मात्र मात्र ?

मूलतः यो ध्यानको क्रान्ति हो । यो पृथ्वीमा ३ सय धर्म छन्, उनीहरुको शाखा जोड्यो भने ३ हजार पुग्लान् । हामीलाई ३ हजार १ बन्नु छैन । त्यसैले हामीले यसलाई अभियानका रुपमा मात्र अघि बढाएका छौं । यहाँ जुन धर्मका मानिस पनि अटाउन सक्छन् । हिन्दूदेखि मुसलमान सबैले आएर ध्यान साधना गर्न सक्छन् ।

तपाईं आफैं चाहिँ कुन धर्म मान्नु हुन्छ ?

हाम्रो धर्म नै मनुष्यता हो ।

तपाईं हिन्दू हो कि होइन ?

हिन्दू धर्मलाई म अत्यन्तै आदर गर्छु । म जन्मेको नै यही धर्ममा हो । यसलाई सबैभन्दा वैज्ञानिक धर्म मान्छु । तर, त्यसको अर्थ म अर्को कुनै धर्मको विरोध गर्दिनँ ।

प्रष्ट भनिदिनुस न, तपाईं हिन्दू धर्मावलम्बी चाहिँ हो कि होइन ?

हो ।

कुन भगवानमा बढी आस्था राख्नुहुन्छ ?

हामी ध्यान साधनामा विश्वास राख्ने भएकाले सबैभन्दा बढी बुद्धमा आस्था छ ।

बुद्धलाई मान्ने हो भने बौद्ध धर्म किन अपनाउनुभएन ?

त्यस्तो क्लासिफिकेसनमा हामी जाँदैनौं । हामी कुनै पनि भगवानलाई परमात्मा मान्दैनौं । उहाँहरु सबै ज्ञानप्राप्त हो, तर परमात्मा होइन । पाप–पुण्यको हिसाब उहाँहरुले राख्ने उहाँहरु होइन । आफ्नो टाइममा उहाँहरु पनि ओशोजस्तै हुनुहुन्थ्यो । पाँच हजार वर्ष अगाडि कृष्णलाई कसले भगवान भन्थ्यो ? मानिस नै भनिन्थ्यो नि । अहिले भगवान हुनुभयो ।

त्यसैले हामी निश्चित धर्मको सीमाभित्र बाँधिएका छैनौं । हरेक सद्गुरुलाई हामी मान्छौं । वी आर ओपन फर अल ।

ओशो पनि जनमानसमा धेरै विवादित छन् । उहाँका धेरै सिद्धान्तहरुमा प्रश्न पनि उठ्ने गरेको छ…

मान्छे जति ‘इन्टलिजेन्ट’ र ‘जिनियस’ हुन्छ त्यति नै विवादित हुन्छ । ओशो यो शताब्दीमा सबैभन्दा ठूलो जिनियस हुनुहुन्छ । त्यसैले विवाद स्वाभाविक हो । विवाद गर्नेलाई आग्रह गर्छौंं कि उहाँलाई पढ्नुस् । ध्यानको अभ्यास गर्नुस् ।

ओशोका कतिपय सिद्धान्त अव्यहारिक पनि त छन् । जस्तो कि उहाँले पुरुष र महिलावीच विवाह नै आवश्यक छैन भन्नुभएको छ । यसलाई अनुशरण गर्न सम्भव छ ?

अहिले हेर्दा त सम्भव हुँदैन । तर, भविष्यमा विवाह भन्ने संस्था मासिने पक्का नै छ । अहिले पनि पश्चिमी जगतमा हेर्नुभयो भने ५० प्रतिशत विवाहको आयू ५ वर्ष मात्र हुन्छ । केही देशमा त बिहेकै टाइममा डिभोर्सका शर्तहरुमा पनि सही गर्नुपर्छ । डिभोर्स भएपछि छोराछोरी कसले पाल्ने, कुकुर कसले पाल्ने जस्ता कुराहरु बिहेकै बेलामा छिनोफानो गरिन्छन् । भनेपछि यो विवाह भन्ने संस्था कति कमजोर धरातलमा टेकिएको छ भन्ने बुझ्न सकिन्छ ।

भविष्यमा पाश्चात्य जगत हुँदै पूर्वीय जगतमा पनि विवाह गर्ने परिपाटी अन्त्य हुनेछ । अस्ति तपाईंकै अनलाइनमा पढेको थिएँ । बेलायती मोडलले एलिजावेथ हुडले २ सय जना व्वाइफ्रेन्ड फेरेपछि आफ्नो पाल्तु कुकुरसित बिहे गरिछन् ।

महिला र पुरुषबीच बिहे नै भएन भने कसरी चल्छ त संसार ?

चल्छ, किन चल्दैन ? नयाँ संस्कृति आएको छ नि ‘लिभिङ टुगेदर’को । सम्वन्धमा बस्ने, तर बिहे नगर्ने । हाम्रो समाजमा पनि लिभिङ टुगेदरको संस्कृति झाँगिदैछ ।

यही संस्कृति ठीक हो त तपाईंको विचारमा ?

हो, यो बढी ‘साइन्टिफिक’ हुन्छ । भविष्यको समाज यही हुन्छ । नेपालमा अहिलेभन्दा मान्छेहरुलाई पचाउन गाह्रो होला ।

तपाईंका पाठकहरुले मलाई गाली गर्न पनि सक्छन् । तर, अबको २५ वर्षपछि नेपाल पनि लिभिङ टुगेदरमा नै जाने हो ।

आजभन्दा ५० वर्ष अगाडि अमेरिकामा पनि बिहे यति सस्तो थिएन । अहिले त त्यहाँ खेलाँची भइसक्यो । ओशोले त्यो देखेर नै लिभिङ टुगेदरमा जोड दिनुभएको हो ।

ओशोले त ‘ओपन सेक्स’ कै वकालत गर्नुभएको छ, होइन ?

होइन । गलत बुझे मान्छेले । उहाँले सेक्सलाई दुई बालिग व्यक्तिहरुबीचको निजी मामला भन्नुभएको छ । हालै भारतको सर्वोच्च अदालतले फैसला गर्‍यो कि बिहे गर्दैमा श्रीमतीको शरीरमा श्रीमानको अधिकार स्थापित हुँदैन । उनले चाहेमा परपुरुषसँग सम्वन्ध राख्न सक्छिन् । श्रीमानले चाह्यो भने उनलाई डिभोर्स दिन सक्छ, तर, बाहिर सम्वन्ध राख्नबाट रोक्न सक्दैन । नेपालमा पनि भोलि यही कानून आउने हो ।

त्यसोभए तपाईंहरुको सिद्धान्तअनुसार पनि यौनसम्वन्ध श्रीमान र श्रीमती मात्र सिमित हुनुपर्छ भन्ने छैन ?

हो, आफ्नो शरीरमाथि अर्को व्यक्तिको अधिकार हुँदैन । न श्रीमतीको शरीरमा श्रीमानको अधिकार हुन्छ, न श्रीमानको शरीरमा श्रीमतीको । अधिकार जमाउन थाल्यो भने त लालपूर्जावाला जग्गा जस्तो भइहाल्यो नि ।

तपाईंहरुको कम्युनभित्र चाहिँ यौनको कस्तो अभ्यास छ ?

यहाँ विवाहित जोडी पनि छन् । अविवाहित जोडीहरु पनि बस्न सक्छन् । उनीहरुबीच सहमतिमा कुनै सम्वन्धमा हामी चासो दिँदैनौं ।

भनेपछि आश्रमभित्र यौनसम्वन्धमा स्वच्छन्दताको अभ्यास छ ?

स्वतन्त्रता कहाँ छैन ? हाइवेको किनारामा जति स्वतत्रता देख्नुहुन्छ, त्यति त यहाँ छैन । यौनसम्वन्ध भनेको एउटा १८ वर्ष नाघिसकेको व्यक्तिको व्यक्तिगत निर्णय हो । त्यसमा हामी किन बोल्ने । खालि दुई जनाको सहमति आवश्यक हुन्छ ।

दुईजनाको उमेर पुगेको छ भन्दैमा त्यसभित्र केही ‘क्राइटेरिया’ पनि त चाहिएला । जस्तो कि हाडनाताभित्रको शारीरिक सम्वन्धका विषयमा तपाईंहरुको दृष्टिकोण के हो ?

हाडनाता सम्बन्धको त हामी महाविरोधी छौं । त्यो ‘अनहाइजेनिक’ हो । यसको बायोलोजिकल कारण छ । जिनेटिक कारण छ ।

गोत्रहरुको एउटै जिनेटिक हुन्छ । त्यसैले आफ्नो गोत्रमा बिहे गर्नु हुँदैन भन्ने सुन्नुभएको होला, होइन ? यदि श्रीमान र श्रीमतीको जिनमा उस्तै भयो भने बच्चा अपांग जन्मिन्छ । यो वैज्ञानिकरुपमा प्रमाणित कुरा हो । जिन जति टाढा भयो, त्यति नै प्रतिभाशाली बच्चा जन्मिन्छन् । त्यसैले हामी त अन्तरजातीय वा अन्तरदेशीय विहेलाई प्रोत्साहन गर्छौं । सकभर आफ्नो जातीमित्र मात्र होइन, आफ्नो देशभित्र पनि बिहे नगर्दा राम्रो ।

तपाईंले चाहिँ किन आफ्नै देशभित्र बिहे गर्नुभयो त ?

मेरो अन्तरदेशीय नभए पनि अन्तरजातीय हो ।

लिभिङ टुगेदरमा नबसेर किन बिहे नै गर्नुभएको ?

हामीले बाजा बजाएर बिहे गरेको होइन । मन्दिरमा सामान्य तवरबाट एउटा विधि गरेर सँगै बस्ने निर्णय गरेका हौं ।

सिन्दुरपोते पनि गर्नुभएन ?

त्यो त भयो । तर, पण्डित राखेर अग्नीलाई साक्षी राखेर फेरा लगाएको होइन ।

तपाईंले बहुबिवाह गरेको पनि चर्चा सुनिन्छ नि बाहिर, कति सत्य हो ?

मेरो पहिली श्रीमतीको मृत्यू भइसकेको छ । मृत्यू हुँदा मसित डिभोर्स भइसकेको थियो । पहिली श्रीमतीसँग डिभोर्सपछि दोस्रो बिहे गरेको हो । त्यो बिहे मेरो आमाबुवाले ‘फोर्सफुल्ली’ गराइदिनुभएको थियो । परम्परागत तवरले नै गरियो । दोस्रो विवाह आफ्नो रोजाइमा गरेको हो ।

तपाईंले आफ्नो पुनर्जन्मको पनि कुरा गर्ने गर्नुभएको छ । आज यसबारे अलि विस्तृतमा बताउन सक्नुहुन्छ ?

म सार्वजनिक रुपमा आफ्नो पूर्वजन्मको चर्चा गर्दिनँ । एकचोटि टीभीमा बोल्दा केही कुरा भनेको थिएँ, जुन आफ्नो किताबमा पनि लेखेको छु । त्यो बाहेक पूर्वजन्मको विषयमा मैले धेरै वर्णन गरेको छैन । मैले पूर्वजन्ममा बिहारको राजा थिएँ भनेको भनेर मिडियामा आयो । त्यस्तो मैले कतै भनेको छैन ।

पूर्वजन्ममा राजा थिएँ त भन्नुभएको छ नि एउटा भिडियो अन्तरवार्तामा ?

मैले राजपरिवारसँग सम्वन्धित थिएँ भनेको छु । कहाँको भनेर भनेको छैन । त्यो भन्न पनि मिल्दैन ।

किन नमिल्ने ?

किनभने मैले भनेँ भने यसमा प्रमाण खोजिन्छ । मानिसहरुले विभिन्न प्रश्न उठाउँछन् । यो प्रामाणिक र तार्किकरुपमा पुष्टि गर्न सकिने कुरा होइन । मैले ५० वर्ष साधना गरेर आफ्नो पूर्वजन्मको उत्खनन गरेको हुँ । यसलाई सार्वजनिक चर्चाको विषय बनाउनु नै छैन । जब मानिसहरुले विश्वास नै गर्दैनन् भने सुनाएर के हुन्छ ?

तर, तपाईंले बोलेको कुरा सत्प्रतिशत विश्वास गर्ने मानिसहरुको जमात पनि त ठूलो छ नि, उनीहरुकै लागि भनिदिनुस ।

छन् होला । मैले जे बोलेँ त्यसमा विश्वास गर्नेहरु लाखौं होलान् । तर, मैले उनीहरुको विश्वासको दुरुपयोग त गर्न भएन नि ।

तपाईंले झूटो गफ दिएको हो भने पो विश्वासको दुरुपयोग हुन्छ ?

संसारभरमा मैले बोलेको पूर्ण विश्वास गर्नेहरु ५ लाख जति होलान् रे । तर, संसारको जनसंख्या त ७ अर्ब ५० करोड छ । ५ लाख बाहेकको जनसंख्याले प्रश्न उठाउने छन् । प्रमाण माग्नेछन् । पूर्वजन्ममा जहाँ म जन्मेको हो, त्यो ठाउँमा पुगेको पनि छु । प्रमाणको कुरा गर्नुहुन्छ भने त मसित पूर्वजन्मको डेथ सर्टिफिकेट नै छ ।

हो र ? ज्यूँदो मान्छेले कसरी डेथ सर्टिफिकेट बनाउनुभयो ?

हो, प्रमाण पुर्‍याएरै बनाएँ । मेरो जुन ठाउँमा मृत्यु भयो, त्यहीँ बनाएको हुँ । तर, यसलाई मिडियामा प्रदर्शन गरेर हिँड्नुछैन मलाई । भोलि मेरा अनुयायीहरु पनि म पूर्वजन्ममा फलानो देशको राजा थिएँ, ढिस्कानो देशको राजा थिएँ भनेर घोषणा गर्ने प्रतिस्पर्धामा उत्रेलान् । पूर्वजन्मको बारेमा गफ गर्ने फेसनै चल्न सक्छ ।

अघिल्लो जन्ममा तपाईं जन्मेको चाहिँ भारतमा नै हो ?

ठाउँ भन्न मिल्दैन । तपाईंले धेरै जोड गर्नुभएकाले यति चाहिँ भन्छु कि अघिल्लो जन्ममा मेरो मृत्यु १९११ मा भएको थियो । मलाई त्यो याद छ । ५२ वर्षको उमेरमा मरेको हुँ म ।

ओशोले पनि आफ्नो पूर्वजन्मको विषयमा बताउनुभएको छ । त्यो म तपाईंलाई सुनाउन सक्छु । ओशोको जन्म आजभन्दा ७ सय वर्षपूर्व तिब्बतमा भएको थियो । त्यसबेला उहाँ एक बुद्धमार्गी गुरु हुनुहुन्थ्यो । उहाँका २० हजार शिष्य थिए । जसमध्ये म पनि एक थिएँ । तिब्बतको एउटा ग्रामीण क्षेत्रमा उहाँको आश्रम थियो ।

सन् १२३० मा एक सय ८ वर्षको उमेरमा उहाँको मृत्यू भएको थियो । त्यो जन्ममा पनि उहाँको हत्या नै भएको हो । ओशोको पूर्वजन्मको विषयमा लामा कर्मापाले पहिले बोल्नुभएको हो र त्यसलाई ओशोले पछि पुष्टि गर्नुभएको छ । उहाँको पूर्वजन्मको शरीर अहिले पनि सुरक्षित राखिएको छ तिब्बतमा ।

तपाईं अहिले पनि ओशोको प्रत्यक्ष दर्शन पाउँछु भन्ने गर्नुहुन्छ । मरिसकेको मान्छेलाई भौतिकरुपमै देख्छु भन्नु त अविश्वसनीय कुरा भएन ?

अरुलाई अविश्वसनीय लाग्छ । त्यसैले त म यस्तो विषयमा धेरै सार्वजनिकरुपमा चर्चा नै गर्दिनँ । तपाईंलाई यति मात्र भन्न सक्छु ओशोको प्रत्यक्ष निर्देशन पाइनँ भने म यो आश्रम सात दिन पनि चलाउन सक्दिनँ । मान्छेहरु यसलाई बन्द गराउन दिनरात लागिरहेका छन् नि । तैपनि कसैले हल्लाउन सकेको छ त ? के कारणले टिकिरहेको छ भन्दा ओशोका कारणले ।

प्रशंग बदलौं । केही समयदेखि इन्टरनेटमा तपाईंको एउटा तस्वीर विवादमा आइरहेको छ । एक महिलाले तपाईंको गोडा मालिस गरिरहेको देखिन्छ । यो तस्वीरको वास्तविकता के हो ?

म ऋषिकेश गएर आएको थिएँ । धेरै हिँडेकाले मेरो खुट्टा मर्केको थियो । एकजना मेरो अनुयायी नर्स हुनुहुन्छ । उहाँले खुट्टामा औषधि लगाइदिनुभएको थियो । म पत्रिका पढिरहेको थिएँ । त्यत्ति हो ।

ल, यदि मालिसै गरेको थियो भने पनि शिष्यले गुरुको गोडा मालिस गर्नु के अपराध हो ? बाबु–छोरीको, दाजु–बहिनीको जस्तै गुरु–शिष्यबीच पवित्र नाता हुन्छ । नकारात्मक सोच भएका मान्छेले हरेक चिजलाई नकारात्मक देख्छन् ।

फोटो चाहिँ कसले खिचेको हो ?

उहाँकै श्रीमानले फोटो खिच्नुभएछ । आफ्नो पत्नीले गुरुको सेवा गर्न पाएको क्षण उहाँलाई अविस्मरणीय लाग्यो होला । त्यो फोटोलाई आफ्नो घरमा पनि राख्नुभएको छ रे । पछि फेसबुकमा पनि हाल्नुभएछ । तर, अरुले त्यही फोटोलाई दुरुपयोग गरेर नानाथरी लेखे । उहाँकै श्रीमानलाई आपत्तिजनक लागेन भने अरुले किन छुद्र बुद्धि लगाउँछन् ? मलाई अचम्म लाग्छ । सज्जन व्यक्तिले यस्तो सोचाइ राख्नै सक्दैन ।

फोटो दुरुपयोग गरेको भनेर मुद्दा नै हाल्नुभएछ । त्यसमा के भइरहेको छ ?

मैले मुद्दा हालेको होइन । ती महिलाले नै फोटोलाई दुरुपयोग गरेर मानहानी गरियो भनेर हाल्नुभएको हो । आज पनि सुनवाई छ ।

ओशो तपोवनभित्र काम गर्नेहरुको व्यापक श्रम शोषण भइरहेको कुरा पनि बाहिर आएको छ । कति सत्य हो ?

यहाँभित्र ७७ जना स्थायीरुपमा बस्नुहुन्छ । तपाईं सबैलाई एक–एक गरेर सोध्न सक्नुहुन्छ । उहाँहरुलाई हामीले जागिर दिएको होइन । स्वैच्छिकरुपमा स्वयम्सेवी भावनाले बस्नुभएको हो ।

तर, मासिक दुई हजार रुपैयाँ दिएर बिहानदेखि रातिसम्म काम लगाइन्छ भन्ने सुनिएको छ नि ?

हामीले मासिक तलब भनेर २ हजार त के, एक रुपैयाँ पनि दिँदैनौं । तर, कसैलाई आवश्यक पर्‍यो, कोही बिरामी भयो भने पचास हजार पनि दिन्छौं । यो स्वयम्सेवीहरुको समर्पणले नै चलेको संस्था हो । ७७ जनालाई मासिक ५० हजार रुपैयाँ दिएर जागिर खुवाउने हाम्रो क्षमता छैन ।

अन्त्यमा अर्को एउटा फरक प्रसंग । तपाईंले तपस्वी रामबहादुर बम्जनको निकै प्रशंसा गरेर लेख लेख्नुभएको थियो । तर, अहिले उनी गम्भीर विवादहरुमा तानिएका छन् । यतिबेला उनीप्रति तपाईंको दृष्टिकोण के हो ?

मेरो दृष्टिकोण त त्यही छ, जुन पहिले थियो । उनी एक महान तपस्वी हुन् । नेपालमा राम्रो मान्छेलाई प्रोत्साहन र सम्मान गर्नेभन्दा पनि कताबाट उसको खुट्टा तान्न सकिन्छ भन्नेतिर लाग्छन् मानिसहरु । म उनलाई एक उच्च कोटीका साधक मान्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment