Comments Add Comment

भीमफेदीको हात्तीसार प्रदेश सरकार मातहत ल्याउन पहल

१ भदौ, हेटौंडा । प्रदेश ३ सरकारले मकवानपुरको हात्तीसार संग्रहालय आफू मातहत ल्याउन पहल सुरु गरेको छ ।

हाल राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको स्वामित्वमा रहेको ऐतिहासिक महत्व बोकेको हात्तीसार संग्रहालय प्रदेश सरकार अन्तर्गतको डिभिजन वन कार्यालय मातहत ल्याउन पहल गरिएको हो ।

मकवानपुरको भीमफेदी गाउँपालिका ६ स्थित हात्तीसार परिसरमा आइतबार बसेको सर्वपक्षीय भेलाले संग्रहालयको संरक्षण तथा व्यवस्थापनका लागि डिभिजन वन कार्यालयलाई हस्तान्तरण गर्न माग गर्ने निर्णय गरेको हो ।

प्रदेश ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय मार्फत केन्द्र सरकारको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलाई अनुरोध गर्ने निर्णय गरेको भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले बताए ।

संग्रहालयमा रहेका पुरातात्विक सामान तथा भौतिक वस्तुहरु खण्डहरमा परिणत हुँदै गइरहेकाले तत्काल संरक्षण गर्न अग्रसरता देखाउनुपरेको उनको भनाइ छ ।

हात्तीसारको संरक्षणका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा १ करोड रुपैयाँ विनियोजन गरेको छ । विनियोजित रकमले ३२ रोपनी जग्गामा फैलिएको हात्तीसार क्षेत्रमा कम्पाउण्ड, बाटो तथा हात्तीसारको भवन अगाडि २ वटा हात्तीको मूर्ति बनाउने गाउँपालिका अध्यक्ष लामाले बताए ।

हात्तीसार क्षेत्रको जमिन भने चितवन राष्ट्रिय निकुञ्जको मातहतमा रहेको छ ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले संघीय सरकारले निर्णय गरे हात्तीसार प्रदेश सरकार मातहात ल्याउन सकिने बताए ।

राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले हात्तीसारको संरक्षण र पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिने बताए ।

यस्तो छ ऐतिहासिक महत्व

तत्कालिन बेलायती महारानी एलिजावेथ द्वितीय र राणा प्रधानमन्त्री जंगबहादुर राणाले यस ठाउँमा शिकार खेलेको इतिहास छ ।

संग्रहालयमा बेलायती महारानी एलिजावेथ र जंगबहादुर राणालगायत राणा परिवारले प्रयोग गरेका हौदाहरु छन् । महारानी एलिजावेथले प्रयोग गरेका ४ वटा शिकारी हौदा र जंगबहादुरले प्रयोग गरेका पिँजडा हौदासहित हात्तीसार भवनभित्र ४२ वटा हौदाहरु रहेका छन् ।

हौदामा शिकार खेल्ने व्यक्तिले हात्तीमा राखेर प्रयोग गर्ने शिकारी हौदा, शिकारीको संरक्षणमा जाने भारदारी र खानपानको व्यवस्था गर्नेहरु बस्ने सुसारे हौदा रहेको छ ।

पूर्वराजपरिवारका सदस्यहरू चितवन, कोसी, शुक्लाफाँट र बर्दिया राष्ट्रिय निकुञ्जमा यहीँबाट हौदा लिएर श्किार खेल्न जाने गरेको स्थानीयको भनाइ छ ।

हात्तीसारमात्रै नभई त्यतिबेला तराईबाट काठमाडौं पुग्ने मुख्य बाटोसमेत यही थियो । त्रिभुवन राजपथ निर्माण हुनुभन्दा अघि भीमफेदी तराई जोड्ने सेतुको रुपमा परिचित थियो ।

राणाकालमा बेलायती राजा रानीलगायत विदेशी पाहुना हात्तीमा बसेर शिकार खेल्नको निम्ति पनि भीमफेदी नै आउँथे । विगतमा पैदल यात्रुहरुको निम्ति बास बस्न बनाइएका पाटीपौवा र नीजि भवनहरु अहिले जीर्ण छन् ।

हात्तीसारलाई पर्यटकीयस्थलमा परिणत गर्न तत्कालिन सांसद हिरण्यलाल श्रेष्ठले २०५९ जेठमा आधा दर्जन एक्युरियम राखेर आकर्षक बनाएका थिए ।

संरक्षणमा निरन्तरता नभएका कारण एक्युरियममा माकुराको जालो लागेको छ ।

सेवा सुविधा विना ११ वर्षदेखि हेरालु

स्थानीय भरतसिंह लामाले विगत ११ वर्षदेखि संग्रहालयको हेरालुको काम गर्दै आइरहेका छन् । लामालाई निकुञ्जले २०६५ सालदेखि हेरालुको जिम्मेवारी दिए पनि अहिलेसम्म सेवा सुविधा नपाएको उनले गुनासो गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment