Comments Add Comment

विमानस्थलमा बर्दीवाल प्रहरीमाथि पारश शाहको दादागिरी

प्रधानमन्त्रीले 'पत्याउँदिनँ' भनेकै दिन राजतन्त्रको पक्षमा नाराबाजी 

२ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसदमा सम्वोधन गर्नेक्रममा राजावादीहरुलाई बेमौसमको बाजा नबजाउन भनेका थिए । तर, प्रधानमन्त्रीले चिहानको हड्डी फुकेर राजसंस्था फर्कँदैन भनेकै दिन त्रिभुवन विमानस्थलभित्र एक राष्ट्रसेवक प्रहरीले पूर्वयुवराज पारश शाहबाट धक्का र अपमान व्यहोर्नुपर्‍यो ।

पूर्वयुवराज पारस शाहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षार्थ खटिएका एक प्रहरीलाई सार्वजनिकस्थलमै दुर्व्यवहार गरेका हुन् । उनले बर्दीमा रहेका प्रहरी नायब निरीक्षकलाई छातीमा धक्का दिएर विमानस्थलको सुरक्षा व्यवस्थालाई गिज्याएका छन् ।

पारसले विमानस्थलभित्र छिर्ने क्रममा वायाँ हातले प्रहरीलाई धकेलेका थिए । उनको धक्कापछि प्रहरी दुई कदम पछाडि हुत्तिए । प्रहरीलाई धलेकेपछि पारस रातो कार्पेट टेक्दै अगाडि बढे । उनले अलिकति अगाडि बढेर प्रहरीतर्फ फर्केर हेरे । र, फेरि जंगिँदै फर्किए ।

प्रहरीलाई दोस्रोचोटि झम्टँदा छोरा हृदयेन्द्रले आफ्ना पितालाई हातमा समातेर रोक्ने प्रयास गरे । त्यसपछि उनी वीचैबाट फर्केर चोर औंला देखाउँदै विमानस्थलको दोस्रो गेटतर्फ लागे ।

आमा कोमल शाहलाई बैंककका लागि विदाई गर्न पारस आइतबार सपरिवार विमानस्थल पुगेका थिए । पारससँगै छोरा हृदयेन्द्र, बहिनी प्रेरणा र भान्जा पार्थक सिंह पनि विमानस्थल गएका थिए ।

यो पनि पढ्नुस्–सुरक्षाविद भन्छन्- विमानस्थलमा नाराबाजी गर्नु सामन्ती संस्कार हो

पूर्वराजपरिवारका सदस्यहरु विमानस्थल पुग्दा ज्ञानेन्द्र र कोमलको तस्वीर अंकित टि-शर्ट लगाएका युवाले विमानस्थल परिसरमै राजतन्त्रको पक्षमा नारा घन्काएका थिए ।  प्रहरीले पूर्वराजपरिवारका सदस्यलाई नारा लगाउने व्यक्ति ठानेर भित्र जानेबेलामा रोक्न खोज्दा पारसले बर्दीवाल प्रहरीलाई छातीमा धकेलेका हुन् ।

विमानस्थलमा पूर्वराजपरिवारका तर्फबाट नाराबाजीका लागि भीड जम्मा पारिएकाले विमानस्थल प्रवेश गर्ने मुख्य गेटमा को पूर्वराजपरिवारको सदस्य हो र को नारा लगाउन आएको कार्यकर्ता हो भनेर छुट्याउन प्रहरीलाई गाह्रो थियो ।

गेटमा उभिएका प्रहरीले एक/एकजनालाई पालैपालो भित्र छिराइरहेका थिए । पारसले पनि आफ्नो परिवारका सदस्यलाई हातले तान्दै भित्र छिराइरहेका थिए । आमा कोमल, बहिनी प्रेरणा, छोरा हृदयेन्द्र र भाञ्जा पार्थव छिरिसकेपछि पारसले प्रहरीलाई हुत्याउँदै अगाडि बढेको दृश्य भिडियोमा देखिन्छ ।

(फुटेज स्रोत- साइनिङ नेपाल/युथ एरोमा)

प्रहरीको छातीमा धकेलिसकेपछि पुनः फर्किएर झम्टन खोजेको दृश्यले राजतन्त्रकालीन गुण्डागर्दीको झल्को दिएको छ । पूर्वयुवराज पारस राजतन्त्रकालमा यस्तै हर्कतका कारण बेला-बेलामा विवादमा आउने गरेका थिए । अहिले पनि उनले आफूलाई कानूनभन्दा माथि नै सम्भिmएको आइतबारको उनको व्यवहारले देखाएको छ ।

प्रधानमन्त्री ओलीको चेतावनी

भीआइपी कक्षको प्रयोग गर्न पाउने व्यक्तिबाटै विमानस्थलको ड्युटीमा खटिएका प्रहरीमाथि भएको हातपात सामान्य घटना होइन । यस्तो कार्य गर्ने पारशलाई अब गणतान्त्रिक सरकारले कस्तो कारवाही अगाडि बढाउला ? यो हेर्न बाँकी छ ।

तर, प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार नै संसदमा सम्वोधन गर्ने क्रममा भनेका छन्, ‘सरकारको संयमलाई हेरेर केही तत्वहरु बढ्तै हौसिएको देखिन्छ ।’

प्रधानमन्त्रीले संसदबाट राजावादीहरुलाई चेतावनी दिँदै भनेका छन्, ‘ती शक्तिहरु ज्युँदै हुँदा तिनलाई हामीले ठेगान लगाएका हौं । अहिले चिहानमा गएर हड्डी फुकेर त्यो संस्था फर्काउँछु भन्नेखालका पनि परिकल्पना गरेर उफ्रेको  देखिन्छ । यो बेमौसमको बाजा नबजाए हुन्थ्यो ।’

तर, प्रधानमन्त्रीले यसो भनेकै दिन अन्तरराष्ट्रिय विमानस्थलभित्रै पसेर राजतन्त्रको पक्षमा नारा लगाउन सरकारले कसरी छुट दियो ? जबकि प्रधानमन्त्रीले संसदबाट भनेका थिए, ‘सरकारको आलोचनाका नाममा प्रणाली उल्टाउँछु भन्ने, प्रतिगमन गर्छु भन्ने, संविधान अस्वीकार गर्छु भन्ने कुराहरु अहिलेको सरकारलाई मान्य हुन सक्दैन ।’

संविधानसम्मत ढंगले चल्ने कुरामा, संवैधानिक दायराभित्र चल्ने कुरामा सरकारले अत्यन्त प्रशन्नतापूर्वक विरोध र आलोचनाको स्वागत गर्ने बताउँदै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘म खुलस्त भन्न चाहन्छु, संविधान, लोकतन्त्र, गणतन्त्र, संघीयता, जनताको शासनविरोधी क्रियाकलापहरु सरकारको उदारता र सहिष्णुताबाट त्यस्ता क्रियाकलापहरु सञ्चालन गर्ने तत्वहरु नहौसिए हुने हो । …सरकारले यो उदारता देखाएको नपत्याएर हो भन्ने कुरा म बताइदिन्छु । नपत्याएर हो । पत्याएका दिन संविधानको, व्यवस्थाको, प्रणालीको, लोकतन्त्रको, गणतन्त्रको रक्षाका लागि सरकार मैदानमा उत्रिन्छ ।’

विमानस्थलमा हटेन सामन्ती प्रचलन

त्यसो त विमानस्थलमा नेताहरु जाँदा समर्थकहरुको भीड जम्मा पार्ने सामन्ती प्रचलन गणतन्त्रमा पनि जारी छ ।

विमानस्थभित्र भीड जम्मा पारेर होहल्ला गर्ने कार्यमा राजपरिवारका सदस्य मात्रै दोषी छैनन्, आफूलाई गणतन्त्रको अगुवा ठान्ने नेताहरु पनि विमानस्थलमा आवत-जावत गर्दा महंगो पुष्पगुच्छा बोकेर  लर्को लगाउने चलन गणतन्त्रमा पनि हट्न सकेको छैन ।

कोमलको विदाइका लागि परिवारका सदस्यहरु विमानस्थल जानु स्वाभाविकै हो । तर, त्यहाँ  ज्ञानेन्द्र- कोमलको तस्वीर अंकित टि-शर्ट लगाएका नाराबाजी गर्ने समर्थकहरुलाई समेत सहज रुपमा प्रवेश दिइयो । उनीहरु अन्तरराष्ट्रिय विमानस्थलको प्रस्थान कक्ष अगाडि नै पुगेर राजतन्त्रको नारा लगाउन र गणतन्त्रलाई गाली गर्न सफल भए ।आइतबार त्यही सामन्तकालीन बेथिति कोमल शाहको बैंकक भ्रमणमा दाहोरिएको हो । बैंककमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न जाने क्रममा कोमल शाह जुलुसका साथ विमानस्थल पुगेकी थिइन् ।

यतिसम्मको भद्रगोल त थियो, नै तर ड्युटीमा रहेका एक प्रहरीले आफ्नो कर्तव्य निर्वाह गर्न खोज्दा गुण्डागर्दीको शैलीमा पारश शाहबाट जसरी हातपात भयो, यो दृश्यले देशमा अझै पनि कोही मानिस कानूनभन्दा माथि नै रहेछन् भन्ने देखाएको छ ।

पारसका समर्थकले गरे रवि लामिछानेको वकालत

विमानस्थलमा राजतन्त्रको पक्षमा नारा लगाउँदै पुगेका टी-शर्टधारीहरुले चितवनमा न्यायिक हिरासतमा रहेका रवि लामिछानेको पक्षमा पनि वकालत गरे । वर्तमान सरकारले लामिछानेलाई फसाउन खोजेको भन्दै उनीहरुले सरकारलाई गाली गरे ।

त्यसो त चितवनमा रवि लामिछानेको पक्षमा भइरहेको प्रदर्शनमा समेत राजावादीहरुको सक्रियता रहेको भरतपुरका कतिपय स्थानीयवासीको भनाइ छ । पुडासैनी आत्महत्या प्रहरणमा प्रहरीले गरिरहेको अनुसन्धानलाई प्रभावित बनाएर सोही बाहनामा सडक तताउने र सरकारविरुद्ध वातावरण तयार पार्ने योजनामा राजावादी तत्वहरु लागि परेको नेकपाका  स्थानीय नेताहरु बताउँछन् ।

स्थानीयले गरेको यही आशंकालाई मलजल पुग्ने गरी आइतबार विमानस्थलमा भेला भएका पारस शाहका समर्थकहरुले रवि लामिछाने आफूहरुको ढुकढुकी भएको बताए ।

यसैवीच चितवनमा आइतबार नेकपा र कांग्रेसका नेतासमेतको सहभागितामा बसेको सर्वपक्षीय बैठकले पुडासैनी आत्महत्या प्रकरणमा भइरहेको प्रदर्शनलाई निरुत्साहित पार्ने र घटनाको निश्पक्ष अनुसन्धानमा प्रशासनलाई सहयोग गर्ने निर्णय गरेको छ ।

यो पनि पढ्नुहोस रवि लामिछाने गिरफ्तारी प्रकरणमा जारी प्रदर्शनलाई निरुत्साहित पार्न कांग्रेस र नेकपा एकमत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment