+
+
Shares

आफ्नो सन्तानको पहिलो फिल्म निर्देशन गर्ने बलिउडका बुवाहरु

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ २ गते १७:१८

आगामी सेप्टेम्बर महिनामा प्रदर्शन हुने फिल्म ‘पल पल दिल के पास’ मार्फत अभिनेता धर्मेन्द्रको तेस्रो पुस्ता फिल्मी पर्दामा डेब्यू गर्दैछन् । प्रसंग हो, अभिनेता सनी देओलका छोरा करण देओलको । रमाइलो कुरा के छ भने उक्त फिल्मको निर्देशक करणकै बुवा सुनी देओल आफैंले गरेका हुन् ।

बलिउडमा आफ्ना सन्तानलाई सही तरिकाले स्थापित गराउनका लागि थुप्रै फिल्मकर्मीहरुले यसअघि पनि यो यात्रा चुनिसकेका छन् । हामी यहाँ बलिउडका केही बुवाहरुको बारेमा चर्चा गर्दैछौं, जसले आफ्ना सन्तानको अभिनय करियरको थालनी उत्कृष्ट बनाउनका लागि कुनै कमी गरेका छैनन् ।

सनी देओल

अभिनेता सनी देओलले आफ्ना छोरा करण देओललाई फिल्ममा डेब्यू गराउनका लागि कुनै अर्कै निर्देश्ँकमाथि भरोसा गर्न चाहेनन् । त्यसैले उनको पहिलो फिल्मको बागडोर सनी स्वयंले सम्हाले । त्यसो त सनीले यसअघि पनि दिल्लगी तथा घायल वन्स अगेन जस्ता फिल्महरु निर्देश्ान गरिसकेका छन् ।

राकेश रोशन

बलिउडका वर्तमान ठूला स्टारहरु मध्ये एक हुन् अभिनेता ऋतिक रोशन । ऋतिकलाई उनका बुवा राकेश रोशनले बलिउडमा डेब्यू गराएका थिए । आफैं अभिनेता रहिसकेका राकेश रोशनले निर्दशकको रुपमा समेत आफूलाई स्थापित गराइसकेका छन् ।

ऋतिकलाई उनले आफ्नै निर्देशनको फिल्म ‘कहो ना प्यार है’ बाट डेब्यू गराएका हुन् । उक्त फिल्म ब्लक बस्टर रहेको थियो । त्यसो त त्यसपछि ऋतिक रोशनको करियर त्यति गतिमा अघि बढ्न सकेन । बुवा रोशनले उनलाई पुनः दोस्रो पटक ‘कोई मिल गया’ जस्तो फिल्ममार्फत उनको करियरलाई अघि मात्र बढाइदिएनन्, गति समेत प्रदान गरिदिए ।

फिरोज खान

निर्माता तथा निर्देशकको रुपमा आफ्नो पहिचान बनाइसकेका अभिनेता हुन् फिरोज खान । फिरोज खानले आफ्ना छोरा फरदीन खानलाई डेब्यू गर्ने जिम्मेवारी आफैंले लिएका थिए । सन् १९९८ मा प्रदर्शन भएको फरदीनको पहिलो फिल्म ‘प्रेम अगन’ व्यवसायिक रुपमा असफल भएको थियो । फरदीनलाई हिट कलाकार बनाउने फिरोज खानको सपना पुरा हुन सकेन । फिरोजले कालान्तरमा फरदीनका लागि ‘जानशीं’ शीर्षकको फिल्म पनि बनाए, तर उक्त फिल्मले पनि उनका छोराको अभिनय करियरलाई डुब्नबाट जोगाउन सकेन ।

राज कपूर

बलिउडका वास्तविक शो म्यान राज कपूरले आफ्नो माहिला छोरा ऋषि कपूरलाई बलिउडमा डेब्यू गराउनका लागि सन् १९९७३ मा ‘बबी’ शीर्षकको फिल्म बनाएका थिए ।

उक्त फिल्म बक्स अफिसमा अत्यन्त सफल रह्यो । त्यही फिल्मको सफलतासँगै कालान्तरमा गएर ऋषि कपूर ठूला स्टार बने । राज कपूरको तीन जना छोराहरुमा ऋषि कपूर मात्रै सबैभन्दा सफल मानिए । त्यसो त राज कपूरले आफ्ना जेठा छोरा रणधीर तथा कान्छा छोरा राजीव कपूरका डेब्यू फिल्महरु निर्देशन गरेका थिएनन्, तर उनीहरुको करियरलाई अघि बढाउन भने प्रसस्त योगदान दिएका थिए ।

रणधीरको पहिलो फिल्म ‘कल आज और कल’ का निर्माता राज कपूर नै थिए, जसको निर्देश्ँन स्वयं रणधीर कपूरले नै गरेका थिए । राजीव कपूरको सबैभन्दा चर्चित फिल्म ‘राम तेरी गंगा मैली’ को निर्देशन पनि राज कपूरले नै गरेका थिए ।

सुनील दत्त

चर्चित अभिनेता तथा फिल्मकर्मी सुनील दत्तले आफ्ना एक्ला छोरा सञ्जय दत्तलाई फिल्म ‘रकी’ मार्फत बलिउडमा डेब्यू गराएका थिए । सुनील दत्तको निर्देश्ँनमा बनेको उक्त फिल्म सफल भएको थियो । त्यसो त सफल डेब्यू भएपनि सञ्जयका अघिल्ला फिल्महरु भने खासै चलेनन् । उनको करियर नै लडखडाउन थाल्यो । सुनील दत्तको रेपुटेसनकै कारण बम्बे बम ब्लाष्ट काण्डमा फसेपछि पनि सञ्जय दत्तले फिल्महरु पाइरहे र उनको नाम सफल अभिनेताहरुको सूचीमा दर्ता भयो ।

महेश भट्ट

निर्देशक महेश भट्टले सन् १९८९ मा आफ्नी जेठी छोरी पूजा भट्टको करियरको सफल थालनी गराएका थिए फिल्म ‘ड्याडी’ मार्फत । ९० को दशककी सफल अभिनेत्रीहरुमध्येकी एक पूजाको करियरको अर्को एउटा ठूलो हिट फिल्म थियो सडक, यसलाई पनि उनकै बुवाले निर्देशन गरेका थिए ।

अभिनयबाट टाढा गैसकेकी पूजा उनकै बुवाको आगामी फिल्म ‘सडक-२’ एक सदस्य हुन् । महेश भट्टले आफ्ना छोरा राहुल भट्टलाई पनि सन् २००७ मा डेब्यू गराउन चाहेका थिए, तर २००८ को मुम्बई हमलाका मास्टर माइण्ड रिचर्ड हेडलीसँग उनको नाम जोडिएपछि राहुलको अभिनय करियर सुरु नै हुन पाएन ।

देव आनन्द

बलिउडका सदावहार अभिनेता देव आनन्दले लामो समयसम्म बलिउडका फिल्ममा मुख्य अभिनेताको रुपमा अभिनय गरिरहे । कालान्तरमा उनले निर्देश्ँकको रुपमा पनि काम गरे । खासगरी उनी नयाँ कलाकारहरुलाई डेब्यू गराउँदथे । उनले आफ्ना छोरा सुनील आनन्दलाई पनि डेब्यू गराए । सुनील आनन्दको पहिलो फिल्म ‘आनन्द और आनन्द’ को निर्देशन देव आनन्दले नै गरेका थिए ।

अमोल गुप्ते

लेखक, अभिनेता तथा निर्देशकको रुपमा काम गरिसकेका अमोल गुप्तेलाई पनि ती बुवाहरुको सूचीमा राख्न सकिन्छ, जसले आफ्ना छोराहरुलाई बलिउडमा डेब्यू गराए । अमोलको निर्देशनमा सन् २०११ मा बनेको ‘स्टेन्लीका डब्बा’ मा उनका छोरा पार्थो गुप्ताको पहिलो फिल्म थियो ।

अब्बास बर्मावाला

एक्सन-थि्रलर फिल्महरु निर्देशन गर्ने दाजु-भाइको जोडी अब्बास-मस्तानको पछिल्लो फिल्म थियो-मशीन । मुस्तफा बर्मावाला तथा कियारा आडवाणीको मुख्य भूमिका रहेको उक्त फिल्ममार्फत अब्बास बर्मावालाका छोरा मुस्तफाले बलिउडमा डेब्यू गरेका थिए । त्यसो त अक्षय कुमार (खिलाडी), शाहरुख खान -बाजीगर), बबी देओल -सोल्जर), अक्षय खन्ना -हमराज) तथा कपिल शर्मा -किस किस को प्यार करुँ) लाई बलिउडमा स्थापित गराउने उक्त जोडीले मुस्तफाका लागि भने त्यस्तो चमत्कार गर्न सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?