Comments Add Comment

उदयपुरको तराई क्षेत्रमा पनि डेंगु फैलियो

२ भदौ, उदयपुर । जिल्लाको तराई क्षेत्रका भूभागमा केही दिनदेखि डेंगु फैलन थालेको छ । केही हप्तायता आएर जिल्लाको पूर्वी क्षेत्रको बेलका चौदण्डीगढी, त्रियुगा नगरपालिकासहित जिल्लाको पश्चिमी क्षेत्रको कटारी क्षेत्रमा समेत डेंगु फैलन थालेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय, उदयपुरका अनुसार अहिले सबैभन्दा बढी डेंगु कटारी क्षेत्रमा फैलन थालेको र त्यसपछि क्रमशः त्रियुगा नगरपालिकाको गाईघाट र चौदण्डीको बेल्टार बसाहा तथा बेलकाको रामपुर ठोक्सिला क्षेत्रमा फैलन थालेको हो । डेढ महीना अघि कटारीमा दुईजना र चौदण्डीको बेल्टारस्थित बिपी चोकमा एकजनामा देखा परेको डेंगु विस्तारै फैलँदै जान थालेपछि अहिले कटारी, त्रियुगा, चौदण्डी र बेलका क्षेत्रमा गरेर झण्डै डेढ दर्जनमा डेंगु रोग फेला परेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख रमेश खकुरेलले बताए ।

पोथी लामखुट्टेको टोकाइबाट सर्ने यो रोग लाग्न थालेपछि बिरामीमा ज्वरो आउने, शरीरमा दादुराजस्ता स–साना फोका देखा पर्ने, लिभर फुलिने, पेटमा पानी जम्ने, गिजाबाट रगत आउने र शरीर दुख्नेजस्ता लक्षण देखा पर्ने गरेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले बताएको छ । यसरी डेंगुबाट बिरामी परेकामध्ये केहीलाई जिल्लामा नै उपचार भइरहेको र केही बिरामी जिल्ला बाहिर सुनसरीको धरान तथा १ नम्बर प्रदेशको विराटनगरका अस्पतालमा उपचार भइरहेकोसमेत स्वास्थ्य कार्यालय उदयपुरले बताएको छ ।

डेंगु फैलन थालेपछि यसको जानकारी प्रदेश सरकार र प्रदेश स्वास्थ्य मन्त्रालयमा जानकारी गराइएको र यसको नियन्त्रणको विषयमा समेत छलफल सुरु गरिएको स्वास्थ्य कार्यालय उदयपुरले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment