Comments Add Comment

आत्मघाती हमलाबाट बाँचेका बेहुला भन्छन् : मेरा सबै आशा टुटे

'बेहुली अझै बेहोस भइरहन्छिन्'

२ भदौ, काठमाडौं । विवाह समारोह धेरैका लागि जीवनको महत्वपूर्ण उत्सव हो । विवाहमार्फत दुई परिवारका केटा र केटी आपसमा नयाँ सम्बन्धमा जोडिन्छन्, जसलाई धेरै समुदायमा ठूलो उत्सवको रुपमा मनाइन्छ ।

अफगानिस्तानमा केही दिनअघि विवाह उत्सवमा आत्मघाती आक्रमण हुँदा बेहुला र बेहुलीका परिवारका सदस्यका साथै आफन्त र निम्तालुहरु मारिए ।

नयाँ विवाहिता जोडीको भने विवाहकै दिन सबै सपना टुट्न पुग्यो । आफ्नै विवाहको दिनलाई उत्सवको रुपमा होइन, कालो दिन बन्न पुग्यो ।

बेहुलाले आफ्ना भाइसहित धेरै आफन्त गुमाए भने बेहुलीले परिवारका १४ जना सदस्य गुमाउन पुगिन् ।

आत्मघाती हमलाबाट भाग्यले बाँचेका बेहुला हुन् मिरवाइज इल्मी । इल्मीले आफू भाग्यले बाँचे पनि उक्त घटना पश्चात आफ्नो सबै आशा मरेको बताए ।

इल्मीले भनेका छन्, ‘विवाहको दिन म निकै खुशी थिएँ र मलाई भेट्न धेरै नातेदार आएका थिए । विवाह हल भरिभराऊ थियो तर केही घण्टाभित्र लासको थुप्रो भयो ।’

‘मेरो परिवार र बेहुली अझै स्तब्ध छन्,’ उनले भने, ‘एक अर्कामा कुरा गर्न सक्ने अवस्थामा छैनन् । मेरी बेहुली छिनछिनमा बेहोस हुन्छिन्’ इल्मी भन्छन्, ‘मेरा सबै सपना टुट्यो । मैले भाइ गुमाएँ । मेरा साथीहरू र मेरा धेरै आफन्तहरू केही घण्टामै मरे । म फेरि कहिल्यै खुशी हुनेछैन ।’

उनले अगाडि थपे ‘अब मसँग कुनै हिम्मत छैन । म धेरै थकित छु । मलाई थाहा छ कि यो पीडा हामी अफगानिस्तानको लागि अन्तिम होइन । हामीले अझ बढी दुःख भोग्नुपर्‍यो ।’

इल्मीको वैवाहिक समारोहमा भएको हमलामा ६३ जनाको मृत्यु भएको थियो भने १८० जना घाइते भएका थिए । कट्टरपन्थी समूह इस्लामिक स्टेटले उक्त हमलाको जिम्मेवारी लिएको छ ।

अफगानिस्तानका राष्ट्रपति अशरफ घनीले घटनालाई ‘बर्बर’ आक्रमणको संज्ञा दिँदै तालिवानलाई ‘अतिवादलाई एउटा प्लेटफर्म दिएको’ आरोप लगाएका छन् ।

अमेरिकासँग शान्ति वार्ता गरिरहेको तालिबानले भने यस आक्रमणको आलोचना गरेको छ ।

बीबीसीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment