Comments Add Comment

आयुषकी आमाको अनुभव : छोराछोरीलाई कसरी प्रतिभाशाली बनाउने ?

आयुष केसी मेरो कान्छो सन्तान हुन् । उनीभन्दा ठूला दुई दिदी छन् । आज आयुश केसीलाई धेरैले चिन्छन् । फोटो खिचौं भन्छन् । बाटोमा हिँड्दा फर्केर हेर्छन् । हाँस्छन् । राति पनि उसको फोन आउँछ । आफ्नो गर्भबाट जन्माएको बच्चा यसरी सबैको प्यारो हुँदा हाम्रो मन गदगद् हुन्छ ।

अहिले १३ बर्ष पूरा भएर १४ मा टेकेको छ । यत्तिको उमेरमा पनि उनलाई बस्ने फुर्सद छैन । ऊ व्यस्त भइसकेको छ । कहिले कार्यक्रममा जानुपर्छ, कहिले गीत रेकर्ड गर्न । यसरी व्यस्त हुँदा उसले धेरैथरी मान्छे भेट्छ, धेरैथरी परिस्थितिहरु सामना गर्नुपर्छ । यसले पनि उसलाई धेरै कुरा सिकाउँछ । हुन त आयुष जान्ने बुझ्ने छन् । समझदार छन् । मान्छेहरुसँग हामीले भन्दा राम्ररी बोल्न सक्छन् ।

आयुषको नामबाट मलाई पनि धेरैले चिन्न थालेका छन् । उनकै कारणले सारेगमप लिटल च्याम्पमा पनि देखिन पाएँ । त्यसबेला चिनेजानेका, इष्टमित्रले खुसी व्यक्त गरेका थिए ‘तिमीलाई टीभीमा हेर्‍यौं’ भन्दै ।

हरेक आमाबुवालाई आफ्नो छोराछोरीको ख्यातीमा गर्व लाग्छ । हामी दशैंमा टीका लगाएर आर्शिवाद दिँदै भन्ने गर्छौं, ‘ठूलो मान्छे बन्नू, नामी बन्नू । सबैको प्यारो बन्नू ।’

यो पनि पढ्नुहोस ‘सारेगमप’मा हुँदा गुन्द्रुकको झोल सम्झिरहेँ

छोराछोरीको भविष्यको पिरलो

मेरो छोरा आयुषले हामीलाई खुसी दिएको छ । अब उसको भविष्यप्रति हामीले धेरै चिन्तित भइरहनुपर्ने अवस्था छैन । हरेक आमा-बुवालाई छोराछोरीको भविष्यकै बढी चिन्ता हुन्छ ।

छोराछोरीले गरी खान सक्छन् वा सक्दैनन्, राम्रो बाटोमा लाग्छन् वा लाग्दैनन् भनेर आमा-बुवा पिरोलिएका हुन्छन् । आयुषको हकमा हामीले त्यसरी पीर मान्नुपर्ने अवस्था छैन । ऊ आफ्नो बाटोमा लागिसकेको छ ।

कला, साहित्य, खेलकुद आवश्यक

सानै उमेरमा बालबच्चा कुनै क्षेत्र कला, साहित्य, संगीत, खेलकुदमा लागेपछि उनीहरु त्यति दायाँबायाँ लाग्दैनन् । आफ्नो काममा बढी केन्द्रित हुन्छन् ।

यसले गर्दा उनीहरु कुलतमा फस्ने, कुसंगतमा पुग्ने भय हुँदैन । उनीहरु जुन क्षेत्रमा लागेका छन्, त्यसमै तन मन दिएपछि अरुतिर ध्यान भड्किँदैन । त्यसैले सानै उमेरमा बच्चालाई उनको रुचिको क्षेत्रमा लाग्न प्रेरित गर्नुपर्छ भन्ने लाग्छ ।

धेरै आमाबुवा के सोच्छन् भने छोराछोरीले नाचगान, खेलकुदमा लाग्यो भने पढाइ बिगार्छन् । तर, यस्ता कुराले उनीहरुलाई अरु मर्यादित र आत्मअनुशासित बनाउँछ । त्यसले पढाइमा पनि फाइदा गर्छ । त्यसैले छोराछोरी के कुरामा रुचि राख्छन्, के रहर गर्छन्, त्यसमा हामीले खुला छाड्नुपर्छ । साथै उनीहरुको रुचि र क्षमता अनुसारको काममा हामीले प्रोत्साहित गर्नुपर्छ ।

धेरै नियन्त्रण जरुरी छैन

धेरै आमाबुवा भन्छन्, छोराछोरी हुर्काउनै गाह्रो । मैले तीन जना छोराछोरी हुर्काएँ, तर कहिल्यै गाह्रो भएन । मलाई कति पनि झन्झट र दुःख भएन । एकदमै सजिलो ढंगले हुर्काएको जस्तो लाग्छ ।

बालबच्चालाई हामी धेरै नियन्त्रण गर्न खोज्छौ र दुःख पाउँछौं । धेरै नियन्त्रण गर्ने, यो गर, त्यो नगर भन्छौं । उपदेश दिन्छौं । यसरी उनीहरुमाथि धेरै निगरानी गर्दा हामीलाई दुःख हुने हो । बालबालिका जसरी हुर्कन खोज्छन्, खुला छाड्नुपर्छ । उनीहरुलाई आफ्नै ढंगले खेल्न र रमाउन दिनुपर्छ । मैलें आफ्ना बालबच्चालाई कहिले पनि नियन्त्रण गरिनँ । उनीहरुलाई आफूखुसी हुर्कन दिएँ । त्यही भएर कोही संगीतमा लागे, कोही नृत्यमा ।

कसरी प्रतिभाशाली बनाउने ?

छोराछोरीलाई आमाबुवाले प्रतिभाशाली बनेको हेर्न चाहन्छन् । प्रतिभा भनेको कति त जन्मजात हुन्छ भने कतिपय उनी हुर्कने वातावरणमा निर्भर गर्छ ।

भनिन्छ, हरेक बच्चासँग जन्मजात केही न केही प्रतिभा हुन्छ । हामीले उनीहरुको प्रतिभा पहिचान गर्नुपर्छ । आमाबुवाले बालबच्चालाई प्रतिभाशाली बनाउने त होइन, तर त्यसमा सहयोग गर्नेचाहिँ हो ।

आयुषभन्दा धेरै राम्रो गाउने बालबच्चा पनि छन् । आयुषभन्दा धेरै प्रतिभाशाली बच्चाहरु कति छन् कति । तर, उनीहरुलाई राम्ररी हुर्कन दिनुपर्छ । उनीहरुको प्रतिभालाई फल्न फूल्न दिनुपर्छ । यसका लागि घरको वातावरण, आमाबुवा, विद्यालय, शिक्षक शिक्षिका सबैको साथ चाहिन्छ ।

आयुषलाई गायनमा रुचि थियो, यो कुरा विद्यालयका उनका सहपाठीले थाहा पाए । सहपाठीले शिक्षकलाई भने । शिक्षकले हामीलाई यो कुरा सुनाए । हामीले आयुषलाई गाउनमै प्रेरित गर्‍यौं । उनकै शिक्षक, साथीहरु र घर परिवारको सहयोगले आज ऊ यस स्थानमा आएको छ ।

यसरी हरेक बालबच्चालाई सबैको साथ र सहयोग आवश्यक छ । यदि त्यस किसिमको साथ र सहयोग पाएमा उनीहरुले पनि आफ्नो प्रतिभा देखाउन सक्छन् ।

(कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment