Comments Add Comment

ट्रेडमार्क दुरुपयोगको मारमा ब्राण्ड र उपभोक्ता, नक्कली सामानको बिगबिगी

३ भदौ, काठमाडौं । गत कात्तिकमा प्रहरीले चन्द्रागिरि नगरपालिका–१५, नैकापमा रहेको ज्योति सप एण्ड केमिकल्स इण्डट्रिजमा छापा मार्‍यो । ट्रेडमार्क अनुमति नलिई अवैध रुपमा नक्कली हेड एण्ड सोल्डर्स स्याम्पु र बीएमसी मसला उत्पादन गरेर बजार पठाएको आरोपमा प्रहरीले उद्योग सिल गर्दै उत्पादन जफत गरेर सञ्चालकलाई नियन्त्रणमा लिएको थियो ।

बजार पठाउन लागिएका ठूलो परिमाणका डुब्लिकेट स्याम्पु र मसलासहित पक्राउ परेका उद्योगका सञ्चालक अहिले ट्रेडमार्क अपचलन, कालोबजारी र राजश्व छलीको मुद्दा खेपिरहेका छन् ।

त्यसको १० महिनापछि साउन २९ गते बुधबार प्रहरीले ठमेलका ट्रेकिङ सपमा छापा मारेर केही सामानहरु जफत गरेको छ । उद्योग विभागका अधिकारी र प्रहरीको संयुक्त टोलीले द माउन्टेन वेयर, वल्र्ड कालापत्थर आउटडोर कलेक्सन र ग्यालेक्सी ट्रेकिङ स्टोरमा छापा मारेको थियो । ती पसलबाट ज्याकेट, स्लिपिङ ब्याग र टाउजर जस्ता सामग्री जफत गरिएको उद्योग विभागका प्रवक्ता एवं उपसचिव विनोद खड्काले बताए ।

अमेरिकी कम्पनी द नर्थ फेसले आफ्नो ड्रेडमार्क चोरी गरेर सामान उत्पादन गरिएको उजुरीपछि ठमेलका पसलमा छापा मारिएको उद्योग विभागले जनाएको छ ।

ट्रेडमार्क दुरुपयोग

ट्रेडमार्क चोरी गरेको भन्दै उद्योग विभागमा गत आर्थिक वर्षमा ३१६ वटा उजुरी परेका थिए । विभागका अनुसार धेरैजसो उजुरी डुब्लीकेट कस्मेटिक सामान उत्पादन गर्ने उद्योग विरुद्ध छन् ।

लेक्मी, नेकेड तथा फेयर एण्ड लब्लीहरुहरुका नक्कली उत्पादन भएका उजुरी पनि विभागमा परेका छन् । यसका अलवा घडी र क्याल्कुलेटरजस्ता सामान पनि ट्रेडमार्क अनुमति नलिई उत्पादन गरिएको उजुरी विभागमा दर्ता भएका छन् ।

विभागले २ सय ७७ उजुरीको फैसला गरेको विभागका कानुन उपसचिव टंक महत बताउँछन् । विभिन्न समयमा उजुरी परेका तर फैसला हुन नपाएका ५ सय ३४ विषयमा विभागले अनुसन्धान गरिहेको उनको भनाइ छ ।

ब्राण्ड बिक्री हुने लोभमा नेपालमा नक्कली ड्रेडमार्कमा सामान उत्पादन गर्ने उद्योगहरू धेरै भएको अनुमान गरिन्छ । ट्रेडमार्क दुरुपयोग आरोपमा कारबाही गर्न बहुराष्ट्रिय कम्पनी वा नेपाली कम्पनीहरुले उजुरी गर्नुपर्छ । ट्रेडमार्क कानुन बमोजिम ट्रेडमार्क दर्ता गराएका कम्पनीले गरेको उजुरीमा मात्रै विभागले कारबाही अगाडि बढाउन मिल्ने भएकाले अनुसन्धानको दायरा बाहिर पनि केही उद्योगहरु रहन सक्ने विभागको आकलन छ ।

ट्रेडमार्क दुरुपयोगको असर

ठूला ब्राण्डका उत्पादनमा पहिल्यै उपभोक्ताहरुको विश्वास हुन्छ । त्यसको दुरुपयोग गरेर नाफा कमाउने धुनमा डुब्लिकेटको बिगबिगी बढेको उद्योग विभागका महानिर्देशक विनोदप्रकाश सिंह बताउँछन् ।

यस्तो प्रवृत्तिले सक्कली उत्पादनलाई भने ठूलो नोक्सानी पुर्‍याउँछ । खासगरी न्यून आय भएका तर ब्राण्डबारे सुनेकाहरू यस्ता डुब्लिकेट सामानहरुप्रति आर्कषित हुने उपभोक्ता अधिकारकर्मीहरू बताउँछन् ।

सबैभन्दा बढी अहिले कस्मेटिकका सामानमा ट्रेडमार्क उल्लंघन बढ्दो छ । यो स्वास्थ्यका लागि पनि हानिकारक हुने उद्योग विभागका अधिकारी बताउँछन् । ब्राण्डको आधिकारीक आउटलेट लिएर व्यापार गर्नेहरुलाई यसले ठूलो असर पार्नुका साथै स्वास्थ्यका लागि हानिकारक वस्तुको प्रयोगले विभिन्न जोखिम बढ्नसक्ने जानाकारहरु बताउँछन् ।

यसका अलवा उपभोक्ताको खर्च गुणस्तरहीन उत्पादनमा हुनुका साथै राज्यले राजश्व गुमाउने अवस्था रहन्छ । ट्रेडमार्क चोरी र दुरुपयोगको अवस्था हेरेर मात्रै विदेशी लगानीकर्ताले लगानी भित्र्याउने विषयमा निर्णय लिने गरेको अनुभव उद्योग विभागका महानिर्देशक विनोदप्रकाश सिंहको छ । आफ्नो बौद्धिक सम्पति र सिर्जनाको सुरक्षा नहुने ठाउँमा लगानी गर्न हच्किने अवस्था सिर्जना हुने उनी बताउँछन् ।

कानुनी व्यवस्था

नेपालमा पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन २०२२ पहिलो संशोधन २०४४ अनुसार आधिकारिक कम्पनीको अनुमतिबिना ट्रेडमार्क प्रयोग गर्न पाइन्न । ऐनको दफा १९ ले गैरकानुनी ढंगबाट ट्रेडमार्क प्रयोग गर्न नपाइने उल्लेख गरेको छ भने दफा १८ (ख) ले विभागमा दर्ता नगराइ कुनै ट्रेडमार्क पनि रजिष्टर्ड ट्रेडमार्कको रुपमा प्रयोग गर्न नपाइने भनेको छ ।

बिनाअनुमति ट्रेडमार्क प्रयोग गरिए जरिवाना र सामान जफत गरिने ऐनमा उल्लेख छ । उद्योग विभागका कानुन उपसचिव टंक महतका अनुसार उल्लेखित ऐनबाहेक दुरुपयोगको अवस्था अनुसार कालाबजारी र उपभोक्ता अधिकारका दृष्टिले अन्य कानून पनि आर्कषित हुन्छ ।

यसका अलवा औद्योगिक सम्पत्ति अधिकार कानुन पनि ट्रेडमार्क दुरुपयोगमा लागू हुन्छ । नेपालमा ट्रेडमार्क दर्ता नगरेका कारण अनुसन्धानको विषय नबने पनि साबुन, पेय पदार्थ, बिस्कुट, चकलेट, खैनी, मञ्जनजस्ता कयौं वस्तुको उत्पादन नक्कली हुने गरेको विभागका अधिकारी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment