Comments Add Comment

चितवनमा भाइरल ज्वरो र डेंगुका बिरामी बढे

३ भदौ, चितवन । चितवनका अस्पतालहरुमा भाइरल ज्वरोका बिरामी बढेका छन् ।

साउनको अन्तिम सातादेखि अस्पतालहरुमा ज्वरोका बिरामीको चाप बढेको चिकित्सकहरुले बताएका छन् ।

भरतपुर अस्पतालमा भाइरल ज्वरोका बिरामीको चाप बढेको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।
बिरामीको चाप अधिक हुने भरतपुर अस्पतालमा बढ्दो गर्मी र बर्षका कारण भाइरल ज्वरोका बिरामी थपिँदा व्यवस्थापनमा समस्या भएको उनले बताए । ‘अस्पतालका बेड सबै भरिएका छन्’ पौडेलले भने, ‘ज्वरो, डेंगु र स्क्रव टाइफसका विरामी अधिक छन् । ’

अस्पतालमा ज्वरोसँगै डेंगुका बिरामीहरू पनि थपिएका छन् । भरतपुर अस्पतालका फिजिसियन डा. भोजराज अधिकारीले ओपिडी आउने बिरामी मध्ये झण्डै ३० प्रतिशत भन्दा बढी भाइरल ज्वरोका बिरामी रहेको बताए ।

उनका अनुसार भर्ना भएका बिरामी मध्ये एक तिहाई ज्वरो र डेंगुका बिरामी छन् । डेंगुसँगै इन्फ्लुएञ्जा ‘ए’, इन्फ्लुएञ्जा ‘बी’, इन्सेफलाइटिस, स्क्रब टाइफसको समस्या पनि देखिएको छ ।

वर्षाको समयमा पिउने पानीको मुहान दूषित हुने हुँदा, जथाभावी खानेकुरा खानाले पनि ज्वरोको बिरामी बढेको डा. अधिकारीले बताए । भाइरल ज्वरो र डेंगुबाट सबैभन्दा धेरै गर्भवती, बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीहरु प्रभावित बनेको डा. अधिकारीले बताए ।

नेपालमा सबैभन्दा पहिला चितवनमा नै डेंगु रोग देखिएको थियो । सन् २००६ मा जिल्लामा डेगु महामारीका रुपमा फैलिएको थियो । सन् २०१०, सन् २०१४ मा जिल्लामा डेंगु महामारीका रुपमा फैलिए पनि पछिल्ला दुई बर्षमा भने खासै देखिएको थिएन ।

भरतपुरमा महानगरभित्र ज्वरो र डेंगुका बिरामी बढी भेटिएका छन् । महानगरको नारायणगढ बसपार्क, क्षेत्रपुर, पूल्चोक लगायतका क्षेत्रमा बढी मात्रामा ज्वरो र डेंगुका बिरामी भेटिएका छन् ।

महानगरका स्वास्थ्य संयोजक जीवन श्रेष्ठले डेंगुबाट जोगिन प्रचारात्मक कामका साथैं डेंगु गराउने लामखुट्टे खोज र नष्ट गर अभियान चलाएको बताए । उनले विभिन्न कार्यक्रम चलाएको बताए पनि महानगरपालिका क्षेत्रमा नै बढी बिरामीहरु भेटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment