
३ भदौ, काठमाडौं । मुख्य चाडपर्वमा बढ्ने मागलाई सम्वोधन गर्न सरकारले चिनी आयात गर्ने भएको छ । खाद्य संस्थान र नेसनल ट्रेडिङलाई गाभेर बनाइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चिनी ल्याउने गरी मन्त्रिपरिषद्मा फाइल पठाइएको वाणिज्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मन्त्रिपरिषद्ले चिनी आयातको परिमाण पनि तोक्नेछ । चाडबाडका समयमा अभाव हुन नदिन सरकारी कम्पनीमार्फत चिनी ल्याउन लागिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी हेर्ने वाणिज्य विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिए ।
‘सरकारले परिमाणात्मक बन्देज लगाएको समय अवधि सकिए पनि व्यवसायीले चिनी आयात नगरेको र मुख्य चाडपर्वमा चरम अभाव हुनसक्ने देखेर सरकारले तयारी गरेको हो,’ महानिर्देशक गौचनले भने ।
व्यवसायीले चाडपर्वलाई पुग्ने मात्रामा चिनी स्टक रहेको बताए पनि भर पर्न नसकिएको कम्पनीले जनाएको छ ।
मुख्य चाडपर्वमा अत्यधिक माग हुने मुख्य खाद्य वस्तु तथा मासुका लागि खसि बोका बिक्रि गर्न सहुलियत पसल सञ्चालन गर्नेबारे छलफल अघि बढेको कम्पनीका प्रमुख एवं सहसचिव योगेन्द्र गौचनले जानकारी दिए ।
नेपाल चिनी उत्पादक महासंघले भने सरकारी कम्पनीले आयात गर्न जरुरी नभएको बताएको छ । संघका अध्यक्ष शशीकान्त अग्रवालका अनुसार नेपाली उद्योगीहरुसंग ८५ हजार मेक्ट्रक टन चिनी कारखानामा अझै छन् ।
दशै–तिहार र छटसम्मलाई पुग्ने चिनी नेपालमै उपलब्ध रहेकाले आयात आवश्यक नभएको उनले बताए । यदि आयात गर्ने नै हो भने १५ हजार मेट्रिकक्टन भन्दा धेरै गर्नु नहुने उनको भनाइ छ ।
प्रतिक्रिया 4