Comments Add Comment

सोनाशक्ति चामलमा अखाद्य पदार्थ नभएको पुष्टि

४ भदौ, गोरखा । अखाद्य पदार्थ भेटिएको भन्दै गोरखामा रोक लगाइएको रिपुराज एग्रो प्रालिद्वारा उत्पादित सोनाशक्ति चामल बिक्री वितरण खुला गरिएको छ ।

परीक्षण पश्चात चामलामा अखाद्य पदार्थ नभेटिएपछि बिक्री वितरणका लागि खुला गरिएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।

केही समय अघि गोरखा नगरपालिका-७ नयाँबजारको जनमुखी सहकारी संस्थाले संचालन गरेको सुपथ मूल्य पसलबाट बिक्री भएको चामलमा अखाद्य पदार्थ भेटिएको उपभोक्ताले गुनासो गरेका थिए ।

गुनासो आएसँगै जिल्ला प्रशासन कार्यालयबाट खटिएको अनुगमन टोलीले नमूना परीक्षणका लागि चामल खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौली पठाएको थियो ।

दमौलीबाट खाद्य प्रविधि नियन्त्रण कार्यालय भैरहवा पठाइएको उक्त नमूना परीक्षण गर्दा कुनै अखाद्य पदार्थ नभेटिएको र सरकारले तोके अनुसारको गुणस्तर पाइएको बिभागले सार्वजनिक गरेको प्रतिवदेनमा उल्लेख छ ।

विभागको प्रतिवेदनलाई आधार बनाएर रोक लगाइएको उक्त कम्पनीको चामल बिक्री वितरणका लागि खुल्ला गरिएको भन्दै प्रशासनले सहकारीलाइ पत्राचार गरेको छ ।

बुधबार सहकारीले गोरखा सदरमुकाममा पत्रकार सम्मेलन गरी उक्त ब्राण्डको चामल बिक्री वितरणका लागि प्रशासनले खुला गरेको जानकारी गराएको छ ।

कार्यक्रममा रिपुराज एग्रो प्रालिका निर्देशक रिपु रमनले खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभागको प्रतिवेदन सार्वजनिक गर्दै गुणस्तरमा कुनै कमी नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment