Comments Add Comment

महिला क्रिकेट टिमको लक्ष्य सागमा स्वर्ण

३ भदौ, काठमाडौं । रुविना क्षेत्रीले नेपालको राष्ट्रिय टोलीबाट क्रिकेट खेल्न थालेको १२ वर्ष नाघिसक्यो तर, घरेलु दर्शकमाझ अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाएकी छैनन् ।

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा क्रिकेटलाई समावेश गरेपछि घरेलु मैदानमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने महिला क्रिकेटरहरको सपना पूरा हुँदैछ । र, उनीहरु स्वर्ण जितेर सागलाई स्मरणीय बनाउन चाहन्छन् ।

डिसेम्बर १–१० तारिखसम्म हुने सागको तयारीका लागि महिला क्रिकेटरहरु अभ्यासमा जुटेका छन् ।

त्रिवि क्रिकेट मैदानमा अभ्यासरत कप्तान रुविना भन्छिन्, ‘क्रिकेटमा लागेको पनि १२ वर्ष कटिसकेको छ । यो अवधिमा घरेलु भूमिमा पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेल्ने मौका पाउँदैछौं । यसलाई सौभाग्य भनौं कि दुर्भाग्य ?’

रुविनाको मात्रै होइन, टिममा रहेका सबै खेलाडी सागलाई लिएर उत्साहित छन् ।

साउन अन्तिम सातादेखि अभ्यासरत नेपाली महिला क्रिकेट टिममा अहिले ३५ जना खेलाडी छन् । अब उनीहरु मध्ये २५ जना छनोट गरेर थप प्रशिक्षण हुनेछ ।

सागमा स्वर्णको लक्ष्य

सागमा महिला क्रिकेट पहिलो पटक समावेश भएको हो । बंगलादेशमा भएको ११ औं सागमा क्रिकेट समावेश गरिए पनि महिलालाई राखिएको थिएन । यो पटक नेपालले साग आयोजना गर्दा पुरुष र महिला दुबैको क्रिकेट राखिएको छ ।

नेपालको आश पहिलो सहभागितामा नै स्वर्ण छ । मुख्य प्रशिक्षक जगत टमाटा भन्छन्, ‘हाम्रो लक्ष्य भनेको गोल्ड मेडल हो । त्यहीअनुसार तयारी गरिरहेका छौं ।’

कप्तान रुविनाको मत पनि त्यही छ । ‘अहिले हाम्रो आँखा गोल्ड मेडलमा छ, त्यही अनुसार तयारी गर्दैछौं,’ उनले अगाडि भनिन्, ‘महिला क्रिकेटबाट धेरै आश पनि गर्नुभएको छ । त्यसैले पहिलो दिनदेखि नै कडा मेहनत गरिरहेका छौं ।’

तर सागमा स्वर्ण त्यति सजिलो भने छैन । यसका लागि भारत, पाकिस्तान, श्रीलंका, बंगलादेशजस्ता टेष्ट मान्यताप्राप्त देशलाई हराउनुपर्छ । प्रशिक्षक टमाटा त्यो क्षमता नेपाली टोलीमा रहेको बताउँछन् । लामो समय नेपालको पुरुष राष्ट्रिय टिमको प्रशिक्षक रहेका टमाटा भन्छन्, ‘विस्तारै सुधार हुँदै गएको छ । खुशी लाग्छ, छोटो समयमा नै निकै सुधार भएको छ ।’

मैदानको अभाव !

अहिले महिला क्रिकेट टिमले त्रिवि क्रिकेट मैदान, कीर्तिवुरमा नियमित अभ्यास गरिरहेको छ ।

तर एउटै मैदानमा दुई वटा टिमले अभ्यास गर्नु परेको छ । एसीसी यू–१९ एसिया कप क्रिकेटको तयारीमा रहेको यू–१९ टिमले पनि कीर्तपुरमा अभ्यास गर्छ ।

कुनै बेला दुबै टिमको अभ्यास समय जुध्छ । त्यस्तो बेला एकातिर महिला र अर्कोतिर यू–१९ टिमले अभ्यास गर्ने गरेको छ । प्रशिक्षक टमाटाले भने इन्डोर प्रशिक्षण स्थल पनि भएकाले केही सहज भएको बताउँछन् । उनले भने, ‘यू–१९ टिमसँग र हामीले एउटै मैदानमा अभ्यास गरे पनि खासै प्रभाव परेको छैन ।’

हेर्नुहोस् भिडियो

यू–१९ टोली श्रीलंकातिर लागेपछि पनि महिला टोलीले ढुक्कसँग अभ्यास गर्न पाउने अवस्था छैन । नेपाली सिनियर पुरुष टिमले सागका लागि तयारी थाल्नेछ र मैदानको अभाव कायमै रहन्छ ।

भारत वा बंगलादेश टुर

एकातिर मैदान अभाव, अर्कोतिर स्वर्ण जित्ने लक्ष्य । त्यसैले नेपाली टोलीले विदेश भ्रमणको तयारी गरेको छ । प्रशिक्षक टमाटाले वैदेशिक भ्रमणको खाका राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा पेश गरेका छन् । उनले भने ‘हामी बंगलादेश वा भारतमा बैदेशिक अभ्यास गर्छौं । करिब १५ दिनको भ्रमण हुनेछ । त्यहाँ करिब चारदेखि पाँच वटा मैत्रीपूर्ण खेल खेल्ने योजना छ ।’

तर निर्णय भएको छैन ।

प्रशिक्षक टमाटाका अनुसार नेपाली महिला टोलीमा अहिले मुख्य समस्या ब्याटिङ नै हो ।

त्यसलाई सुधार गर्न ध्यान दिइने उनले बताए । कप्तान रुविना पनि त्यसलाई स्वीकार गर्छिन् ।

प्रतियोगितासम्म ब्याटिङमा पनि सुधार आउने दाबी गरिन् । ‘हाम्रो बलिङ र फिल्डिङ दुबै राम्रो छ तर ब्याटिङमा केही समस्या छ’ उनले भनिन्, यसअघि भएको कमजोरीलाई सुधार गर्छौं । तर, टेष्ट नेशनसँग प्रतिस्पर्धा गर्न सक्ने टिम छ ।’

तस्वीर र भिडियो : चन्द्र आले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment