Comments Add Comment

बालबालिका बेचबिखनबारे उच्चस्तरीय छानबिन समिति गठन गर्न संसदीय समितिको निर्देशन

Photo Credit : रासस

४ भदौ, काठमाडौं । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले नेपाल बालमन्दिरका निर्देशक नै बालबालिका बेचविखनमा पक्राउ परेको घटना छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न आग्रह गरेको छ ।

बालमन्दिरकै निर्देशक बालबालिका बेचविखनको आरोपमा पक्राउ पर्नुले यो क्षेत्रको चरम विकृति, बेथिती र कमजोर नियमन उजागर गरेको भन्दै यस विषयमा विस्तृत रुपमा छानबिन गर्नुपर्ने देखिएको समितिले बताएको छ ।

‘वरिष्ठ कर्मचारीको संलग्नताले अन्य कर्मचारी एवं अन्तर निकायगत संलग्नता पनि स्वतः हुने देखिएकाले र सामाजिक रुपमा यो विषय निकै गम्भीर देखिएकाले प्रस्तुत घटना एवं विद्यमान वस्तुस्थिति विस्तृत रुपमा छानबिन गर्न र दोषीहरुलाई कानूनी दायरामा ल्याई कारबाही गर्न एक उउच्चस्तरीय छानबिन समिति यथाशीघ्र गठन गरी कार्यसम्पादन गर्न गराउन समिति नेपाल सरकार महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई निर्देशन गर्दछ’ समितिको निर्णयमा भनिएको छ ।

केही दिनअघि नेपाल बालमन्दिरका निर्देशक बालकृष्ण डंगोल बेलायती नागरिकलाई शिशु बिक्री गर्न खोजेको आरोपमा पक्राउ परेका थिए ।

समितिले गैर सरकारी संस्थाहरुको अनुगमन गर्ने निकाय समाज कल्याण परिषदको भूमिका प्रभावकारी नभएको भन्दै आफ्नो अनुगमन प्रणाली तत्काल सुधार गरी प्रभावकारी अनुगमन गर्न समाजकल्याण परिषदलाई निर्देशन दिएको छ । त्यस्तै वृहत कार्यक्षेत्रको कारणले परिणाममुखी अनुगमन गर्न नसक्ने भए त्यसको जानकारी १५ दिनभित्र दिन पनि समितिले आग्रह गरेको छ ।

समितिले गत जेठ १० गते हाल सञ्चालनमा रहेका बालगृह र अनाथालयको नामावली र त्यस्ता गृहहरुको कस्तो अवस्थामा सञ्चालन भएका छन् भन्नेबारे विस्तृत विवरण एकमहिनाभित्र पेश गर्न समाज कल्याण परिषदलाई निर्देशन दिएको थियो । तर उक्त विवरण हालसम्म नआएको भन्दै समितिले एक हप्तभित्र उपलब्ध गराउन निर्देशन दिएको छ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment