Comments Add Comment

बालुवाटारमा प्रधानमन्त्री ओली र माधव नेपालको भनाभन

ओलीले नेपाललाई भने-तपाईको शुभकामना चाहिएन

५ भदौ, काठमाडौं । स्वास्थ्य उपचारका लागि सिंगापुर जानुपूर्व सत्तारुढ नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच भनाभन भएको छ ।

बालुवाटारमा बिहीबार विहान सचिवालय बैठक शुरु भएपछि अध्यक्ष तथा प्रधानमन्त्री ओलीले एजेण्डामा प्रवेश गर्न नभ्याउने भएकाले आफूलाई स्वाथ्यलाभको शुभकामना दिएर पठाउन आग्रह गरे ।

उनले आफू नभए पनि बैठक बसेर सहमतिका आधारमा निर्णय गर्न अर्का अध्यक्ष प्रचण्डलाई अधिकार दिएको जानकारी गराए । ओलीको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘आज बैठक एजेण्डामा छलफल हुने अवस्था रहेन । मलाई बैठकले स्वास्थ्य लाभको कामना गरोस्, म तपाईंहरुको शुभकामना लिएर उपचारका लागि जान्छु । यसबीचमा म नभए पनि बैठक राखेर सहमतिका आधारमा निर्णय गर्नुस् । आवश्यक परेमा मसँग फोनमा कुरा पनि गर्न सकिन्छ । पार्टी सर्वसम्मत ढंगले चलाउनुस् ।’

ओलीले त्यसो भन्नासाथ बरिष्ठ नेता नेपालले ‘हुँदैन, अब सर्वसम्मतीबाट मात्र हुनुपर्छ भनेर हुँदैन’ भन्दै प्रतिवाद गरे । आफूले असहमति राख्दाराख्दै थुप्रै निर्णय भएको भन्दै नेपालले अहिलेचाहिँ किन सहमतिमा मात्र निर्णय गर्ने ? भनेर प्रश्न गरेका थिए । उनले केन्द्रीय सदस्य तथा सांसद राजेन्द्र गौतमले सामाजिक सञ्जाल फेसबुकमा आफूविरुद्ध लेखेको भन्दै कारवाहीकोे माग पनि गरे ।

यो पनि पढ्नुहोस माधवकुमार नेपालको तेस्रो वरियता खोसियो

नेपाल आक्रोशित रुपमा प्रस्तुत भएपछि अध्यक्ष प्रचण्ड रोक्न खोजे । उनले प्रधानमन्त्री एवं अध्यक्ष ओली सिंगापुरमा रहेका बेला महत्वपूर्ण निर्णय गर्नुपरे फोनमा कुरा गर्ने र सहमतिकै आधारमा पार्टी सञ्चालन गर्ने बताए ।

सहमति हुन नसकेका विषयमा पनि प्रचण्डले नेताहरुसँग सल्लाह गरेर जाने बताएको एक नेताले जानकारी दिए ।

प्रचण्ड बोलेपछि महासचिव विष्णु पौडेलले दुवै अध्यक्षसँग समय लिएर ‘आजको बैठकले अध्यक्ष तथा प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना र हाम्रो शुभकामना दिएर पठाऔं’ भन्ने प्रस्ताव राखे । उनले ‘बैठक सञ्चालनका विधिहरुबारे छलफल गर्दै जाउँला । आज किन यस्तो नमिठो कुरा गर्ने’ भन्नासाथ वरिष्ठ नेता नेपाल पुनः आक्रोशित भएको बैठकमा सहभागी एक नेताले बताए ।

उनले व्यंग्यात्मक शैलीमा ‘वाह ! कति राम्रो कुरा…!’ भन्दै सर्वसम्मतीमा मात्र निर्णय गर्ने  प्रस्तावमा असहमति राखेपछि ओली र नेपालबीच भनाभन भएको थियो । त्यसक्रममा प्रधानमन्त्री ओलीले ओलीले नेपाललाई ‘ल, तपाईंको शुभकामना मलाई चाहिएन न नि त’ भन्दै बैठक टुंग्याउन खोजेका थिए । तर, नेता नेपालले ओलीलाई ‘तपाईं …. हो’ भन्दै ओलीमाथि अशिष्ट शब्द प्रयोग गरेको एक सचिवालय सदस्यले बताए ।

ओलीले नेपाललाई भने-तपाईँको शुभकामना चाहिएन

बैठकमा नेपालले पुनः राजेन्द्र गौतममाथि कारबाहीको माग गरेपछि ओलीले बुधबार साप्ताहिकको प्रसंग ल्याएका थिए । पत्रिकाको समाचार देखाउँदै ओलीले ‘तपाईँले फरक मत पार्टीमा नराखी मिडियामा बाँड्नुहुन्छ भने तपाईँको कदम गलत भयो भनेर अर्कोले फेसबुकमा लेख्न पाउँदैन ?’ भन्ने प्रश्न गरेका थिए ।

त्यसक्रममा ओलीले नेता नेपाललाई ‘तपाईँको शुभकामना मलाई चाहिँदैन र तपाईंको इच्छा के हो भन्ने पनि मलाई थाहा छ, तपाईंले शुभकामना नदिँदैमा केही हुन्न’ भनेको एक नेताले बताए ।

अनलाइनखबरसँग कुरा गर्दै नेकपा वरिष्ठ नेता नेपालले पनि प्रधानमन्त्रीले ‘तपाईको शुभकामना मलाई चाहिँदैन‘ भनेर तल्लो स्तरको टिप्पणी गरेको बताए ।

दुई नेता व्यक्तिगत आरोप प्रत्यारोपमा उत्रिँदा अर्का अध्यक्ष प्रचण्डले पटकपटक आज अरु विषयमा कुरा नगरौं भन्दै माधव नेपाललाई रोक्न खोजेका थिए । पछिल्लो समय आफ्नो तेस्रो बरियता खोसिएपछि नेता नेपाल अध्यक्ष ओलीसँग रुष्ट बनेका छन् । उनले सचिवालय बैठकको पछिल्लो निर्णयमा असहमति जनाउँदै सातबुँदे नोट अफ डिसेन्ट दर्ता गरेका छन् ।

यद्यपी बिहीबारको बैठकले अध्यक्ष तथा प्रधानमन्त्रीको ओलीको स्वास्थ्यलाभको कामना गर्ने प्रस्ताव पारित गर्दै अरु एजेण्डा अर्को बैठकमा छलफल गर्ने गरी पन्छाएको छ ।

यो पनि पढ्नुहोस ‘मरिहालोस्’ भन्नेलाई प्रधानमन्त्रीको चुनौती– आउँदो चुनाव सामना गर्न तयार भए हुन्छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment