४ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई ‘मरिहालोस्’ भन्नेहरूलाई अर्को चुनाव पनि सामना गर्न तयार रहन आग्रह गरेका छन् ।
संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिको बुधबार गृहमन्त्रालयमा बसेको बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यबारे अनेक प्रचार भएको भन्दै खण्डन गरे ।
‘अचम्म लाग्छ ! विरोधीहरु कति कमजोर भएछन् भने । ऊ बाँचोस् तैपनि मुकाविला गर्छु भन्ने छैन । मरिहाले हुन्थ्यो भन्छन्’ उनले भने, ‘यस्ता प्रवृत्तिसँग केही भन्नु छैन ।’
‘मरिगए हुन्थ्यो भन्ने चाहनेलाई भन्न चाहन्छु, आउँदो चुनाव पनि सामना गर्न तयार भएर बसेहुन्छ । आउँदो चुनाव टफ हुनेछ, अस्तित्व रक्षाको लडाई सुरु गरे हुन्छ ।’
मरिहालोस् भनेर खुब प्रचार गरेकाले पछि धेरै निराश होलान् भनेर यस्तो भन्नु परेको उनले बताए । आफू अझै अझै १५ बर्ष अखडामा रहने भन्दै उने भने, ‘पूजा अर्चना, प्रार्थना गरेर केही हुन्छ भने त्यो गर्न दिने मेरो विचार छ ।’
प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि भोलि सिंगापुर जाँदैछन् । करिव १२ वर्ष अगाडि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली १८ साउनमा पनि सिंगापुर गएका थिए ।
त्यसबेला चिकित्सकले नयाँ औषधि चलाएका थिए । त्यसको थप परिक्षणका लागि चिकित्सकले बोलाएको र प्रधानमन्त्री ८/१० दिन बसेर उपचार गर्ने बताइएको छ ।
चिकित्सकहरुका अनुसार मृगौला प्रत्यारोपण गरिएको मानिसले लगभग जीवनभर औषधि खाइरहनुपर्छ । र, सामान्यतः १० वर्षमा पुरानो औषधि बन्द गरेर नयाँ औषधि चलाउने प्रचलन छ ।
प्रतिक्रिया 4