Comments Add Comment

गणपति बक्स इन्डस्ट्रिज सामाजिक सुरक्षा कोषको पहिलो योगदानकर्ता

६ भदौ, काठमाडौं । सामाजिक सुरक्षा कोषमा योगदानमा आधारित रकम जम्मा गर्न सुरु भएको छ । पहिलो कम्पनीका रुपमा कोषमा गणपति बक्स इन्डस्टि्रजले रकम जम्मा गरेको छ ।

कम्पनीले आफ्नो कार्यरत २५ जना कामदारको ९१ हजार रुपैयाँ जम्मा गरेर कोषमा पहिलोपटक योगदान गरेको कार्यकारी निर्देशक कपिल ज्ञावालीले जानकारी दिए ।

हाल कोषमा कामदारले आधारभूत तलबको ११ प्रतिशत र रोजगारदाताले २० प्रतिशत रकम थपेर मासिक ३१ प्रतिशत रकम कोषमा जम्मा गर्नुपर्छ ।

कोषमा हालसम्म ४४ सय रोजगारदाता कम्पनी आवद्ध भएका छन् । यी कम्पनीमा करिब ३५ हजार भन्दा बढी कामदार सामाजिक सुरक्षाको दायरामा आएका छन् ।

सामाजिक सुरक्षा कोषले यस्तो योगदानबापतको रकम जम्मा गर्न ५५ वटा बैंक तथा वित्तीय संस्थालाई प्रणालीमा आवद्ध गरेको छ । सबै वाणिज्य बैंकका शाखाबाट कोषमा रकम जम्मा गर्न सकिने ज्ञावालीले जानकारी दिए ।

उनकाअनुसार कोषमा आवद्धता बढाउन हेटौंडा, वीरगञ्ज भरतपुर लगायतका औद्योगिक शहरहरुमा उद्योग वाणिज्य संघसँग कोषबारे सचेतनामुलक कार्यक्रमहरु भइरहेको छ ।

योगदानमा आधारित सामाजिक सुरक्षा योजनागत साउन १ बाट लागू भएको हो । कोषमा रकम जम्मा भएका श्रमिकले कोषले सञ्चालन गर्ने सामाजिक सुरक्षा योजनाहरुअनुसार सुविधा पाउनेछन् ।

कोषले अहिले औषधि उपचार तथा मातृत्व, दुर्घटना तथा अशक्तता, आश्रित परिवार र बृद्धावस्था सुरक्षा योजना ल्याएको छ ।

योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा निजी क्षेत्रका श्रमिकहरु आवद्ध हुनुपर्नेछ ।

कोषले सबै रोजगारदाता तथा योगदानकर्तालाई कोषमा सूचीकृत हुने म्याद असोज मसान्तसम्म दिएको छ ।

श्रमिकहरुको सुरक्षाका लागि भन्दै सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम घोषणा गरेको हो । यसमा निजी क्षेत्रका सबै रोजगारदाता र कामदार सहभागी हुन सक्छन् ।

कोषमा आवद्ध भएको मितिले तीन महिनाभित्र सबै रोजगारदाताले आफ्ना स्थायी, अस्थायी, ज्यालादारी र करारमा काम गर्ने सबै कामदारको विवरण सामाजिक सुरक्षा कोषमा अनलाइनमार्फत पठाउनुपर्ने भनिएको छ ।

यसलाई कोषले प्रमाणीकरण गर्नेछ र सूचीकरण भएका सबै कामदारलाई योगदानकर्ताका रुपमा दर्ता गर्छ । यही प्रक्रियाबाट आवद्ध भएका कामदारले कोषबाट पेन्सनसहितका सुविधा प्राप्त गर्ने छन् ।

काम गर्ने, उद्योग, प्रतिष्ठान र संस्था सामाजिक सुरक्षा कोषमा आवद्ध नभए कामदारले त्यसको जानकारी सुरक्षा कोषमा दिन सक्छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment