Comments Add Comment

साँस्कृतिक कार्यक्रममा सहभागी हुन मुख्यमन्त्री गुरुङ बेलायत प्रस्थान

६ भदौ, पोखरा ।  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ बेलायत प्रस्थान गरेका छन् । नेपाली गुरुङ समुदायले बेलायतमा गर्ने सांँस्कृतिक कार्यक्रममा सहभागी हुन उनी शुक्रबार बेलायत गएका हुन् ।

मुख्यमन्त्री गुरुङ पत्नी कुमारीमुनी गुरुङसँगै बेलायत उडेका हुन् । तमुहरुको संस्था तमु धिँ युकेले गर्ने नेपाली मेलाको अतिथि हुन बेलायततर्फ लागेका छन् । तमु धिँले बर्सेनि यही समय मेला गर्दै आएको छ । यसअघि गत वर्ष सोही कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गरुङ सहभागी  भएका थिए ।

‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ भन्ने नारासहित आइतबारदेखि वेलायतमा हुने सांस्कृतिक मेलालाई मुख्यमन्त्री गुरुङले सम्बोधन गर्ने छन् । तमु धिँले १० वर्षदेखि यो मेला गर्दै आइरहेको छ ।

नेपाली मेलासहित मुख्यमन्त्री गुरुङ बेलायतका नेपाली समुदाय र विभिन्न संघसंस्थाका कार्यक्रममा पनि सहभागी हुने मुख्यमन्त्रीका स्वकीय सचिव सूर्य गुरुङले जानकारी दिए ।

त्यहाँका एनआरएन नेपालीसँग गण्डकी प्रदेशमा लगानी गर्न आह्वान गर्ने र भ्रमण वर्षलाई पनि सघाउन मुख्यमन्त्रीले आग्रह गर्ने उनको सचिवालयले जानकारी दिएको छ ।

मुख्यमन्त्री गुरुङ भदौ १४ गते नेपाल फर्कने छन् । गएको असोज ९ गतेदेखि १५ गतेसम्म मुख्यमन्त्री गुरुङले चीनको हाइनान प्रान्तको भ्रमण गरेका थिए । मुख्यमन्त्री गुरुङले हाइनानका गभर्नरसहितको टोलीलाई नेपाल डाकेर प्रदेशले मितेरी साइनो जोडेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment