Comments Add Comment

नेपाल महिला चेम्बरको तीज व्यापार मेला शुरु

६ भदौ, काठमाडौं । नेपाल महिला चेम्बरको दोस्रो तीज व्यापार मेला शुक्रबार शुरु भएको छ । जमलस्थित नेपाल चेम्बर भवनमा आयोजित उक्त मेलाको उदघाटन पूर्व उद्योगमन्त्री तथा ३ नम्बर प्रदेशकी सांसद अष्टलक्ष्मी शाक्यले गरिन् ।

उद्घाटन कार्यक्रमलाई संबोधन गर्दै सांसद शाक्यले सरकारले महिलाहरुलाई उद्योग दर्तामा बिशेष छुट दिने गरेको उल्लेख गर्दै यसको सदुपयोग गर्न आग्रह गरिन् । तालिम लिने तर प्राप्त सीपलाई ब्यबहारमा लागु नगर्ने बानीका कारण नेपालमा ब्यवसायीकताको विकासमा आशातीत प्रगति हुन नसकेको धारणा उनले राखिन् ।

नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले मेलाले हस्तकला सामग्री, स्थानीय उत्पादनमा आधारित प्राङ्गारिक मलद्वारा तयार हुने जैविक खाद्य उत्पादनको व्यवसायीकरण गर्न सहयोग पुग्ने बताइन् । नेपालमा महिला उद्यमशीलताको विकासका लागि नेपाल महिला चेम्बरले सक्रियता बढाउदै लगेको उनले जानकारी दिइन् ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका बरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले नेपाल महिला चेम्बरले महिलाको आर्थिक सशक्तिकरणमा पुर्‍याउदै आएको योगदानको सह्राहना गरे । नेपाल चेम्बर अफ कमर्सले महिला उद्यमीहरुको वृत्ति विकासका लागि आवश्यक पहलकदमी चाल्ने उनले बताए ।

मेलामा काठमाडौंका महिलाद्वारा प्रबद्र्धित ५० फर्म, कम्पनी एवं संघ–संस्थाहरूका स्टल राखिएका छन् । मेलामा हस्तकलाका सामग्री, सजावटका सामान, लत्ताकपडा, खाद्य सामग्री, कस्मेटिकका सामग्री आदि बिक्रीका लागि राखिएको छ । शनिबारसम्म सञ्चालनमा आउने उक्त मेला ५० हजारभन्दा बढी मानिसले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा गरिएको नेपाल चेम्बरकी अधिकृत सृष्टी त्रिपाठीले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment