Comments Add Comment

कीर्तिपुरमा कोरियन भाषा सिक्ने युवकको शंकास्पद मृत्यु, सांसदले उठाए प्रश्न

सांसद श्रेष्ठको प्रश्न् : किटानी जाहेरी पर्दा पनि किन पक्राउ गरिँदैन ?

६ भदौ, काठमाडौं । कीर्तिपुरमा कोरियाली भाषा सिक्ने एक युवकको मृत्युको विषय शुक्रबार राष्ट्रियसभा बैठकमा उठेको छ ।

राष्ट्रियसभाका सांसद भैरवसुन्दर श्रेष्ठले कीर्तिपुरको भ्याली इन्ष्टिच्युटमा कोरियाली भाषा सिकिरहेका सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१२ का विष्णुप्रसाद जैसीको मृत्यु शंकास्पद भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

कीर्तिपुरमा होस्टलमा बसेर भ्याली इन्ष्टिच्युटमा कोरियाली भाषा पढिरहेका जैसी चोरी आरोपमा पक्राउ परेको र प्रहरी अनुसन्धान गरी फेरि होस्टल सञ्चालकको जिम्मा लगाएको ३ घण्टामै मृत्यु भएको भन्दै उनले यो विषय अनुसन्धान गर्न माग गरेका हुन् ।

सांसद श्रेष्ठका अनुसार जैसी कीर्तिपुरको भ्याली इन्ष्टिच्युटमा कोरियाली भाषा पढ्दै थिए र सोही इन्ष्टिच्युटको सम्बन्ध भएको होस्टलमा बस्दै आएका थिए । तर, होस्टल सञ्चालकको बाला हराएको आरोपमा उनलाई महानगरीय प्रहरी वृत्त कीर्तिपुरमा बुझाइयो ।

प्रहरीले २४ घण्टासम्म हिरासतमा राखेर अनुसन्धान गर्दा चोरीको आधार नभेटिएको भन्दै फेरि होस्टल सञ्चालकको जिम्मा लगाए । प्रहरीले आफूहरुले अनुसन्धान गर्दा उनलाई थुनामा राख्ने कुनै आधार नभएको भन्दै फेरि होस्टल सञ्चालकको जिम्मा लगाउँछ ।

‘हामीले इन्क्वायरी गर्‍यौं, उनी निर्दोष छन् भनेर जसले थुनामा ल्यायो, उसलाई बोलाएर बुझाइन्छ । प्रहरीले बुझाउँदा उनी सकुशल छन् । उनको बाबुले म काठमाडौं आएपछि म बुझौंला अरुको हातमा नबुझाउनुहोला भन्छन् । तर प्रहरीले २४ घण्टा भन्दा राख्न मिल्दैन भनेर जसले थुनायो उसैलाई बुझाउँछ । प्रहरीले इन्कवायरी गरेपछि निर्दोष सावित हुने,सञ्चालकलाई बुझाएपछि उनको मृत्यु हुन्छ,’ उनले भने ।

अहिले उनको बुबा हरिसुन्दर जैसीले सञ्चालकविरुद्ध किटानी जाहेरी दिए पनि प्रहरीले पक्राउ नगरेको सांसद श्रेष्ठले बताए । ‘बुबाले किटानी जाहेरी दिएका छन् । तर प्रहरीले हामी अनुसन्धान गर्दैछौं भन्छ, कसैलाई पक्राउ गरेको छैन,’ उनले भने, ‘हामीले बारम्बार भन्दा पनि प्रहरी चल्दैन । हाम्रो प्रहरीको, छानबिनको तरिका के हो ? ’

उनले त्यस चौकीका प्रहरीहरु अनुसन्धान गर्न अयोग्य भए अरु पठाउन पनि माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment