Comments Add Comment

घरभित्र कसरी छिर्‍यो पेट्रोल पम्प ?

५ भदौ, काठमाडौं । सोह्रखुट्टेबाट बालाजु चोकतर्फ जाँदै गर्दा विष्णुमती खोलाको पुल सकिनेबित्तिकै बाँयातर्फ हेर्नुभयो भने एउटा रोचक दृष्य देख्नुहुन्छ । त्यहाँ एउटा पेट्रोल पम्प घरभित्रै निर्वाध सञ्चालित छ ।

कोतः धुक आयल स्टोर नामको पेट्रोल पम्प साढे ४ तले घरको भुइँतल्लामा चलाइएको हो । घरका चार सटरमध्ये दुई सटरमा पम्पको हिसाब–किताब गर्ने डेस्क र टायर तथा लुब्रकेन्ट पसलसँगै पेट्रोल भर्ने पम्प छ । अर्को दुईवटा सटरमा रहेको एसएमएस इलेक्ट्रो कन्सर्नसँगै डिजेल पम्प छन् ।

इन्धन भर्ने दुई पम्प घरको खुड्किलामा देखिएपछि सबैको प्रश्न हुन्छ, पम्पमा आउने तेलको भण्डार र सुरक्षाको लागि अतिआवश्यक पर्ने पानी भण्डारण ट्याङ्की कहाँ होला ?

निगमले तोकेको मापदण्ड बालाजु चोकको कोतः धुक आयल स्टोरमा पूरा भएको छैन । पम्पको एकमिटर दूरीमै ज्योती विकास बैंकको एटीएम बुथ छ भने दुई मिटरको दूरीमा बैंक । घरको कोठामा पम्प र कोठाभित्रै इन्धन भण्डारण गर्ने ट्याङ्की छ

पम्पका म्यानेजर नवराज भट्टका अनुसार पम्पको लागि आउने तेलको भण्डारणका लागि घर भित्रको ग्राउण्ड फ्लोरको कोठा प्रयोग गरिएको छ । कोठाभित्रै बनाइएको ट्याङ्कीमा डिजेल–पेट्रोल भण्डारण हुने उनले बताए । पानी भण्डारणका लागि भने छतमा ट्याङ्की बनाइएको छ । यदि कुनै दुर्घटना भएर पम्पमा पानी चाहियो भने बाथरुमबाट पाइप लगाएर ल्याउनुपर्ने एक कर्मचारीले बताए ।

पम्पले दैनिक ४ हजार लिटर पेट्रोल र २ हजार लिटर डिजेल बेच्दै आएको छ । घरमै राखिएको पम्प असुरक्षित भएको भन्दै बजारमा हल्ला भएकाले पहिलेभन्दा ब्यापार खस्किएको ती कर्मचारीले अनलाइनखबरलाई बताए ।

यसरी पस्यो घरभित्र पम्प

काठमाडौं महानगरपालिका–१६ को बालाजु चोक–सोह्रखुट्टे सडकअन्र्तगतको विष्णुमती खोला पुलको आडैमा रहेको कोतः धुक आयल स्टोरका सञ्चालक स्थानीय उत्तमदास मानन्धर हुन् । मानन्धरका अनुसार पम्प ०४३ सालमा स्थापना भएको हो । सुरुमा भने पम्प घरबाहिर थियो ।

मानन्धरका अनुसार उक्त पम्प सडकको मध्य विन्दुबाट ११ मिटरको दूरीमा थियो । त्यतिबेला यो दूरी र संरचनाका हिसाबले सुरक्षित एवं निगमले तोकेको मापदण्ड बमोजिमकै भएको मानन्धरको दाबी छ ।

तर ०६९/७० मा सडक विस्तारको क्रम सुरु भएपछि पम्प घरभित्र पसेको हो । बालाजु चोकतर्फबाट दायाँ १८ मिटर र बायाँतर्फ १५ मिटर कायम गरेर सडक विस्तार गरिँदा १८ मिटरतर्फ परेको पम्प सडकले खाएको मानन्धरको भनाइ छ ।

‘दुवैतर्फ १५/१५ मिटर गर्दा सडक साँघुरो हुने तर दुवैतर्फ १८/१८ मिटर गर्दा बायाँतर्फका घरहरुमा ठूलो क्षति पुग्ने भए पछि १५/१८ मिटर कायम गरिएको हो,’ उनले भने ।

सडक बिस्तारपछि मानन्धरले १८ मिटर पछि हटेर घरभित्र पम्प राखे । तर ०७१ मा घर भत्काउन र भित्र सारिएको पम्प हटाउन उपत्यका विकास प्राधिकरणले चिनो लगायो । त्यसपछि उनी पुनरावेदन अदालत पाटन गए ।

अदालतको यस्तो फैसला

कोतः धुक आयल स्टोर रहेको जमिनको स्वामित्व रामकुमारी मानन्धरको नाममा छ । उनले ०७१ सालमा काठमाडौं उपत्यका विकास प्राधिकरण अनामनगर, प्राधिकरणका प्रमुख, मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशनालय बबरमहल, डिभिजन सडक कार्यालय नक्साल, काठमाडौं महानगरपालिका र सडक निर्माण ठेक्का पाएको महालक्ष्मी कन्स्ट्रक्सनलाई विपक्षी बनाएर पुनरावेदन अदालत पाटनमा मुद्दा दायर गरेकी थिइन् ।

नागरिक अधिकार ऐन २०१२ को दफा १७ बमोजिम अदालतले निवेदकको पक्षमा फैसला गरेको थियो । ०७२ भदौ ३० गते फैसला गर्दै पुनरावेदन अदालत पाटनले घर र पेट्रोल पम्प सार्ने निर्णय नगरपालिका र नगरोन्मुख गाविसहरुमा गरिने निर्माणसम्बन्धी मापदण्ड, २०६४ को दफा १३ को ९ख) ३ बमोजिम नभएको फैसला गरेको थियो ।

ऐनको मापदण्ड अनुसार घर र पम्प भत्काउन प्राधिकरणले गरेको सूचना गलत भएको अदालतको ठहर छ । न्यायाधीशद्वय तिल श्रेष्ठ र मोहनबहादुर कार्कीको फैसलाले घर र पम्पलाई पुनः भत्काउन नहुने निवेदकको माग जायज भने पनि फैसलाले घरभित्र पम्प सञ्चालन गर्नु कानुनसम्मत छ वा छैन भन्ने बोलेको छैन ।

के छ मापदण्ड ?

नेपाल आयल निगमको बिक्रेता विनियमावली २०६५ ले साधारण बिक्रेताले पालना गर्नुपर्ने भन्दै पेट्रोल पम्म सञ्चालनका लागि २२ वटा मापदण्ड तय गरेको छ । मापदण्ड अनुसार नगरपालिकाभित्र पम्प सञ्चालन गर्न कम्तीमा एक रोपनी आठ आना वा दुई कठ्ठा जमिन हुनु पर्नेछ । पम्पको अगाडिको मोहोडा २० मिटर र चौडाइ १२ मिटर हुनु पर्नेछ । इन्धन बिक्रीस्थल र सडक आरसीसी वा ढुंगा छापी सिमेन्ट जोडाइको हुनु पर्नेछ ।

सवारी आवतजावत गर्न बाधा नहुने गरी संरचना बनाइनु पर्छ । पक्की कम्पाउण्डले बिक्रीस्थल घेरिएको हुनु पर्नेछ भने पर्खालमा काँडेतार अनिवार्य गरिएको छ । अग्नि सुरक्षाको लागि एक हजार लिटरको पानी ट्याङ्की, १० किलो क्षमताका फायर एक्टिङ्गग्विसर दुई थान र प्रशस्त मात्रामा बालुवा पम्पमा हुनु पर्नेछ ।
निगमले तोकेको मापदण्ड बालाजु चोकको कोतः धुक आयल स्टोरमा पूरा भएको छैन । पम्पको एकमिटर दूरीमै ज्योती विकास बैंकको एटीएम बुथ छ भने दुई मिटरको दूरीमा बैंक । घरको कोठामा पम्प र कोठाभित्रै इन्धन भण्डारण गर्ने ट्याङ्की छ ।

पम्प भएको घरमा पम्प धनी उत्तम मानन्धरको परिवार बसोबास गर्दै आएका छन् । मुल सडकमा गाडी रोकेर सवारी चालकहरुले इन्धन भरिरहेको देख्न सकिन्छ । निगमको मापदण्डमा कल्पनै नगरिएको दृष्य यो पम्पमा जोकसैले देख्न सक्छन् ।

मुद्दा विचाराधीन रहँदै पम्पलाई तेल

काठमाडौं उपत्याका विकास प्राधिकरणको पत्रपछि ०७१ जेठ २५ गतेबाट निगमले पम्पलाई इन्धन दिन रोक्यो । तर, प्राधिकरण आफैंले पम्पलाई तेल दिन नरोक्न नेपाल आयल निगमलाई पत्राचार गर्‍यो । प्राधिकरणले सडकको केन्द्रबाट १५ मिटर छोडेर पम्प चलाएकाले तेल दिन कुनै बाधा नभएको पत्र निगमलाई पठाएको थियो ।
मन्त्रालयको प्रस्तावअनुसार पम्पलाई इन्धन रोकेको ३ महिनापछि निगमले थानकोट डिपोलाई पत्र लेखेर प्राधिकरणको पत्रलाई आधार मान्दै अनुगमन गरेर तेल दिन पत्र पठायो । निगमका निमित्त निर्देशक ई.वीरेन्द्र गोइतको पत्रमा पम्पको स्थलगत निरीक्षण गरेर मात्रै तेल दिन भनिएको छ ।

निर्देशक गोइतको पत्रमा निगमले तोकेको मापदण्ड अनुसार तेल दिनु भनिएको बुझिन्छ । तर डिपोले पम्पको हाल रहेकै संरचनामा तेल दिन राजी भएको छ । फलस्वरूप ०७१ देखि यो पम्प घरभित्र सञ्चालनमा छ ।

यदि थानकोट डिपोले स्थलगत निरीक्षणमा पम्पलाई तेल दिन जायज भएको ठानेको हो भने यहीनेर त्रुटि भएको निगम स्रोत बताउँछ । तर पम्पको पूर्वाधारका विषयमा प्रश्न उठे पनि सुरक्षाका मामलामा कुनै कसर बाँकी नराखिएको पम्पका म्यानेजर भट्ट बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment