Comments Add Comment

विमानस्थलको सुरक्षा चेकजाँच पास गर्दै कसरी भित्रियो ५ करोडको कोकिन ?

५ भदौ, काठमाडौं । दोहाबाट कतार एयरवेजको उडानमार्फत बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका आइभेरिकोष्टका नागरिक मार्केल गुलीले सुरक्षा जाँचपास गर्दै सहजै बाहिरिए । करिब ५ करोड मूल्य पर्ने कोकिन बोेकेका उनले विमानस्थलमा रहेको भन्सारको ‘एक्स–रे’ जाँच सहजै पास गरेका थिए ।

तर, राहदानी नंं. १८एटी९५५१४ बाहक ३५ वर्षीय गुली सादा पोशाकका अधिकृतको घेराबन्दीमा परे ।

उनले सुरुमा त केही अनुमान लगाउन सकेनन् । तर, जब अधिकृतले लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वरबाट खटिएको परिचय देखाए, उनको अनुहारको रंग फेरियो ।

गुलीले ब्यूरोका अधिकृतहरुलाई ढाट्ने प्रयास नगरेका पनि होइनन् । ‘निलो रङको सुटकेश खोलेर हेर्दा हाम्रो सूचना सही साबित पनि भयो’, ब्युरोका प्रहरी उपरीक्षक (एसपी) कृष्ण प्रसाईं भन्छन्, ‘फल्सबटम बनाएर तलमाथि प्लाइहुड राखेर कागजको पातामा राखेको अवस्थामा एक किलो ६ सय ग्राम कोकिन भेटियो ।’

विभिन्न वेबसाइटमा उल्लेख भएअनुसार अहिले कोकिनको मूल्य कालोबजारमा प्रतिग्राम ३० हजार रुपैयाँ छ । जसअनुसार, गुलीबाट बरामद कोकिनको मूल्य ४ करोड ८० लाख पर्न आउने देखिन्छ ।

भन्सारका हाकिम भन्छन्– दृश्य नै चिनिएन

प्रहरीलाई सुराकी प्राप्त नभएको भए सायद भन्सार जाँचबाट फुत्केका गुली अहिले भारततिर प्रस्थान गरिरहेका हुन्थे ।

तर, ब्युरोको निगरानीका कारण गुली पक्राउ मात्र परेका छैनन्, देशकै एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षामाथि गम्भिर प्रश्न पनि खडा गरिदिएका छन् ।

आखिर भन्सार जाँचबाट कसरी बाहिरियो कोकिन ? ब्युरोका प्रमुख डीआईजी दिनेश अमात्य ‘कार्बनका राखिएका कारण पनि हुनसक्छ’ भन्दै पन्छिए ।

विमानस्थलका भन्सार प्रमुख गजेन्द्र ठाकुर भने कर्मचारीलाई तालिम अभाव भएको दाबी गर्छन् । ‘स्क्यान गर्दा देखिएको इमेजको आधारमा हामीले वस्तुको पहिचान गर्ने हो’, ठाकुरले अनलाइनखबरसँग भने, ‘तर, हाम्रा कर्मचारीलाई अहिलेसम्म कोकिनको कस्तो इस्पेक्सन देखिन्छ भन्ने अनुभव थिएन ।’

स–साना ६ वटा बट्टामा राखिएका कारण कोकिनको चकलेट जस्तो दृश्य देखिएकाले चिन्न गाह्रो भएको उनको दाबी छ । ‘मैले पनि कोकिन समातिएको थाहा पाउना साथ दृश्यहरु मगाएर हेरेको थिएँ’, ठाकुरले सुनाए, ‘चकलेटको जस्तो इमेज बनेको रहेछ । कोकिनको दृश्य नदेखेकाले समस्या भयो ।’

चेकजाँचमा बस्ने अधिकारीलाई गराइने तालिमका क्रममा कोकिन लगायतका लागूऔषधको दृश्य मागिए पनि प्राप्त नभएको उनले गुनासो गरे । ‘सुन, चाँदी, नोट लगायतको इमेज हामीसँग हुन्छ, त्यसआधारमा सहिजै पहिचान गर्छौं’, उनले भने, ‘लागूऔषधको हकमा पनि प्रहरीसँग इन्टरपोलको सूचना हुन्छ, डग इस्निफिङ लगायत हुन्छ, त्यसैले पनि बाहिर समातिन्छन् ।’

तर, यो घटनाले यसअघि पनि त्रिभुवन विमानस्थल हुँदै कोकिन भित्रिएको हुनसक्ने देखाएको अनुसन्धान अधिकृत बताउँछन् । ब्युरोका पूर्वप्रमुख समेत रहेका हेमन्त मल्ल ठकुरी भन्छन्, ‘तस्करले कानून कार्यान्वयन गराउने निकायको कमजोरीभित्र छिर्ने प्रयास सधैं गरिरहन्छन् । त्यसैले हिजोका दिनमा लागूऔषध आउँदै नआएको भन्न पनि मिल्दैन ।’

ब्युरोका अधिकृतका अनुसार, सन् २०१९ मा नेपालमा भएको कोकिनको पहिलो सिजर यही हो । ‘अरु अपराधका घटनामा जस्तो लागूऔषधमा सिजर नहुँदा कारोबार नै भएको छैन भन्न मिल्दैन’, ठकुरी भन्छन् ।

६ महिनाका लागि भारतको भिसा

संयुक्त राष्ट्रसंघले २०७३ सालमा सार्वजनिक गरेको एक प्रतिवेदनका अनुसार, विश्वमा बरामद हुने कोकिनको ५९ प्रतिशत हिस्सा दक्षिण अमेरिकी मुलुकमा उत्पादन हुन्छ भने अन्य दक्षिण अफ्रिकी मुलुकमा उत्पादन हुन्छ ।

नेपालमा बरामद हुने कोकिन पनि दक्षिण अफ्रिकी र अमेरिकी मुलुकबाटै आउने ब्युरोका अधिकृत बताउँछन् । एसपी प्रसार्ईं भन्छन्, ‘यो कन्साइनेमन्ट चाहिँ नाइजेरियाबाट आएको जस्तो देखिन्छ ।’

गुलीको पासपोर्ट हेर्दा उनी नाइजेरियाको लागोस्बाट दोहा उत्रिएर काठमाडौं आएको देखिएकाले पनि अनुसन्धान अधिकृतले नाइजेरियाबाट कोकिन आएको हुनसक्ने आशंका गरेका हुन् ।

पासपोर्टमा अप्रिलदेखि अक्टोबरसम्म ६ महिनाका लागि भारतको भिषा पनि लागेको देखिन्छ । त्यसैले उनलाई कोकिन भारतसम्म पुर्‍याउने जिम्मेवारी दिइएको हुनसक्ने अनुमान गरिएको छ । कोकिनको बजार युरोपियन मुलुकसहित चीन, जापान, भारत लगायत हो । नेपालमा भने कोकिनका प्रयोगकर्ता देखिएका छैनन् ।

सोल्टी होटलमा नाटकीय बुकिङ

ब्युरोका अनुसन्धान अधिकृतकाअनुसार गुलीको बयानमा असहयोग गरेका छन् । ‘यति प्रोफेसनल छ कि मरिगए बोल्दैन । त्यो के हो भन्ने समेत थाहा छैन भन्छ’, अनुसन्धान अधिकृत भन्छन्, ‘हामीले विभिन्न विधिबाट बयान लिने प्रयास गरिरहेका छौं ।’

प्रहरी अधिकृतहरुका अनुसार उनको हरेक गतिविधिमा शंका गर्नुपर्ने आधार देखिएका छन् । तर, पुष्टि गर्नलाई प्रमाण न्यून भेटिन्छन् । कतिसम्म भने यदि पक्राउ परिहाले के गर्ने भन्ने योजना पनि नाइजेरियाबाटै बनाएर आएका रहेछन् । ‘उसले अनलाइनबाट सोल्टी होटलमा कोठा बुक गरेको देखिन्छ’, अनुसन्धान अधिकृत भन्छन्, ‘तर भरिया मात्र भएकाले त्यसमा शंका लागेको छ ।’

पक्राउ परिहाले बसेको स्थानबारे झुक्कयाउन सकियो भनेर सोल्टीमा बुक गरेको हुनसक्ने प्रहरीको आशंका छ । उनले सेप्टेम्बर २ सम्मका लागि होटलमा कोठा बुक गरेका थिए । ‘होटलमा कोठा बुक गरिएको विषय र तस्करीको सञ्जालबारे विस्तृत अनुसन्धान भइरहेको छ’, डीआईजी अमात्य भन्छन् ।

०६९ देखि ३७.१ किलो कोकिन बरामद

नेपालमा पहिलो पटक कोकिन बरामद भएको सन् २०११ डिसेम्बर २७ मा हो । त्यसवेला थाई महिला सुपरेत्ता मेक्यान्तोस एक किलो कोकिनसहित विमानस्थलबाटै पक्राउ परेकी थिइन् । पेरु, अर्जेन्टिना, कतार हुँदै उनी नेपाल आएको देखिएको थियो । मलेसिया हुँदै थाइल्यान्ड जान लागेको वेला उनी नेपालमा समातिइन् ।

यो घटनायता अहिलेसम्म नेपालमा ३७.१ किलो कोकिन बरामद भइसकेको छ । प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागका अनुसार, सन् २०११ पछि एकैपटक २०१४ मा ५ किलो कोकिनसहित भरिया पक्राउ परेका थिए ।

सन् २०१५ मा ११, २०१६ मा १२, २०१७ मा ४.५ र सन् २०१८ मा २ किलो कोकिन बरामद भएको तथ्यांक छ । त्यसपछि कोकिन समातिएको घटना बुधबारको हो ।

यो घटनामा पनि पहिले झैँ भरिया मात्रै समातिएका छन् भने मालिक पक्राउ परेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment