Comments Add Comment

कामकाजी महिलाको कुराः कसरी सम्हाल्ने घर ?

कामकाजी महिलाको एक तिहाइ जीवन ‘लाइफ स्टाइल डिजिज’ अर्थात घरेलु समस्याबाट उत्पन्न हुने स्वास्थ्य समस्याको चपेटामा पर्छ । एक सर्वेक्षणका अनुसार २० देखि ४० वर्षसम्मका महिलालाई लाइफ स्टाइल डिजिजको खतरा धेरै हुन् सक्छ । त्यसैले समयमा नै यसबारे ध्यान दिनु आवश्यक छ, कालान्तरमा यसका कारण अनेक समस्याहरु उत्पन्न हुन पनि सक्छन् ।

यसकारण डिप्रेसन, मोटोपन, ब्लडप्रेसर, डाइबिटिज जस्ता समस्याहरु देखिन थाल्छ । कामकाजी महिलालाई घर बाहिर र घरभित्रको जिम्मेवारीका कारण उत्पन्न भएको अत्याधिक तनावका कारण यस्ता समस्याहरु देखिन थाल्छन् ।

यदि तपाईं कामकाजी महिला हुनुहुन्छ भने त तपाईंमा जिम्मेवारीको बोझ बढी नै हुन्छ । तपाईं कामबाट घर फर्किंदा तपाईंले घरमा गर्नुपर्ने जिम्मेवारीले तपाईंको बाटो हेरिरहेको हुन्छ । तपाईं कामबाट थाकेर घर आउनु हुन्छ भनेर तपाईंको काममा सघाउने कोही हुँदैन् ।

तपाईं  कामबाट घर र्फकंदा असहाय अनुभव गर्नु हुन्छ । यस्तो परिस्थितिमा तुरुन्त कुनै पनि अपि्रय स्थिति झेल्न अथवा घरको कुनै कार्य गर्न तपाईंको लागि सम्भव हुँदैन् । त्यस्तो स्थितिमा परिवार, चाहे त्यो संयुक्त होस् अथवा एकल, यदि घरको सम्पूर्ण कुराको अपेक्षा बुहारीसँग राखिएको खण्डमा तनावको स्थिति उत्पन्न हुन थाल्छ ।

जीवनमा एउटी महिलाको अनेक भूमिका हुन्छ । विवाह अगाडि उनी कसैकी छोरी, दिदी अथवा बहिनी हुन्छिन् भने विवाहपछि कसैकी श्रीमती, बुहारी, आमा तथा समय बित्दै जाँदा सासू र हजुरआमा समेत बन्छिन् ।

महिलाको विवाहपछिको दायित्व भने सबैभन्दा महत्वपूर्ण र बढी हुन्छ । उनले आफूसँगै घर-परिवारको पनि जिम्मेवारी उठाउनु पर्छ । यस्तो स्थितिमा यदि तपाईंको पनि घरमा सासू हुनुहुन्छ र सासूसँग सम्बन्ध सुमधुर छ भने त तपाईंलाई यी सबै जिम्मेवारी निर्वाह गर्नका लागि सहयोग नै पुग्छ ।

पहिलेको अवस्था

युवतीहरु ठूली भएपछि विवाह गर्ने परम्परा पुरानै हो । अझ संयुक्त परिवारमा विवाह भएको रहेछ भने त सम्पूर्ण परिवारको राम्रो-नराम्रो, मन परे-नपरेका सबै परम्परा उपनाउँदै, ती परम्पराहरुलाई निभाउँदै हरेक प्रकारले सबैलाई खुशी बनाउँदै आफ्नो जागिरमा समेत कुनै किसिमको बाधा अड्चन आउन दिँदैन थिए ।

उनले कमाएको पैसामा उनको कुनै अधिकार हुँदैन थियो । उनलाई उनको मान-सम्मान र आत्मविश्वास प्राप्त हुँदैन् थियो, तर उनीमाथि सबैको हक हुन्थ्यो । जागिर खानु उनको परिवारको होइन, उनी स्व्ायमको समस्या हुन्थ्यो । उनले परिवारका सबै सदस्यप्रति आफ्नो कर्तव्य पालना गर्नका लागि हरेक समय तयार रहनु पर्दथ्यो । आफ्नो जीवन खुशी र सुखी बनाउनका लागि उनी एक असल श्रीमती, आमा, बुहारी, भाउजु जस्ता हरेक भूमिकालाई राम्रोसँग निभाउनु पर्दथ्यो । श्रीमानलाई उनको जागीरे जीवनप्रति कुनै किसिमको सहयोग रहँदैन थियो ।

संयुक्त परिवारको सम्पूर्ण जिम्मेवारी पूरा गरेर र श्रीमानद्वारा कुनै किसिमको सहयोग नपाउने बाध्यता रहँदारहँदै पनि ती महिलामा आफूले कमाएको पैसामा आफ्नो अधिकार रहँदैन थियो । उनले ती पैसालाई आफ्नो हिसाबले खर्च गर्न पाउँदैन थिए । दुःख गरेर पैसा उनले कमाउँथिन् तर पैसाको हरेक हिसाव श्रीमानले राख्ने गर्दथे ।

घरको सम्पूर्ण जिम्मेवारीहरु बाहेक अन्य सामान्य समस्याहरुमा पनि उनलाई अफिसबाट छुटि्ट लिन बाध्य बनाइन्थ्यो । यी सबै कुराको असर उनको कार्य क्षमतामा पर्दथ्यो । आवश्यक पर्दा अनलाइन् सपिङ गर्ने जस्ता सुविधा पनि उनीहरुसँग हुँदैन थियो । संयुक्त परिवारमा अत्यधिक काम हुन्थ्यो, तर भान्छामा काम गर्न सजिलो होस् भन्नाका लागि कुनै सुविधाजनक उपकरण पनि हुँदैन थियो ।

नयाँ पुस्ताका कामकाजी महिला

समय धेरै बदलिइसकेको छ । हिँजोआज एकल परिवारको चलन बढी छ, जहाँ श्रीमानले श्रीमतीको हरेक काममा सहयोग गर्छन् । तर पनि बच्चाले प्रायः आमालाई नै पछ्याउने भएकाले पारीवारिक जिम्मेवारीहरु कम छैनन् । घरका कतिपय कामहरु जुन महिलाले मात्र राम्ररी गर्न सक्छन्, त्यो आफैंले नै गर्नुपर्ने बाध्यता छ । तर, यति हुँदाहुँदै पनि पहिलाको भन्दा अहिलेका महिलाहरुको स्थिति सन्तोषजनक छ ।

आज, घरमा खाना पकाउन अल्छी लागेको बेला अथवा आवश्यक परेको बेला बाहिरबाट खाना मगाउन मिल्ने स्थिति छ । हरेक आवश्यक सामान घरमै बसीबसी अनलाइनमार्फत किन्न सकिन्छ । हिँजोआजका सासू-ससुरा पनि नयाँ जमानाअनुसार चल्ने भएका छन् । बुहारीलाई पनि छोरीसरह मानेका छन् । आजका शिक्षित सासू ससुराले बुहारीहरुको भावना पनि बुझ्छन्, सहयोग गर्छन् ।

पहिलेका ती बुहारीहरु, जो अहिले सासु बनेका छन्, उनीहरुले आफ्नो समयका संयुक्त परिवारको हरेक कर्तव्य पूरा गरे । तीमध्ये कतिले जागिर पनि खाए । जागिरको साथसाथै आफ्नो गृहस्थी पनि सम्हालेका थिए । आज पनि यदि उनीहरुका छोरा-बुहारीसँगै छन् भने उनीहरुको पनि गृहस्थी सम्हालिरहेका छन् । जसका कारण आज बुहारीभन्दा सासूहरुसँग धेरै आशावादी रहन थालिएको छ ।

जुन कामकाजी महिला आफ्ना सासू-ससुरासँग बस्छन्, उनीहरुले घरव्यवहार चलाउन र बच्चाको लालन-पालनमा सहयोग पाउँछन् । तर जब आफूले कमाएको पैसाको कुरा आउँछ, उनको सोचाइ आम गृहिणी जस्तो हुन्छ । श्रीमानको पैसामा मात्र सबै परिवारको अधिकार हुन्छ, मैले कमाएको पैसा केवल मेरो मात्र हो भन्ने सोचाइ उनमा उत्पन्न हुन्छ ।

उनी आफूले कमाएको पैसा आफूले चाहेअनुरुप खर्च गर्न चाहन्छिन् भने श्रीमानको कमाइमा पनि अरुकोभन्दा धेरै अधिकार आफ्नो होस् भन्ने उनको चाहना हुन्छ । श्रीमतीको अनुमतीविना श्रीमानले आफ्नो परिवारका लागि आफ्नो कमाइ खर्च गर्न सक्दैन् ।

कर्तव्य र अधिकार

सासू-ससुराको आफ्नो परिवारप्रतिको कर्तव्य के हो भन्ने कुरा बुहारीलाई सबै थाहा हुन्छ,  तर आफ्नो कमाइको केही प्रतिशत सासु-ससुराको लागि पनि छुट्याउनु पर्छ भन्ने कुरा उनी कल्पनासमेत गर्न चाहान्नन् । उनको विचारमा छोराको कमाइमा सासू-ससुराको थोरै मात्र अधिकार हुन्छ । तर जुन महिलाले यस्तो सोच्छन्, उनीहरु आफ्नो जागिर बचाउनका लागि अरुको सहयोग चाहन्छिन् भने आफ्नो कमाइमा पनि सबैको अधिकार हुन्छ भन्ने कुरा राम्रोसँग बुझ्नु पर्छ । यदि उनले कुनै पनि किसिमले परिवारलाई सहयोग गर्ने र परिवारसँग राम्रो व्यवहार गर्न थाल्छिन् भनेमात्र उनले अरुसँग सहयोगको आशा राख्न सक्छिन् ।

कहिलेकाहीँ महिलाहरु त्यस्तो जागिरे जीवन बिताउँछन्, जसमा उनले घरलाई पूर्णरुपले आर्थिक सहयोग पनि गर्न सक्दैनन् र घरको जिम्मेवारी पनि राम्रोसँग बहन गर्न सक्दैनन् । आजको युवा पुस्ताका प्रायः कामकाजी महिलालाई सासूको कर्तव्य त याद रहन्छ तर आफ्नो सबै कर्तव्य भने बिर्सन्छन् । उनले सासुबाट आमाको र श्रीमानको घरबाट आफ्नो माइतीको जस्तो व्यवहार चाहान्छन्, तर आफू स्वयं छोरी जस्तो कर्तव्य र माया दिने कुरा भने बिर्सन्छन् ।

पछिल्लो केही समयदेखि सम्पूर्ण उपदेशहरु केवल सासूलाई मात्रै दिन थालिएको छ । घर परिवारमा सासूको कर्तव्य के हो भन्ने कुरा चर्चाको विषय बन्न थालेको छ । तर छोरा-बुहारीले पनि आफ्नो गृहस्थी सासूको भरोसामा छोड्ने समय पनि अब छैन । श्रीमान-श्रीमतीले मिलेर आफ्नो गृहस्थी चलाउनु बुद्धिमानी हुन्छ । सासु-ससुराले जीवनभर संघर्ष गरे, अब केही समय उनीहरुलाई बिश्राम दिएर आफ्ना चाहाना अनुरुप बाँच्न दिनु पर्छ । उनीहरुबाट जति सक्छन्, त्यति मात्र सहयोगको अपेक्षा राख्नु पर्छ, सम्पूर्ण जिम्मेवारी उनीहरुमाथि लाद्नु हुँदैन ।

यस्तो होस् कामकाजी महिलाको जीवनशैली

कामकाजी महिला चाहे ती नयाँ पुस्ता को हुन् वा पुरानो पुस्ताको, बच्चा भएपछि केही वर्ष उनको जीवन तनावै तनावले बित्छ । दोहोरो जिम्मेवारीको बोझले तनाव र अन्य स्वास्थ्य समस्याले घेरिएकी महिलाले बच्चा ठूला भएपछि केही समय आफ्नोलागि निकाल्नु आवश्यक हुन्छ । जुन घरमा श्रीमान् अथवा घरका अन्य सदस्यले उनको कामकाजमा सहयोग गर्छन्, त्यस्ता परिवारका महिलाहरुको स्वास्थ्य पनि राम्रो हुन्छ । तर यसको लागि कामकाजी महिलाले पनि आफ्नो व्यवहार र स्वभावलाई राम्रो र सुमधुर बनाउन आवश्यक हुन्छ ।

घरमा दिनभरीको काम सासूले गर्ने, बच्चालाई स्कुलबाट सासूले ल्याउने, काम गर्नेलाई सासूले नै काम अराउने, घरको सम्पूर्ण सरसफाइको जिम्मा सासूको तर ती सबैको उपयोग भने छोरा-बुहारीले गर्ने ? त्यस्तै घरको सम्पूर्ण कुराहरु राखन-धरन सासु-ससुराले गर्ने तर यसको निर्देशन बुहारीले गर्ने ? यदि घरमा बच्चा बिरामी भयो भने अस्पतालमा सासू नै कुरुवा बस्नु पर्ने ? जसरी सासू र ज्वाइँको सम्बन्ध सुमधुर हुन्छ, त्यसको ठीकविपरित सासू-बुहारीको सम्बन्धमा सासू शब्द सम्माननीय हुन्छ, तर वास्तविकतामा तथा व्यवहारमा भने उनी सधैं पेलिएकी हुन्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment