+
+
WC Series
Oman
113/9 (20)
VS
Nepal won by 38 runs
Won Nepal
151/9 (20)
Shares
कास्कीमा उपनिर्वाचनको चहल पहल :

वामदेवको उम्मेदवारीमा अलमल, साटो फेर्ने दाऊमा कांग्रेस

नेकपा र कांग्रेसमा आकांक्षी धेरै, साझा पार्टी पनि मैदानमा उत्रने

अमृत सुवेदी अमृत सुवेदी
२०७६ भदौ १३ गते १५:०९

१३ भदौ, पोखरा । तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको निधनपछि खाली रहेको कास्की क्षेत्र नम्बर २ ले फेरि एकपटक सिंगो नेपालकै ध्यान खिच्दैछ । यो निर्वाचन क्षेत्रबाट नेकपाका उपाध्यक्ष वामदेव गौतमले समेत निर्वाचन लड्ने ईच्छा देखाएका छन् ।

मंसिर १४ को उपनिर्वाचनमा कास्की २ चासोको केन्द्र बन्नुको खास कारण धेरैवटा छन् । तर, त्योभन्दा पहिले ०७४ सालको निर्वाचनलाई हेरौं ।

तत्कालीन एमाले नेता रवीन्द्र अधिकारी, जसले विद्यार्थी कालदेखि नै ख्याति कमाएका थिए । सार्वजनिक यातायातमा विद्यार्थीलाई ३३ प्रतिशत सहुलियत दिलाउनेदेखि गायक प्रवीण गुरुङ हत्याकाण्डमा तत्कालीन शाहज्यादा पारसको उपाधि खोस्नेसम्मको आन्दोलनले अधिकारीलाई चिनाएको थियो । उनी विद्यार्थी कालमा पृथ्वीनारायण क्याम्पसदेखि त्रिभुवन विश्वविद्यालयको स्ववियु सभापतिसम्म भए । पलिोपटक निर्वाचन जितेर विकास समिति सभापति बनेपछि पोखरेली युवा नेता रवीन्द्रको ख्याति अझै उचाइमा पुग्यो ।

रवीन्द्रलाई टक्कर दिन प्रखर वक्ता र नेताका रुपमा चिनिएका कांग्रेसका देवराज चालिसे मैदानमा उत्रिएका थिए । त्रिभुवन विश्वविद्यालयमा ०४९ सालमा स्ववियु चुनाव जितेका कांग्रेस नेता चालिसेको कार्यकालपछि रवीन्द्र स्ववियु सभापति बनेका थिए । वौद्धिक र तार्किक नेताका रुपमा चिनिएका चालिसे टिकट पाउन योग्य तर नपाएका नेताका रुपमा सधैँ कांग्रेसभित्र चर्चामा रहे । यी दुई पूर्वविद्यार्थी नेताको लडाईंलाई कास्कीमा निकै रोचक ढंगले हेरिएको थियो ।

दुईपटक संसदीय चुनाव जितिसकेका नेता रवीन्द्र आगामी चुनावमा पनि ह्याट्रिक गर्ने दाउमा थिए । तर, ०७४ को संसदीय निर्वाचनमा चालीसे र अधिकारीबीचको प्रतिस्पर्धा यसै भन्न सक्ने स्थिति थिएन । धेरैको विश्लेषण थियो, कास्कीमा ठूलो मतान्तरण हुँदैन । तर, धेरैको अनुमानलाई गलत सावित गर्दै झण्डै ९ हजार मतान्तरले रवन्द्रिले ह्याट्रिक मारे । रवीन्द्रले ह्याट्रिमात्रै मारेनन्, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पनि बने ।

रवीन्द्रको गत फागुनमा ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परेर निधन भयो । र, अहिले कास्की क्षेत्र नम्बर दुई खाली छ, जहाँ आगामी मंसिर १४ गते उपचुनाव हुँदैछ ।

नेकपामा वामदेव र विद्याको चर्चा

रविन्द्र अधिकारीको निधनपछि मंसिरमा हुने उपनिर्वाचनमा धेरैको चासो र ध्यान कास्की क्षेत्र नम्बर २ मै छ । एक त रवीन्द्रको क्षेत्र भएका कारण पनि चर्चामा छ । अर्को, उनकै जीवनसाथी विद्या भट्टराईदेखि नेकपाका ठूला नेता वामदेव गौतमसम्म उम्मेदवारीको चर्चाले पनि धेरैको चासो बढेको छ । देशकै एकमात्र प्रतिनिधि सभाको उपनिर्वाचन यही क्षेत्रमा हुने भएकाले पनि अर्थपूर्ण रुपमा हेरिएको छ ।

ठूलो मतान्तरका साथ चुनाव जितेको नेकपाभित्र उम्मेदवारहरुको चर्चा हुनु स्वाभाविकै हो । नेकपा नेतादेखि समर्थित कार्यकर्ताको पहिलो रोजाई रवीन्द्र पत्नी विद्या नै हुन् । रवीन्द्रको निधनपछि पोखरा आएका वामदेवले नै पहिलोपटक विद्यालाई उम्मेदवारी दिनुपर्ने मुख खोलेका थिए ।

पछिल्लो समय विद्यालाई राष्ट्रिय सभामा पठाउने र वामदेवलाई यो क्षेत्रमा उठाउने हल्ला फैलिएपछि भने नेकपाका नेताहरुले मुख खोल्न सकेका छैनन् ।
नेकपाभित्र कुनै समय कुनामा पारिएका र आफ्नै क्षेत्रबाट चुनाव हारेका वामदेव यतिबेला नेकपाका उपाध्यक्ष छन् । नेकपाभित्रको समीकरणमा टाढा राख्न पनि नहुने र नजिक ल्याउन पनि नसकिने नेताका रुपमा नेकपाका केन्द्रीय नेताहरु वामदेवको चर्चा गर्छन् । उनै नेता यतिबेला जसरी पनि संघीय संसदमा छिर्न चाहन्छन् ।

काठमाडौंमा आफूनिकट सांसद रामवीर मानन्धरलाई राजीनामा गराएर चुनाव उठ्ने वामदेको महत्वकांक्षा व्यापक विरोधपछि असफल बनेको थियो । अरु विभिन्न जिल्लाबाट पनि वामदेवले नेकपाका सांसदलाई राजीनामा गराएर चुनाव लड्न नचाहेका होइनन् । तर, रविन्द्रको निधनपछि अहिले वामदेवको ध्यान कास्कीतिर सोझिएको छ ।

तर, जिल्ज्लाका अधिकांश नेताहरु चाहिँ तथा सांसद रवीन्द्र पत्नी विद्यालाई उठाएमा सीट सुरक्षित पनि हुने र न्याय पनि हुने पक्षमा छन् । कास्कीका एक नेकपा नेता भन्छन्, ‘वामदेव नै उठ्ने भए हुँदैन भनेर मुख फोर्न पनि नसकिने र सहयोगै गर्दा पनि खासै मन खुसी नहुने ।’

रवीन्द्र पत्नी विद्याले भने चुनाव उठ्ने विषयमा अझसम्म मुख खोल्न सकेकी छैनन् । उनी भन्छिन्, ‘राजनीतिबाट टाढामात्रै भएकी हुँ, राजनीतिमा सक्रिय हुने सम्भावना त छँदैछ । पार्टीले दिएको जिम्मेवारी पूरा गर्ने अवसर आए पछि पर्दिनँ ।’

प्यासीदेखि रवीन्द्रका सहपाठीसम्मको चर्चा

नेकपाभित्र वामदेव र विद्याबाहेक अरु दाबेदार नै नभएका चाहिँ होइनन् । तर, विद्या र वामदेवको च्याप्टर क्लोज भएपछिमात्रै अरु नेता टिकट माग्ने दाउमा छन् ।

पूर्वसांसद तथा नेकपा नेता सोमनाथ प्यासी पनि कास्की क्षेत्र नम्बर २ मा उम्मेदवार बन्न चाहन्छन् । जनपक्षीय उम्मेदवार बनेर चुनाव जितेका प्यासी कुनै बेला प्रखर र चर्चित नेताका रुपमा चिनिन्थे ।
रवीन्द्र अधिकारीका सहपाठी धनराज आचार्यलाई पनि प्रमुख दाबेदारका रुपमा हेरिएको छ । पृथ्वीनारायण क्याम्पसका पूर्वस्ववियु सभापति आचार्य यसअघिको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा आकांक्षी थिए । रवीन्द्र प्रतिष्ठानका उपाध्यक्षसमेत रहेका आचार्य तत्कालीन एमालेनिक राष्ट्रिय वाणिज्य संघका अध्यक्ष हुन् । पार्टीभित्र र जनताबीच प्रभाव पनि भएकाले आचार्यले टिकट लिन लबिङ गरिरहेका छन् ।

त्यस्तै नेकपा कास्कीका सह-इञ्चार्ज श्रीनाथ बराल पनि आकांक्षी छन् । माधवकुमार नेपाल गुटका नेताका रुपमा चिनिने बराल क्षेत्र नम्बर १ को प्रदेश सभा सदस्यका आकांक्षी थिए । पृथ्वीनारायण क्याम्पसका पूर्वस्ववियु सभापति रश्मी आचार्यले पनि समूह, सर्कलमा आफू पनि उम्मेदवार हुने बताइरहेका छन् ।

गत चुनावमा माओवादी र एमालेवीच देशव्यापी तालमेल हुँदा यो निर्वाचन क्षेत्र तत्कालीन एमालेको भागमा परेको थियो । यसकारण पनि पूर्वमाओवादीबाट यहाँ टिकट पाउने सम्भावना छैन ।

कांग्रेसमा आधा दर्जनको होडबाजी

अघिल्लो निर्वाचनमा निराशाजनक हार बेहोरेको नेपाली कांग्रेसमा यसपटक पनि उम्मेदवारको चाहाना गर्नेहरुको कमी छैन । रवीन्द्रकै प्रतिस्पर्धी देवराज चालिसे यसको अघिल्लो पंक्तिमै छन् ।

‘अघिल्लो चुनावको प्रतिस्पर्धी भएकाले पनि ५ वर्ष म नै उम्मेदवार हुँ,’ चालीसे भन्छन्, ‘मैले पाएको जनमतको कदर गर्न पनि म उम्मेदवार हुनैपर्छ ।’

कांग्रेस पार्टीभित्र उम्मेदवारको विषयमा छलफल सुरु नभए पनि कांग्रेस उम्मेदवारका आकांक्षीले चाहाना राख्ने, आफ्नो माहोल बनाउन थालेका छन् ।
अघिल्लो निर्वाचनमा पटक पटक उम्मेदवारको चर्चामा आएर पनि टिकट नपाएका वीरेन्द्रनारायण बिजुक्छे कास्की क्षेत्र नम्बर २ का आकांक्षी छन् । कांग्रेसको पकड रहेको वडा नम्बर ८ का वासिन्दा बिजुक्छे टिकट पाएमा कंग्रेसका नयाँ र पुराना दुबै पुस्ताले सहयोग गर्ने दाबी गर्छन् ।

संविधान सभाको निर्वाचनमा रवन्द्रि अधिकारीसँग पराजित भएका सोभियतबहादुर अधिकारी पनि यसपटकको निर्वाचनमा जसरी पनि टिकट लिने दाउमा छन् । सोभियतबहादुर त्यसबेला जम्मा २ हजार ३ सय २ मतले रवीन्द्रसँग हारेका थिए । कांग्रेस सभापति शेरबहादुर देउवाले पत्याएका कास्कीका केही नेतामध्ये पर्छन्, उनी । त्यसो त उनका अग्रज देउवा पक्षकै कास्की जिल्ला अध्यक्ष बनेका खेमराज पौडेल पनि आकांक्षी होडमा छन् ।

कास्की प्रदेश सभा ‘क’ मा नेकपा नेता कृष्ण थापासँग चुनाव हारेका गुरु बराल यसपालि टिकट पाउनुपर्ने लबिङमा छन् । कांग्रेस सहासमिति सदस्य ऋषि काफ्ने पनि टिकट हत्याउने अभियानमा जुटेका छन् । उनले टिकटका लागि सशांक र शेखर कोइरालामार्फत लबिङ गरिरहेको उनीनिकट स्रोत बताउँछ ।

कास्कीका नभए पनि कांग्रेस नेता धनराज गुरुङलाई उम्मेदवार बनाउने चर्चासमेत कांग्रेसभित्र भइरहेको छ । कार्यकर्तामाझ गुरुङलाई टिकट दिनुपर्ने आवाज उठिरहेको छ । गुरुङले स्याङ्जाबाट चुनाव लड्ने चर्चा चले पनि अन्तिममा टिकट पाएका थिएनन् ।

आलोचित सरकारको फाइदा उठाउन चाहन्छ कांग्रेस

नेकपा दुई तिहाईको सरकारले जनताको मन जित्न नसकेको भन्दै आलोचना भइरहेको छ । विपक्षी कांग्रेस सरकारको त्यो आलोचनाको फाइदा उठाउन चाहन्छ । नेकपा सरकारले जनअपेक्षा पूरा गर्न नसकेको र उसको कार्यकालमा भएका असफल मुद्दा लिएर जनताको दैलोमा जाने कांग्रेसको योजना छ ।

‘नेकपा सरकारले गर्छु भनेका थुप्रै काम गर्न सकेन, यहीबेला भएका थुप्रै काण्डहरुमा सरकार फस्यो,’ नेपाली कांग्रेस कास्की अध्यक्ष कृष्ण केसीले भने, ‘जनताले यो कुरा बुझेका छन्, हामीले अझ बुझाउन सक्यौं भने अघिल्लो चुनावमा नेकपाले पाएको मत तान्न सकिन्छ ।’

उम्मेदवारका आकांक्षी देवराज चालिसेले अघिल्लो चुनावमा जनताले स्थायी सरकारको आशमा मत दिएको बताउँछन् । ‘जनतामा स्थायी सरकारको सपना थियो । स्थायी सरकारले जनताका धेरै आशा पूरा गर्न भन्ने थियो,’ चालिसेले अनलाइनखबरसँग भने, ‘तर, यो सरकारले एउटा पनि जनताको मन जित्ने काम गरेको छैन । अबको चुनावमा यही नै हामीलाई सबैभन्दा फाइदाको विषय हो ।’

कांग्रेसले पनि जनताको मन जित्न नसकिरहेको र आफूहरु यसमा सचेत रहेको तर जनताले नेकपा सरकार मन नपराएको कांग्रेसका नेताको तर्क छ ।

१७ सय मतदाता थपिए, यस्तो छ अंकगणित

कास्की क्षेत्र नं. २ मा पोखरा महानगरपालिकाका ११ वटा वडा पर्छन् । यसको अधिकांश वडामा नेकपाले नै स्थानीय चुनाव जितेको छ । यो क्षेत्रमा रवीन्द्रले ठूलो मतान्तरले चुनाव जितेका हुन् । त्यसैले पनि चुनाव जित्ने कुरा नेकपा ढुक्क छ ।

गत निर्वाचनमा कास्की क्षेत्र नम्बर २ को मतदाता संख्या ७० हजार ६ सय ५१ थियो । अहिले ७२ हजार २ सय मतदाता पुगेका छन् ।

अघिल्लो चुनावमा ८ हजार ५ सय ४६ मतान्तरले कांग्रेस उम्मेदवार देवराज पछि परेका थिए । अधिकारीले २७ हजार २ सय ७ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेस उम्मेदवार चालिसेले १८ हजार ६ सय ६१ मत ल्याएका थिए ।

यस क्षेत्रमा तेस्रो स्थानमा विवेकशील साझा पार्टीका श्रीकृष्ण श्रेष्ठले ८ सय ४३ मत ल्याएका थिए । तत्कालीन नयाँ शक्ति र संघीय समाजवादी पार्टी पनि यो क्षेत्रमा चुनावी मैदानमा थियो ।

अहिले रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीले उम्मेदवार घोषणाको तयारी गरिरहेको गण्डकी प्रदेश संयोजक महेश भण्डारीले अनलाइनखबरलाई जानकारी दिए ।

‘समाजमा चिनिएका र प्रभाव पार्न सक्ने व्यक्तिलाई उम्मेदवार बनाएर घोषणा गर्ने तयारीमा छौं,’ भण्डारीले भने, ‘हामीले ल्याउने मतले पनि निर्वाचनमा फरक पार्छ ।’

नयाँ शक्ति र संघीय समाजवादी एकीकरण भएको अवस्थामा समाजवादी पार्टी पनि रणनीतिक हिसाबले निर्वाचनमा जाने सो पार्टीका गण्डकी प्रदेश उपाध्यक्ष हेमबहादुर थापा बताउँछन् ।

त्यसैगरी राजतन्त्रको पक्षमा वकालत गर्दै आएको राप्रपाले पनि उम्मेदवार खडा गर्ने सम्भावना छ ।

यसैवीच ३२ मतदानस्थल र ८२ मतदान केन्द्र रहेको यो क्षेत्रमा निर्वाचन कार्यालयले तयारी थालिसकेको छ । जिल्ला निर्वाचन कार्यालय कास्कीले साउन १६ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराउनेहरुको संख्या अद्यावधिक गरेर केन्द्रमा पठाइसकेको छ ।

लेखक
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?