Comments Add Comment

महेशराज पन्त : इतिहास सच्याउने अभियन्ता

त्यसपछि ‘पूर्णिमा’ आउनेछैन ...

१३ भदौ, काठमाडौं । गत हप्ता आफ्नो ७५ औं जन्मदिन मनाएका नेपालका वरिष्ठ इतिहासविद् डा. महेशराज पन्तले यही साता पद्मश्री साधना सम्मान प्राप्त गरे । डा. पन्तलाई बुढेसकालका दुःख दर्दबारे खासै चिन्ता छैन । यसको अर्थ उनी चिन्तामुक्त छन् भन्ने चाहिँ होइन । सम्भवतः उनको चिन्ता उदरस्थ सुख–दुःखभन्दा माथि छ । यहाँ हामीले त्यही चिन्ताबारे चर्चा गर्ने प्रयास गरेका छौं ।

इतिहासविद महेशराज ‘संशोधन मण्डल’ नामक नेपाली इतिहास अध्ययन गर्ने एक समूहका सदस्य र यसको इतिहास–प्रधान त्रैमासिक पत्रिकापूर्णिमाका एक सम्पादक हुन् । उनी पूर्णिमाले नेपाली इतिहासमा गरेको योगदानप्रति गौरवान्वित छन् ।

आफ्नो संस्थाका काम र यस पत्रिकामा छापिएका विभिन्न लेख–रचनाका कारण नेपाली इतिहासका कैयौँ घटनाको व्याख्या परिवर्तन भएको र नेपाली इतिहास अध्ययन सत्यको अझ नजिक पुगेको उनको दाबी छ ।

तर, पूर्णिमाको भविष्य कस्तो छ त ? यसको उत्तर महेशराजसँग मात्र होइन, कसैसँग छैन । यस ऐतिहासिक पत्रिकाको विगत केही वर्षको यात्रा हेर्दा थाहा हुन्छ, संरक्षणको अभावमा पूर्णिमा अस्ताउन अब धेरै समय लाग्दैन ।

नेपाली इतिहास सच्याउने अभियान

महेशराजका बा इतिहासविद्, गणितज्ञ एवं ज्योतिषविद् नयराज पन्त भारतमा आफ्नो अध्ययन पूरा गरी संवत् १९९५ तिर नेपाल फर्किए । त्यसपछि सामान्य हिसाबले यहाँको शिक्षा पद्दति अवलोकन गर्दा उनले धेरै खोट भेटे ।

पुस्तकहरुमा मात्र नभई, परीक्षाका प्रश्नपत्रमा पनि विभिन्न गल्ती देखिए । ‘सम्बन्धित मूल ग्रन्थ नपढी तिनका सारांश र टिपोट मात्र पढेपछि यस्ता गल्ती हुन्छन् भन्ने उहाँलाई लाग्यो होला,’ त्यसको केही वर्षपछि जन्मिएका महेशराज आफ्ना पिताले सुनाएका आधारमा भन्छन्, ‘अर्कातिर पूर्णाङ्कको तीन खण्डको एक खण्ड (३२ अङ्क) आउँदा विद्यार्थी पास हुने परिपाटीसँग पनि उहाँ सन्तुष्ट हुनुभएन ।’

यस सन्दर्भमा, इतिहासको अध्ययनमा अझ धेरै समस्या रहेका देखिए । तथ्य र तिथिमिति गलत थिए । ‘ड्यानियल राइट लगायतका विदेशीहरूले लेखेका पुस्तकका आधारमा नेपाली इतिहासका पाठ्यपुस्तक बनेका थिए । तर, राइट लगायतका लेखकले उन्नाइसौँ शताब्दीमा छापिएका लोककथा र दन्त्यकथालाई समेत सत्य घटनामा घोलेर पुस्तक लेखेका थिए,’ महेशराज सम्झन्छन् ।

यस्ता समस्या समाधान गर्नका लागि नयराजले आफ्ना कुरा सुन्ने केही साथीभाइ र विद्यार्थीहरू जम्मा गरे, संवत् १९९७ मा । अनि इतिहाससँग सम्बन्धित अभिलेखहरू खोजेर आफैँ व्याख्या गर्न लागे । कुनै पनि अभिलेखको व्याख्या गर्न सम्बन्धित भाषा जानेकै हुनुपर्छ भन्ने नयराजको मान्यता थियो । अतः उनले आफ्ना विद्यार्थीलाई संस्कृत र नेवारी लगायतका भाषामा पोख्त बनाए ।

पाँच वर्ष पुग्दानपुग्दै महेशराज पनि आफ्नै बाको अनौपचारिक पाठशालाका चेला बने । संवत् २००६ मा जन्मिएका उनका भाइ दिनेशराज पनि एवं प्रकारले समाहित भए ।
संवत् २००९ मा आइपुग्दा नयराजको पाठशालाले नयाँ नाम पायो : संशोधन मण्डल । सामान्यतया ‘संशोधन’को अर्थ ‘सच्याउनु’ भए पनि दिनेशराजका अनुसार संस्कृत भाषामा यसको शाब्दिक अर्थ ‘अनुसन्धान’ पनि हुन सक्छ ।

पूर्णिमा र नेपाली इतिहासमा यसको भूमिका

नाम राखिएसँगै संशोधन मण्डल अझ सक्रिय भयो । इतिहासका कुनकुन तथ्यलाई कसरी अपव्याख्या गरिएका छन् भन्ने कुरा सर्वसाधारणलाई जानकारी होस् भनेर पर्चाहरू प्रकाशन गर्न थाल्यो, इतिहास संशोधन नाममा । विषयवस्तुको गाम्भीर्य अनुसार कहिलेकाँही पर्चाको आकार २०–२५ पृष्ठसम्म पनि पुग्यो । संवत् २००९देखि २०२५ सम्म आइपुग्दा इतिहास संशोधनका ६२ अङ्क निस्किए ।

आफ्नो अभियानलाई अझ गहन बनाउने उद्देश्यले समूहले संवत् २०१८देखि हरेक तीन महिनामा अभिलेख सङ्ग्रह प्रकाशन सुरु गर्‍यो । यसमा भने संशोधन मण्डलले खोजेर पत्ता लगाएका अभिलेखहरूमात्र छापिन्थे, कुनै व्याख्या वा टिप्पणीबिना । त्यसै कारण, यसका पाठक सीमित थिए । फलतः तेस्रो वर्षमा बाह्रौँ अङ्क निस्किएपछि अभिलेख सङ्ग्रहको प्रकाशन बन्द भयो ।

‘अर्कातर्फ संशोधन मण्डलका विद्यार्थीको सङ्ख्या पनि घट्दै गयो । त्यहाँको विद्याले वृत्तिमा (जागिर खान) सहयोग गर्न सक्दैन भन्ने धेरैलाई लाग्यो । सुरुमा ४०–४५ जना विद्यार्थी थिए । इतिहास संशोधन छाप्ने बेला २१ जना बाँकी भयौँ,’ महेशराज सम्झन्छन् ।

त्यसै समयमा एक किसिमको अस्तित्वको सङ्कट आइपर्‍यो संशोधन मण्डलमाथि । तर नयराज पन्तकै सुझाव अनुसार सबै सदस्यले आफ्नै खल्तीबाट पैसा उठाउन लागे । ‘अर्कातर्फ आम पाठकले बुझ्ने सामग्री प्रकाशन गर्न थाल्यौँ भने हामी पत्रिका बेचेरै केही खर्च जुटाउन सक्छौँ भन्ने पनि लाग्यो,’ आफ्नो किशोरावस्था सम्झँदै दिनेशराज भन्छन्, ‘त्यसै हामीले अभिलेख मात्र नभई अन्य लेखरचनामा तिनका व्याख्या खुलाएर नयाँ पत्रिका सुरु गर्ने निधो गर्‍यौँ । त्यसलाई पूर्णिमा नामकरण गरियो ।’

दुई युवा विद्यार्थी गौतमवज्र वज्राचार्य र महेशराज पन्तलाई सम्पादक बनाइयो । सुरुमा आठ अङ्क हस्तलिखित नै निकालिए । अक्षर राम्रा भएका कारण गौतमवज्रले लेखे । त्यसपछि हरेक वैशाख, साउन, कार्तिक र माघ सङ्क्रान्तिमा प्रकाशन गर्ने तालिका बनाएर संवत् २०२१ वैशाखदेखि पूर्णिमा छापामा गयो ।

संशोधन मण्डलले गरेका काम, अझ भनौँ पूर्णिमामा छापिएका लेख रचनाका कारण नै विदेशीको हातमा पुगिसकेको नेपाली इतिहासको आधिकारिक व्याख्या गर्ने अधिकार वा ‘अथोरिटी’ (दिनेशराजका शब्दमा ‘गुरुकिल्ली’) नेपालमा फर्किएर आएको पन्त दाजुभाइको दाबी छ । ‘एउटा हातमा सात सालमा छापिएको कुनै इतिहासको पुस्तक लिनोस्, अर्को हातमा आज छापिएको पुस्तक लिनोस् र दाँज्नुहोस्,’ महेशराज भन्छन्, ‘आजको इतिहासका कुनै पनि ग्रन्थका ८० प्रतिशत जति विषयवस्तु हामीले पत्ता लगाएका तथ्यमा आधारित छन् ।’

‘विश्वविद्यालयमा पढाइ हुनै प्रायः सबै विषयका अथोरिटी देशबाहिरै छन् । इतिहास मात्र त्यस्तो विषय हो जसको अथोरिटी नेपालमै छ,’ उनको कथन छ, ‘यदि सुरुवाती दशकमा जस्तै आजसम्म पनि यो पत्रिका यत्तिकै लोकप्रिय भएको भए यसले नेपालको समग्र शिक्षा प्रणालीलाई नै अर्कै बनाइसकेको हुन्थ्यो ।’

ओरालो यात्रा

पूर्णिमा छापिएर बजारमा आएको ५५ वर्ष पूरा भइसक्दा यसको यात्रामा धेरै उकालीओराली आए । तर विगतका केही वर्षलाई हेर्ने हो भने यसको लोकप्रियता र प्रभाव निरन्तर घट्दो छ ।

‘विगत चारपाँच वर्षदेखि पाठकहरूबाट खासै प्रतिक्रिया आएको छैन,’ महेशराज भन्छन् । यद्यपि पत्रिकाका पुराना अङ्क खोज्दै उनको घरमै रहेको संशोधन मण्डलको कार्यालयमा मानिसहरू आइरहन्छन् । नयाँ अङ्क भने खासै बिक्दैनन् । ‘सुरुका १० वर्ष हामी हरेक अङ्क हजार प्रति छाप्थ्यौँ । त्यसपछि ५०० मा घटायौँ, अनि ३००मा,’ महेशराज कुरा लुकाउन चाहादैनन्, ‘अहिले पनि ३०० प्रति छाप्छौँ । तर वास्तवमा भन्ने हो भने ५० प्रति छापे पनि पुग्छ ।’

पूर्णिमाको पहिलो र पछिल्लो अंक

पुराना र नयाँ अङ्क बेचेर संशोधन मण्डलले वर्षको डेढ लाख रुपैयाँजति कमाउने गरेको छ । तर कार्यालयको मासिक खर्च नै ६० हजार रुपैयाँ छ । विशेषतः टाइप गर्न, पेज डिजाइन गर्न र फोटोलाई डिजिटाइज गर्न पार्टटाइम कर्मचारीहरू राखिएका छन् । महेशराजले आफ्नै खल्तीको पैसाले संस्था चलाएका छन् ।

सुरुवाती सम्पादकीय टोलीमा गुरु नयराज पन्तबाहेक ९ जना थिए ः रामजी तिवारी, देवीप्रसाद भण्डारी, भोलानाथ पौडेल, शङ्करमान राजवंशी, धनवज्र वज्राचार्य, गौतमवज्र वज्राचार्य, महेशराज पन्त, नयनाथ पौडेल र दिनेशराज पन्त । अनुसन्धान, लेखन र सम्पादनमा नौ जनाकै योगदान रहन्थ्यो । नयराजले पनि नियमित लेख्थे ।

आज टोलीमा पन्त दाजुभाइ मात्र छन् । ‘नयराज पन्त, रामजी तिवारी र देवीप्रसाद भण्डारी हाम्रो टोलीसँग काम गर्दागर्दै बित्नुभो,’ दिनेशराज सुनाउँछन्, ‘अन्य पाँचजनाले विभिन्न कारण देखाई पालैपालो छाड्नुभो ।’

त्यसरी बीचमा छाड्नेमध्ये पनि भोलानाथ, शङ्करमान र धनवज्रको निधन भइसकेको छ । अब पन्त दाजुभाइ बाहेक दुई जना बाँकी छन् : गौतमवज्र र नयनाथ । गौतमवज्र अमेरिकाको विस्कन्सिन म्याडिसन विश्वविद्यालयमा पढाउँछन् । उनले नेपाल छाडेको चार दशक नाघिसकेको छ । पूर्वीय संस्कृति र दर्शनबारे बेलाबेला लेख्ने र बोल्ने गरे पनि उनलाई पूर्णिमाबारे खासै चासो भएजस्तो देखिँदैन । यसबारे कुरा गर्न आग्रह गर्दै अनलाइनखबरले पठाएको इमेलको जवाफ आएन ।

इतिहासकै विषयमा संवत् २०६३मा एक निबन्ध सङ्ग्रह प्रकाशन गरेका नयनाथ विभिन्न सार्वजनिक कार्यक्रममा सहभागी हुँदै आए पनि उनलेपूर्णिमाको गरिमा पुनस्र्थापना गर्नका लागि केही गरेका छैनन् । पन्त दाजुभाइसँग उनको सम्पर्क नभएको धेरै भइसक्यो, तर पन्त दाजुभाइले संशोधन मण्डललाई एक पारिवारिक संस्था बनाए भन्ने दाबी गरेर नयनाथका छोराले केही वर्ष अगाडि एउटा राष्ट्रिय पत्रिकामा लेखेको महेशराज सम्झन्छन् ।

मृत्यु पर्खँदै

पन्त परिवारले संशोधन मण्डललाई पारिवारिक संस्था बनाएको आरोप आफ्नो ठाउँमा छ, पन्त दाजुभाइ भने आफ्नै परिवारले पनि साथ दिएन भन्ने गुनासो गर्छन् । दुबै दाजुभाइका छोराछोरी वयस्क भएर आआफ्नै कार्यक्षेत्रमा खटिएका छन् । हजुरबाको बिँडो थामेका बाबुहरूको काममा साथ दिन उनीहरूलाई रुचि छैन ।

हुन त संशोधन मण्डल पनि विस्तार हुन सकेन । यसमा कोही नयाँ सदस्य थपिएका छैनन् । दिनेशराजका अनुसार संस्थाको ‘परम्परा’ पूर्ण रूपमा पालना गर्न नसक्ने व्यक्तिलाई सदस्यता विस्तार गर्नुको कुनै अर्थ पनि हुँदैन ।

‘कुनै व्यक्तिको आयु पूरा भएपछि उसलाई कृत्रिम उपायले बचाउनेभन्दा पनि प्राकृतिक तरिकाले अस्ताउन दिनुपर्छ । संवत् २०५९मा बा बित्नुभएपछि दाइले संस्थाको पुनर्गठन गर्ने प्रस्ताव गर्नुभएको भए पनि त्यो कुरा टुङ्गोमा पुगेन,’ दिनेशराज सदस्यता विस्तार गर्न नसक्नुको कारणलाई सिद्धान्तको आवरणमा छोप्छन् ।

त्यसैले नै त पूर्णिमा आज अस्ताउने प्रतीक्षामा बसेजस्तो छ । संवत् २०७४ पुसमा सबभन्दा पछिल्लो १४४औं अङ्क प्रकाशित भएपछि अर्को अङ्क निस्किएको छैन । यसै वर्षभित्र १४५औँ अङ्क निकाल्ने महेशराजको दाबी छ । दिनेशराजका अनुसार यो २० महिनाको अन्तरालपूर्णिमाको इतिहासमै सबभन्दा लामो अन्तराल हो ।

‘तर मेरो दिमाग चलेसम्म पूर्णिमा पनि चल्छ । शरीर गले पनि दिमाग अझै पाँचसात वर्ष चल्छ भन्ने लाग्छ,’ महेशराज भन्छन्, ‘बाकै आयु पाएँ भने त अझै १४ वर्ष छ । तर यसै भन्न सकिन्न ।’

संशोधन मण्डलका सबभन्दा कान्छा सदस्य दिनेशराज पनि ७० कटे । नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञका रूपमा व्यस्त दैनिकी बिताइरहेका उनले पूर्णिमालाई खासै समय दिन सकेका छैनन् । ‘दाइले ९९ प्रतिशत काम गर्नुहुन्छ । बाँकी एक प्रतिशत म पूरा गर्छु,’ उनी भन्छन्, ‘दाइ नभए पनि पूर्णिमा निस्कन त निस्केला । तर अहिलेको जस्तो स्तरीय हुँदैन ।’

‘तर हामीपछि चल्ने कुरा छैन,’ आफ्नो सिर्जनाको सम्भावित मृत्युको घोषणा गरेपछि दिनेशराज झन् ठूलो डर देखाउँछन्, ‘त्यसपछि फेरि नेपाली इतिहास अध्ययनको गुरुकिल्ली अन्त जाने खतरा छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment