Comments Add Comment

किन महिलाहरु आफ्नो इच्छा बताउँदैनन् ?

अहिले अधिकांश महिलाहरु पुरुष सरह हरेक क्षेत्रमा अगाडि बढ्न थालेका छन् । आफ्नो क्षमता र लगनशीलताका कारण आज महिलाले गर्न नसक्ने काम केही छैन भन्ने प्रमाणित गरिसकेका छन् । आज हरेक क्षेत्रमा पुरुषभन्दा महिला कुनै कुराले पनि कम छैनन् । यद्यपि महिलाहरु आज पनि आफ्नो इच्छा बताउन अफ्ठ्यारो मान्छन् । आज पनि कतिपय महिलाहरु क्षमतावान हुँदाहुँदै पनि अगाडि बढ्न सकेका छैनन् । आफ्नो कुरा राख्न अथवा आफ्नो इच्छाअनुसार काम गर्न हिच्किचाउने गर्छन् । के कारण महिलाहरु आफ्नो इच्छा र कुरा बताउन हिच्किचाउँछन् त ?

आफूलाई रोक्ने कारण

५९ प्रतिशत महिलाहरु आफ्नो कुरा अथवा इच्छा प्रकट गर्दा अरुले आफूलाई के भन्छन्, के सोच्छन् भन्ने डरका कारण केही बताउँदैनन् । त्यस्तै ५८ प्रतिशत महिलाहरु अरुले कस्तो प्रतिक्रिया दिन्छन् भन्ने सोचाइले केही बताउँदैनन् भने ५२ प्रतिशत महिलाहरु आफ्नो कुरालाई अरु व्यक्तिले नकारात्मक रुपमा लिन्छन् भन्ने सोचाइले केही भन्दैनन् ।

समाज अथवा परिवारले के भन्छ, आफ्नोबारे के सोच्छ र के प्रतिक्रिया दिन्छ भन्ने जस्ता कुराहरुले महिलालाई आफ्नो इच्छा अनुरुपको काम गर्न रोक्छ । आफू स्वयंलाई रोक्ने यस प्रकारको संकोचका अनेक रुप र नामहरु छन् । यसलाई महिलाहरुले भित्री मनको आवाज सोचे पनि यो एक किसिमको नकारात्मक सोचाइ हो । यस प्रकारको सोच महिलालाई अगाडि बढ्ने मार्गको सबैभन्दा ठूलो बाधा हो ।

त्यस्ता सोचाइहरु रातारात जन्मेका होइनन् । धेरै वर्ष अगाडिदेखि नै समाजले महिलाको दिमागमा नै यस्ता कुराहरु भरिदिँदै आएका छन् । यसका साथै समाजका तथाकथित परम्परावादी नियमहरु र महिला भएर के गर्नु हुन्छ र के गर्नु हुँदैन भन्ने जस्ता कुराहरुको परिणाम नै आज महिलाहरु यस्ता धारणा र नियमहरुमा जकडिएका छन् ।

आफ्नो इच्छाअनुसारको काम गर्न महिलाहरु हिम्मत जुटाउन सक्दैनन् । उनीहरुलाई आफूले गरेको काममा केही गल्ति भयो भने सम्पूर्ण समाजले उसलाई दोषि ठहराउँछ भन्ने कुराको डर हुन्छ । यतिमात्र नभएर ४७ प्रतिशत महिलाहरु ठूलो समूहमा प्रश्न सोध्न पनि संकोच मान्छन् ।

व्यक्तिगत जीवनमा पनि १० महिलाहरुमध्य ४ महिलाहरु आफ्ना  प्रेमीसँग भेट्न र कतै बस्न पनि आफूलाई रोक्ने गर्छन् । अन्य व्यक्तिले आफूलाई के भन्छन्, आफूप्रति कस्तो प्रतिक्रिया राख्छन् भन्ने डरका कारण यस्तो व्यवहार गर्छन् ।

महिलाहरु आफूलाई किन रोक्छन् ?

ठूलो समूहमा महिलाहरु आफूले सोधेको प्रश्न काम लाग्ने हुन्छ कि हुँदैन भन्ने सोच्छन् । यस्तो सोच्नु महिलालाई आफूमा विश्वास नभएर हो । आफू हाँसोको पात्र हुने हो कि भन्ने डरका कारण पनि महिला ठूलो समूहमा मनमा उठेका प्रश्न गर्न हिच्किचाउँछन् ।

कुनै पनि कुरा सोच्न धेरै समय लाग्ने भएकाले धेरै कामका अवसरहरु हातबाट निस्कने गरेको प्रायः महिलाहरुको अनुभव छ । आफूले दिएको रायलाई कुन रुपमा लिने हो, के भन्ने हो भन्ने डरका कारण उनीहरुमा यस्तो सोचाइको विकास भएको हो । उनीहरुलाई अरुको अगाडि आफ्नो छविमा नकारात्मक प्रभाव पर्ने हो कि भन्ने डर पनि हुन्छ ।

वास्तवमा महिलाले पहिरिएको पहिरन, उनीहरुको व्यवहार अथवा केटाहरुसँग गरिएको कुराकानी जस्ता धेरै कुराहरुप्रति समाजले उनीहरुको बारेमा विभिन्न धारणाहरु राख्ने गर्छन् । केही महिलाहरु त यस्ता कुरालाई बेवास्ता गर्छन् तर केहीलाई भने यस्ता कुरा अति नै महत्वपूर्ण हुने गर्छ । उनीहरु जे गर्दा पनि समाजले आफ्नोबारेमा के धारणा राख्छन् भन्ने सोच्छन् ।

महिलाले स्कुल-कलेजमा उत्कृष्ट नतिजा ल्याएर समाचार बने पनि जब जागिर र तलबको कुरा आउँछ, उनीहरु पछाडि पर्छन् । आफ्नो हक र अधिकार पनि उनीहरु सजिलै छोड्छन् । सरकारी जागिर बाहेक अन्य निजी कम्पनीहरुमा पुरुषको तुलनामा महिलाको तलब कम हुन्छ । काम उस्तै भए तापनि तलबको कुरामा महिलाहरु पछाडि पर्छन् ।

महिलालाई सानैबाट पुरुषको तुलना गर्नु हुन्न भनेर सिकाइन्छ । जति पाएकी छौ, त्यसमा सन्तोष गर्नुपर्छ भन्ने कुरा सिकाइएको हुन्छ । बाहिरी मानिसको अगाडि धेरै कराइरहनु हुँदैन । त्यस्ता पुरुष जो आफूभन्दा ठूलो अथवा सिनियर छन्, जसमा आफू निर्भर भएको छ, त्यस्ता पुरुषको अगाडि आफ्नो मुख खोल्नु हुँदैन । ‘पुरुष स्वामी हुन् र महिला दासी, त्यसैले कहिले पनि आफ्नो हकको कुरा गर्नु हुँदैन’ भन्ने जस्ता कुराहरुले महिला सधैं आफूलाई पुरुषभन्दा कमजोर सोच्न बाध्य हुन्छन् ।

आफ्नो इच्छा अनुरुप केही गर्न नसक्नु

एउटा पुरुषलाई कुन जागिर खाने भन्नेबारे आफ्नो परिवार र श्रीमतीलाई सोध्नुपर्ने आवश्यकता हुँदैन तर महिलालाई पढ्ने, काम गर्ने, कुनै काम सिक्न जान आफ्नो आमा-बुवादेखि दाइ, श्रीमान् र कुनै प्रसंगमा त समाजको समेत अनुमति लिनुपर्छ ।

महिलाहरुमा योग्यताको कमी हुँदैन । यद्यपि अमेरिकाको वाशिंगटन विश्वविद्यालयको एक वैज्ञानिकका अनुसार महिलाको मस्तिष्क उनको उमेरसँगैको पुरुषको तुलनामा तीन वर्ष तरुनो हुन्छ । त्यसैले महिलाको दिमाग लामो समयसम्म पनि तेजिलो हुन्छ ।

महिला हरेक कुराले दक्ष र क्षमतावान हुँदाहुँदै पनि उनले आफू खुशी केही निर्णय अथवा काम गर्न सक्दिनन् । यतिसम्म कि उनले आफूले कमाएको पैसामा पनि उनको अधिकार हुँदैन । उनले खुलेर अथवा आफू खुशी आफ्नो कमाइ खर्च गर्न सक्दिनन् ।

जुन महिलाले आफ्नो निर्णय आफैं गर्छन्, उनलाई उनको श्रीमान् अथवा आमाबुबाको प्रोत्साहन प्राप्त हुन्छ । त्यस्तै एकल महिलाहरुले पनि आफ्नो निर्णय आफै गर्छन् । तर हिजोआज आफ्ना बच्चाको शिक्षा, घर बनाउँदा अथवा किन्दा, आफ्नो सन्तानको विवाह गर्नुपर्दा जस्ता अन्य कुराहरुमा महिलाको राय सुझाव लिन थालिएको छ । पुरुषको तुलनामा महिलाहरुको आफ्नो बच्चाको लक्ष्यप्रतिको झुकाव बढी हुने भएकाले पनि महिलाहरुले यी अधिकार पाएका हुन सक्छन् ।

आज हाम्रो समाजमा महिलाले पनि धेरै कुराको निर्णय लिन सक्ने भएका छन् । प्रायः पुरुषहरुको कार अथवा घर किन्ने निर्णय अधिक हुन्छ भने महिलाहरु सुन र सुनबाट बनेका गहना, दैनिक आवश्यकताका सरसामान र टिभि, फ्रिज जस्ता टिकाउ सामान किन्ने निर्णय गर्छन् ।

यसरी महिला-पुरुष मिलेर हरेक कुराको निर्णय लिँदा घर-गृहस्थी राम्रोसँग चल्छ । महिलाहरुको आत्मविश्वास बढ्छ, पैसा र यससँग सम्बन्धित तनावहरु कम हुन्छ । त्यसैले महिला-पुरुष मिलेर नै वित्तीय योजनाहरु बनाउनु आवश्यक छ । त्यसैले महिलाले वित्तीय योजनामात्र होइन जीवनको सम्पूर्णमहत्वपूर्ण निर्णयमा महिलाले पनि राय सुझाव दिनु आवश्यक हुन्छ । यसरी महिलाले घरपरिवार साथै समाजमा आफ्नो स्थान प्राप्त गर्न सक्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment