Comments Add Comment

गृहिणीलाई कामकाजी कसरी बनाउने ?

केही समय अघिसम्म महिलाहरु घरभित्र मात्र सीमित हुन्थ्ये । उनीहरुको काम भनेको नै घर-परिवारको चाहाना र आवश्यकता पूरा गर्नु मात्र हुन्थ्यो, तर आज समय परिवर्तन भैसकेको छ । आज हरेक क्षेत्रमा महिलाहरु पुरुषसरह काँधमा काँध मिलाएर अगाडि बढ्ने भैसकेका छन् । तर अझै पनि धेरै महिलाहरु आफूलाई घर-गृहस्थीमै सीमित बनाएर राख्न बाध्य छन् ।

महिलाहरु आफू विभिन्न कुरामा दक्ष तथा कार्यक्षमता भएर पनि बाहिरी दुनियाँमा आउन सकेका छैनन् । विशेषज्ञहरुका अनुसार महिलामा विशेष किसिमको इच्छा शक्ति हुन्छ, महिलाहरुमा एकैपटक धेरै काम गर्न सक्ने शक्ति हुन्छ । जसले गर्दा उनीहरु आफूले शुरुआत गरेको काम सकेर मात्र सास फेर्ने गर्छन् ।

दिनहुँ एकै प्रकारको रुटीनका कारण महिलाहरु दिक्क हुन्छन् । घर परिवारको व्यस्तताका कारण उनले आफ्ना सम्पूर्ण इच्छाहरुलाई दबाउने गर्छन् र आफ्नो लागि बाँच्न त उनीहरुले बिर्सिसकेका हुन्छन् । यस्तो स्थितिमा महिलाले न आफ्नोलागि समय निकाल्न सक्छन्, न त आफ्नो करियर नै बनाउन सक्छन् ।

महिलाले परिवारको सबै सदस्यको इच्छा र चाहनाको ध्यान राख्न सक्छिन्, जुन पुरुषले गर्न सक्दैनन् । महिलाहरुका लागि कुनै पनि काम असम्भव हुँदैन, तर महिलाहरुले कुनै पनि कामलाई ध्यान दिएर गर्नु पर्ने आवश्यकता हुन्छ । त्यसैले त्यस्ता महिलाहरुले अब चिन्ता गर्नु पदैन, जसले आफ्नो करियर अगाडि बढाउन पाइएन भन्ने सोच्नु हुन्छ । अब घरमै बसेर आफ्नो इच्छाअनुसारको करियर कसरी बनाउने भन्नेबारे तपाईंलाई हामी केही जानकारी दिदैछौ ।

योगा कोच

जुन महिलालाई योगा अथवा फिटनेसप्रति रुचि छ, त्यस्ता महिलाले आफ्नो रुचिलाई करियरको रुपमा अपनाएर आफ्नो करियरलाई बलियो बनाउन सक्नु हुन्छ । यसबाट तपाईं आफ्नो स्वास्थ्यको ध्यान पनि दिन सक्नु हुन्छ र घरमा बसी-बसी पैसा पनि कमाउन सक्नु हुन्छ ।

फ्रिलान्स राइटर

यदि तपाईको लेख्नमा रुचि छ भने तपाई पत्रपत्रिकामा, म्यागजिन अथवा वेबसाइटमा फ्रिलान्स लेखिकाको रुपमा काम गर्न सक्नु हुन्छ । यसबाट तपाइर्ंको नयाँ पहिचान पनि बन्छ र कमाइ पनि हुन्छ ।

सिलाइ-बुनाइ

यदि तपाईं सिलाइ गर्न जान्नु हुन्छ भने आफ्नो घरमा नै बुटिक खोल्न सक्नु हुन्छ । जुन महिलाले धेरै पढे-लेखेका हुँदैनन्, त्यस्ता महिलाले पनि यो काम सजिलै गर्न सक्छन् । घरमा सिलाइ बुनाइको काम गरेर आफ्नो छुट्टै पहिचान बनाउनुको साथै आम्दानी पनि बढाउन सकिन्छ ।

होम ट्युसन

यदि तपाई पढे-लेखेको हुनुहुन्छ र घरमा त्यत्तिकै बस्नु हुन्छ भने तपाईंले आफ्नो घर वरपरका बच्चालाई होम ट्युसन पढाउन सक्नु हुन्छ । आज-भोलि त अनलाइन ट्युटर हुने पनि धेरै चलन चलेको छ । यदि तपाईंलाई देश-विदेशको भाषाको ज्ञान छ भने त तपाईं घरमा बसेर नै देश-विदेशका विद्यार्थीहरुलाई अनलाइन पढाउन सक्नु हुन्छ ।

ब्यूटीसियन

यो पेशा प्रायः महिलाहरुको रुचिमा पर्छ । यसको महत्व पनि दिनदिनै बढ्दै गएको छ । आज नयाँ-नयाँ मेकअप, हेयरकट, नेल आर्टहरु जस्ता कुराहरुले ब्यूटीपार्लरको माग बढ्दै गएको छ । तपाईंले ठिक्कको पार्लर आफ्नो घरमा नै खोल्न सक्नु हुन्छ । विस्तारै-विस्तारै यसलाई बढाउन पनि सक्नु हुन्छ ।

जरुरी छ संघर्ष

यदि तपाईं आफ्नो सपना साकार पार्न चाहानु हुन्छ भने तपाइर्ंले केही संघर्ष गर्नु आवश्यक छ । करियर र परिवारमा सन्तुलन ल्याउनका लागि निम्न कुराहरुमा ध्यान दिनु पर्छ ।

—    आफ्नो समय तालिका बनाउनुहोस्, जसले तपाइर्ंलाई परिवार र आफ्नो कामलाई सही ढंगले समय दिन सजिलो हुन्छ ।

–     बिहान छिटो उठेर घरको काम गर्नुहोस् र घरको कामपछि आफ्नो कामतिर लाग्नुहोस् ।

—    आफ्नो स्वास्थ्यमा पूर्ण रुपमा ध्यान दिनुसु्  तपाईं स्वस्थ रहनु भयो भने मात्र तपाईको काम राम्रोसँग सञ्चालन हुन्छ ।

–     घरका केही कामको जिम्मा आफ्ना सासु-ससुरा अथवा परिवारका अन्य सदस्यलाई पनि दिनुहोस् ।

—    तपाइर्ंले गर्न लाग्नु भएको कामको लागि तपाईंको श्रीमानको अनुमती प्राप्त हुनु अति नै आवश्यक हुन्छ । श्रीमानको सहयोगविना तपाइर्ंले आफ्नो काम राम्रोसँग गर्न सक्नुहुन्न ।

—    सधैं विशेष किसिमको खानेकुरा बनाएर भान्छामा समय खेर नफाल्नुहोस् । हप्तामा एक-दुई पटक मात्र विशेष प्रकारको खाना बनाउनुहोस् ।

—    तपाईं सुपर वुमन बन्ने कोसिस नगर्नुहोस् । हरेक व्यक्तिको काम गर्ने एउटा क्षमता हुन्छ । यदि तपाई आफ्नो क्षमताभन्दा धेरै काम गर्न थाल्नु भयो भने अस्वस्थ हुन सक्नु हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment