+
+
Shares

जेईको ‘डेथ रेट’ भयावह : संक्रमित ४ मध्ये १ जनाको मृत्यु

सबैभन्दा बढी संक्रमण कोशी प्रदेशमा देखिएको छ । कोशीमा मात्रै २० जनामा जेई पुष्टि हुँदा ६ जनाको ज्यान गएको छ ।

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०८३ साउन २७ गते २०:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा पुस महिनायता जापानिज इन्सेफलाइटिसको संक्रमणबाट ५४ जना संक्रमित भएका छन् भने १३ जनाको मृत्यु भएको छ ।
  • हालसम्म संक्रमण २१ जिल्लामा फैलिएको छ र कोशी प्रदेश सबैभन्दा बढी प्रभावित देखिएको छ ।
  • खोप शाखाका प्रमुख डा. अभियान गौतमले खोप नपाएका ५० वर्षभन्दा माथिका व्यक्तिमा संक्रमण र मृत्युको जोखिम बढी देखिएको बताएका छन् ।

२७ साउन, काठमाडौं । नेपालमा जापानी इन्सेफलाइटिस (जेई) को संक्रमण र मृत्युदर प्रकोपकै देखिएको छ । पुस यता देशभर ५४ जनामा संक्रमण पुष्टि हुँदा १३ जनाको (२४ प्रतिशत) ज्यान गएको छ । अर्थात्, संक्रमित ४ जनामध्ये १ जनाको मृत्यु भएको छ । हालसम्म जेई २१ जिल्लामा फैलिएको छ ।

परिवार कल्याण महाशाखाका अन्तर्गतको खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार जापानिज इन्सेफलाइटिस विगत तीन वर्षयता आक्रामक रूपमा देखिएको छ ।

गत वर्ष मात्रै जापानी इन्सेफलाइटिसबाट ४१ जनाको मृत्य भएको थियो ।

जापानिज इन्सेफलाइटिस भाइरसबाट हुने संक्रमण हो । यो भाइरस क्युलेक्स लामखुट्टेले सार्छ । संक्रमण सार्ने लामखुट्टे बिहान र बेलुका सक्रिय हुन्छन् । यो भाइरसबाट संक्रमित चराचुरुंगी र सुँगुरलाई टोक्ने लामखुट्टे सुरुमा आफू संक्रमण हुन्छ र त्यसले टोक्दा मानिसमा संक्रमण सर्छ ।

उपलब्ध विवरणअनुसार सबैभन्दा बढी संक्रमण कोशी प्रदेशमा देखिएको छ । कोशीमा मात्रै २० जनामा जेई पुष्टि हुँदा ६ जनाको ज्यान गएको छ । कोशीका झापा, मोरङ, सुनसरी र इलाममा संक्रमण देखिएको छ ।

त्यस्तै, झापामा ८, मोरङ र सुनसरीमा ५–५ र इलाममा २ जनामा संक्रमण पुष्टि भएको छ । यी जिल्लामा क्रमशः झापामा ५, मोरङ, सुनसरी र इलाममा एक–एक जनाको मृत्यु भएको छ ।

मधेश प्रदेशमा ११ जनामा संक्रमण पुष्टि भएको छ । धनुषामा २, महोत्तरीमा १, पर्सामा २, रौतहटमा १, सप्तरीमा ४ र बारामा १ जनामा संक्रमण देखिएको छ । मधेशमा पर्सा, धनुषा, रौतहटमा गरी तीन जनाको मृत्यु भएको छ ।

बागमती प्रदेशमा ७ जना संक्रमित भएका छन् । चितवनमा ३, काठमाडौंमा १, काभ्रेपलाञ्चोकमा १ र मकवानपुरमा २ जनामा संक्रमण देखिएको छ । काभ्रेपलाञ्चोकमा एक जनाको मृत्यु भएको छ ।

लुम्बिनी प्रदेशमा ५ जना संक्रमित भएका छन् । दाङमा ४ र कपिलवस्तुमा १ जनामा संक्रमण पुष्टि भएको छ । दाङमा एक जनाको मृत्यु भएको छ ।

गण्डकी प्रदेशको नवलपरासी पूर्वमा २ जना संक्रमित भएका छन् भने कर्णालीको सुर्खेतमा एक जनामा संक्रमण देखिएको छ । संक्रमतिमध्ये २८ जना पुरुष र महिला २६ छन् ।

पछिल्ला वर्षमा एकै पटक धेरै संक्रमित भेटिए भन्ने प्रश्नमा गौतमको तर्क छ, ‘निगरानी र खोजीलाई तिव्रता दिएपछि संक्रमित पहिचान भएको हो ।’

केही वर्षअघिसम्म जापानिज इन्सेफलाइटिसका बिरामी र मृत्युका घटना भए पनि त्यसको व्यवस्थित खोजी, परीक्षण र फलोअप पर्याप्त रूपमा हुने गरेको थिएन ।

डा. गौतमका अनुसार संक्रमणको संख्या बढेको देखिनुको एउटा प्रमुख कारण निगरानी प्रणाली बलियो हुनु हो ।

‘पहिला पनि नेपालमा जापानी इन्सेफलाइटिस थियो, मान्छे मर्थे । तर त्यसलाई यसरी उजागर गरेका थिएनौँ,’ डा. गौतमले अनलाइनखबरसँग भने ।

‘अहिले देखिएको संख्या सानो झिल्को मात्रै हुन सक्छ’

महाशाखाको तथ्यांकअनुसार सन् २०१५ मा जेइबाट ५० जना संक्रमित भएका थिए । यस्तै, सन् २०१६ मा ९४, सन् २०१७ मा ८१ जना संक्रमित हुँदा एक जनाको मृत्यु भयो ।

सन् २०१८ मा ५८, सन् २०१९ मा ७०, सन् २०२० मा २४, सन् २०२१ मा २८, सन् २०२२ मा ७९ संक्रमित भएका छन् ।

यस्तै, सन् २०२३ मा नेपालमा १०७ जनामा संक्रमण पुष्टि हुँदा ७ जनाको मृत्यु भएको थियो । सन् २०२४ मा भने ८६ जना संक्रमित हुँदा २५ जनाको मृत्यु भयो । गत वर्ष पनि जेई संक्रमणबाट ४१ जनाको मृत्यु भएको थियो भने १४१ जना संक्रमित भएका थिए ।

जेईको वास्तविक संक्रमण संख्या अहिले देखिएकोभन्दा धेरै हुन सक्ने उनको भनाइ छ । स्वास्थ्य प्रणालीको निगरानीमा नआएका बिरामी घरमै बसेका हुन सक्छन् । कतिपयको उपचारका क्रममा मृत्यु भएको हुन सक्ने र त्यसको कारणसमेत पहिचान नभएको हुन सक्ने भएकाले अहिले देखिएको तथ्यांकलाई नै पूर्ण मान्न नसकिने उनको भनाइ छ ।

‘जति निगरानी बढायो, त्यति नै केस देखिन्छन्,’ गौतम भन्छन्, ‘अहिले देखेको संख्या स्वास्थ्य प्रणालीको राडारमा नआएका बिरामी पनि हुन सक्छन् ।’

सुंगुर र हाँसबाट मानिससम्म पुग्छ संक्रमण

जापानिज इन्सेफलाइटिस डेंगु भाइरस समावेश भएको ‘फ्लेभी भाइरस’ समूहअन्तर्गत पर्छ । यो क्युलेक्स जातको लामखुट्टेले फैलाउँछ । विश्व स्वास्थ्य संगठनले उल्लेख गरेअनुसार लक्षण सहितका संक्रमितहरू एसियामा झन्डै एक लाखको हाराहारीमा वर्षेनी देखिने गर्छन् । यसको मृत्युदर अधिकतम ३० प्रतिशत छ ।

त्यसैले यसलाई उच्च घातक संक्रमण मान्न सकिन्छ । उपचारपछि पनि करिब ५० प्रतिशतसम्मलाई स्नायु प्रणालीमा दीर्घकालीन असर देखिने गर्छ ।

गर्मी बढ्ने, पानी जम्ने र धानखेत हुने समयमा यस्ता लामखुट्टेको प्रजननका लागि अनुकूल वातावरण बन्ने भएकाले यही मौसममा जापानी इन्सेफलाइटिसका घटना बढी देखिन्छ ।

तराईका जिल्लामा धान खेती, गर्मी र पानी जम्ने क्षेत्र धेरै हुने भएकाले जोखिम तुलनात्मक रूपमा बढी देखिएको विज्ञ बताउँछन् । काठमाडौंलगायत पहाडी क्षेत्रमा पनि लामखुट्टे पाइने भए पनि जापानी इन्सेफलाइटिस फैलाउने लामखुट्टेलाई तराईको वातावरण बढी अनुकूल हुन्छ ।

संक्रमित लामखुट्टेले सुंगुर वा हाँसलाई टोकेपछि भाइरसको मात्रा बढ्न सक्छ । त्यसपछि अर्को लामखुट्टेले संक्रमित जनावरलाई टोकेर मानिसलाई टोक्दा संक्रमण मानिससम्म पुग्न सक्छ ।

तर, मानिसबाट मानिसमा भने जापानी इन्सेफलाइटिस सर्दैन ।

‘धान खेतमा पानी जम्मा हुने भएकाले लामखुट्टेलाई प्रजनन गर्न सजिलो हुन्छ । त्यस्तै, सुँगुर र हाँसलाई संक्रमित लामखुट्टले टोक्दा भाइरसलाई हजारौं गुणा बढाइदिन सक्छन्,’ डा. गौतम भन्छन् ।

सुँगुरलाई खुला रूपमा छाड्नुको सट्टा सुरक्षित खोरमा राख्ने, खोरमा जाली लगाउने, घरबाट केही दूरीमा व्यवस्थित रूपमा पालन गर्ने र सरसफाइमा ध्यान दिनुपर्ने उनको सुझाव छ ।

५० वर्षभन्दा माथिका व्यक्तिमा भएको मृत्यु

सामान्यतया १५ वर्षमुनिका बालबालिकामा बढी देखिने जेई नेपालमा भने पछिल्लो समय ४० वर्षमाथिका मानिसमा मृत्यु र संक्रमण देखिएको छ ।

परम्परागत रूपमा १५ वर्षमुनिका बालबालिकालाई जापानी इन्सेफलाइटिसको बढी जोखिममा रहेको मानिन्थ्यो । तर अहिलेको तथ्यांकमा १५ वर्षभन्दा माथिका व्यक्तिमा संक्रमण र मृत्युको संख्या उल्लेख्य देखिएको डा. गौतमले बताए ।

उनका अनुसार १५ वर्षभन्दा माथिका व्यक्तिमा ८० प्रतिशतभन्दा बढी संक्रमण देखिएको छ । मृत्यु हुनेमा ५० वर्षमाथि उमेर समूहका छन् ।

५० वर्षभन्दा माथिका व्यक्तिको मृत्यु हुनुको कारणबारे डा. गौतम भन्छन्, ‘मृत्यु हुने अधिकांशले खोप लगाएको पाइएन । पहिला खोप लगाउने व्यवस्था नै थिएन । उहाँहरू खोपको पहुँचमा पर्नु भएन । त्यसैले खोप नलगाएका उमेर समूहमा अहिले संक्रमण देखिएको हो ।’

जापानी इन्सेफलाइटिसमा मस्तिष्कमा संक्रमण भएपछि जटिलता बढ्दै जाँदा बिरामीको अवस्था गम्भीर बन्छ ।

जापानी इन्सेफलाइटिसबाट संक्रमितमध्ये करिब ३० प्रतिशतसम्मको मृत्यु हुन सक्ने र बाँचेका केही बिरामीमा दीर्घकालीन अपांगता देखिन सक्ने उनले बताए । कतिपयमा पक्षाघात, स्वाद वा गन्धसम्बन्धी समस्या तथा अन्य स्नायुजन्य समस्या जीवनभर रहन सक्ने सक्छ ।

५० प्रतिशतसम्ममा प्यारालाइसिस वा अन्य न्युरोलोजिकल समस्या हुन्छ । जेई भाइरस उच्च घातक मात्र होइन, यदि उपचार गरेर बचाउन सकियो भने पनि यीमध्ये झन्डै ५० प्रतिशतमा जीवनभर नसासँग सम्बन्धित अपांगता गराउन सक्छ ।

कम्पन आइरहने, सुन्ने शक्ति वा दृष्टि गुम्ने, बोल्ने क्षमता अनि स्मृतिमा ह्रास हुने, बोलाइ/स्पिच कमजोर हुने, हातखुट्टा लुला हुने जस्ता समस्या देखिन सक्छन् ।

बाँकी २० देखि ३० प्रतिशतको हाराहारीमा बिरामी भने पूर्ण रूपमा निको हुन्छन् ।

संक्रमण भएको चारदेखि १४ दिनसम्ममा यसको लक्षण देखिन सुरु हुन्छ । उच्च ज्वरो आउनु, टाउको दुख्नु, घाँटी कडा (अररो) हुनु, अन्योलमा देखिनु, मांसपेसी कडा हुनु, अचेत हुनु र उपचारमा विलम्ब भए मृत्युसमेत हुन्छ ।

विशेषगरी जेईको औषधि वा एन्टिभाइरल औषधि भने हुँदैन । उपचार लक्षण वा जटिलतामा आधारित हुन्छ ।

व्यवहार परिवर्तन आवश्यक

जापानी इन्सेफलाइटिस नियन्त्रणका लागि खोप मात्र पर्याप्त नहुने डा. गौतम बताउँछन् । लामखुट्टेको टोकाइबाट जोगिन व्यक्तिगत सुरक्षा, घर वरिपरि सरसफाइ, पानी जम्न नदिने र पशुपालनलाई व्यवस्थित बनाउनु पनि उत्तिकै आवश्यक रहेको उनको भनाइ छ ।

विशेषगरी साँझ, राति र बिहान झिसमिसेमा लामखुट्टेको गतिविधि बढी हुने भएकाले त्यो समयमा शरीर ढाक्ने कपडा लगाउनु पर्छ ।

तराईमा गर्मीका कारण छोटो कपडा लगाउने बाध्यता भए पनि बाहिर निस्कँदा लामो बाहुला भएका कपडा प्रयोग गर्ने, लामखुट्टेको धुप वा अन्य सुरक्षित उपाय प्रयोग गर्ने र सुत्दा झुल प्रयोग गर्न विज्ञ सुझाव दिन्छन् ।

जापानी इन्सेफलाइटिस नियन्त्रणमा स्वास्थ्य संस्थाको निगरानीसँगै समुदायस्तरको जनचेतना बढाउनु पर्ने डा. गौतमको जोड छ ।

डेंगु नियन्त्रणका लागि लामखुट्टेको खोजी र नष्ट गर्ने अभियान सञ्चालन गरिए जस्तै जापानी इन्सेफलाइटिसको जोखिम घटाउन पनि लामखुट्टेको प्रजननस्थल नियन्त्रण गर्नुपर्छ । तर त्यसका लागि रोगअनुसार छुट्टाछुट्टै अभियानभन्दा लामखुट्टे नियन्त्रणलाई एकीकृत रूपमा अघि बढाउनु पर्ने डा. गौतम बताउँछन् ।

‘लामखुट्टे दिउँसो वा राति टोक्ने कुरा मात्रै होइन, त्यसबाट बच्ने व्यवहार नै परिवर्तन गर्नुपर्छ,’ डा. गौतमले भने ।

दशकअघिको भयावह दोहोरिने खतरा

नेपालमा जेईको संक्रमण नयाँ चुनौती होइन । यो रोगले केही दशकअघि नै नेपालमा ठूलो मानवीय क्षति गरिसकेको छ । सन् २००५ मा मात्रै जेई संक्रमणबाट करिब दुई हजार जनाको मृत्यु भएको थियो । मृतकमध्ये अधिकांश तराईका बालबालिका थिए ।

संक्रमणको उच्च दर र मृत्युदरका कारण सन् २००६ देखि जोखिम क्षेत्रमा बालबालिकालाई खोप अभियान सुरु गरेको थियो । पछि दाता तथा विश्वव्यापी स्वास्थ्य साझेदारहरूको सहयोगमा अभियान देशका अन्य प्रभावित क्षेत्रमा विस्तार गरियो ।

जेईको जोखिम घटाउन खोप प्रभावकारी देखिएपछि सरकारले यसलाई नियमित खोप कार्यक्रममा समेट्यो । अहिले सरकारी स्वास्थ्य संस्थामार्फत बालबालिकालाई जेईविरुद्धको खोप निःशुल्क उपलब्ध गराइँदै आएको छ । तर खोप कार्यक्रम नियमित बने पनि खोपबाट छुटेका जनसंख्यामा जोखिम कायमै रहेको विज्ञहरू बताउँछन् ।

खोप विज्ञ डा.श्यामराज उप्रेतीका अनुसार जेईबाट हुने मृत्यु र अपांगताको जोखिम उच्च भएकाले खोपबाट छुटेका व्यक्तिलाई लक्षित गरी पुनः खोप अभियान सञ्चालन गर्न आवश्यक छ ।

‘जेई संक्रमणका कारण मृत्यु र अपांगताको दर उच्च रहेकाले सम्बन्धित निकायले खोप नलगाएको जनसंख्याका लागि खोपको व्यवस्था गर्नुपर्छ,’ डा. उप्रेतीले भने, ‘खोप नलगाएका जनसंख्यालाई छुटेका अवसरका रूपमा लिएर खोप अभियान सञ्चालन गर्नुपर्छ।’

भारतको गोरखपुरमा सन् १९९० को दशकमा जेईको ठूलो प्रकोप देखिए पनि नेपालमा यो रोगको इतिहास त्यसभन्दा पुरानो छ । नेपालमा सन् १९७८ तिरै जेई संक्रमण देखिएको अनुमान गरिएको छ ।

खोप शाखाका प्रमुख गौतमका अनुसार त्यसबेला संक्रमण पुष्टि गर्ने आवश्यक प्राविधिक सुविधा उपलब्ध थिएन । तर बिरामीमा देखिएका लक्षणका आधारमा रुपन्देहीमा जेई संक्रमण भएको अनुमान गरिएको थियो ।

‘सन् १९७८ तिर रुपन्देहीमा संक्रमण भएको देखिन्छ । त्यतिबेला प्रमाणित गर्ने प्राविधिक सुविधा थिएन, तर लक्षणका आधारमा जेई नेपालमा देखिएको अनुमान लगाइएको छ,’ डा. गौतम भन्छन्।

सन् २००३ देखि भने नेपालमा जेईको आधिकारिक परीक्षण सुरु भयो । ढाडबाट पानी र रगतको नमुना परीक्षण गरेर संक्रमण पुष्टि गर्न थालिएपछि देशमा जेईको वास्तविक फैलावट पहिचान हुन थाल्यो ।

त्यस क्रममा पश्चिम नेपालका बाँके, बर्दिया, कैलाली र कञ्चनपुरदेखि पूर्वका झापा, मोरङ र उदयपुरसम्म जेईका संक्रमित भेटिन थाले । तराई क्षेत्र यसको मुख्य चपेटामा परेको थियो ।

‘बाँके, बर्दिया, कैलाली, कञ्चनपुर लगायतका क्षेत्रहरूमा पश्चिमतिर र पूर्वतिर पनि झापा, मोरङ, उदयपुर लगायतका ठाउँहरूमा संक्रमित देखिन थाले । सबैभन्दा बढी तराई क्षेत्र प्रभावित भयो,’ डा. गौतम भन्छन् ।

जेईको प्रकोप नियन्त्रण गर्न सरकारले सन् २००६ देखि २००९ सम्म चरणबद्ध रूपमा जोखिम क्षेत्रमा एक वर्षभन्दा माथिका बालबालिकालाई खोप दिन सुरु गर्‍यो । खोप अभियानपछि ती क्षेत्रमा जेई संक्रमण उल्लेख्य रूपमा घट्यो । यसले जेई नियन्त्रणमा खोपको प्रभावकारिता पुष्टि गर्‍यो ।

तर, जोखिम त्यत्तिमै रोकिएन । लामखुट्टेको वृद्धि, वातावरणीय परिवर्तन र मानिसको बढ्दो आवतजावतसँगै जेई पहाडी क्षेत्रमा समेत फैलिन थाल्यो । संक्रमणको भौगोलिक दायरा फराकिलो हुँदै गएपछि सरकारले खोप रणनीति पनि विस्तार गर्नुपर्‍यो ।

सन् २०१५ मा राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिसपछि बाँकी ४४ जिल्लामा १५ वर्षसम्मका सबै बालबालिकालाई जेईविरुद्धको खोप दिने निर्णय भयो । सोहीअनुसार १५ वर्षसम्मका बालबालिकालाई खोप दिइयो ।

त्यसपछि जेई खोपलाई राष्ट्रिय नियमित खोप कार्यक्रममा समावेश गरियो । अहिले बालबालिकालाई सरकारी स्वास्थ्य संस्थाबाट निःशुल्क खोप दिइँदै आएको छ ।

लेखक
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?