+
+
Shares

मापसे गरेको भन्दै विमानबाट ओरालिए एनआरएन अध्यक्ष

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ८ गते ९:५२

८ भदौ, काठमाडौं । मापसे गरेको भन्दै सिल्क एयरले एनआरएनए अध्यक्ष भवन भट्टलाई हवाई जहाजबाट बाहिर निकालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न भट्ट काठमाडौंबाट सिंगापुर जान लागेका थिए । बोर्डिङ पास लिएर हवाई जहाजको सिटमा बसिसकेको बेला भट्ट र उनीसँगै रहेका सनत न्यौपानेलाई ‘क्रु मेम्बर’ले बाहिर निकालिदिएका हुन् ।

यो कुराको पुष्टि न्यौपाने आफैंले गरेका छन् । उनले फेसबुकमार्फत अडियो लाइभ गर्दै भनेका छन्, ‘एयरलाइन्समा बोर्ड गरिसकेपछि, सिटमा बसिसकेपछि त्यहाँको क्याप्टेन आएर आई क्यान नट फ्लाई विथ यू भन्यो ।’

यो कुरा सार्वजनिक भएपछि न्यौपानेले फेसबुक लाइभमार्फत घटनाक्रमबारे सविस्तार जानकारी दिएका छन् । न्यौपानेका अनुसार भट्ट र उनी त्यो दिन सँगै थिए । उनीहरु बिजनेस मिटिङहरुमा सहभागी थिए । त्यसैक्रममा मदिरा सेवन गरेको उनले स्वीकारेका छन् ।

‘हामी बिजनेस मिटिङमा थियौं, बिजनेस मिटिङमा कुन लेभलको अल्कोहल कन्जम्सन हुन्छ भन्ने कुरा हामी सबै जगजाहेरै छौं । यसमा त्यस्तो केही पनि हुँदैन भन्ने कुरालाई इगनोर पनि नगरौं,’ न्यौपानेले भनेका छन्, ‘तर, उहाँले (भवन भट्टले) मैले प्रधानमन्त्रीलाई भेट्नु छ आज म अल्कोहल त्यति लिन्नँ भन्नुभा’थ्यो ।’

प्रधानमन्त्रीलाई भेटेर स्वास्थ्य लाभको कामना गर्ने र सिंगापुरमा रहेको बिजनेसको लागि पनि छलफल गर्ने भनेर आफूहरुले सिल्क एयरको टिकट लिएको उनी बताउँछन् ।

न्यौपानेका अनुसार इमिग्रेसन पास भइसकेपछि प्रि बोर्डिङबाट अगाडि बढ्ने क्रममा सेक्युरिटीले पनि सुरुमा उनीहरुलाई रोकेको थियो । तर, पछि फेरि ‘हाम्रो गल्ती भयो’ भनेर सेक्युरिटीले त्यहाँबाट पनि जान दिएपछि प्लेनमा गएर बसेको उनको भनाइ छ । प्लेनको सिटमा बसिसकेको यात्रुलाई ओरालेर एयरलाइन्सका कर्मचारीले आफूहरुको बेइज्जत गरेको न्यौपानेको आरोप छ । यो घटनाबाट आफू लज्जित भएको उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?