Comments Add Comment

डाक्टरको सामूहिक राजीनामापछि आफैं विरामी जाँच्दै उपकुलपति भण्डारी

अभियानले दियो २४ घण्टे अल्टिमेटम

८ भदौ, काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर र कर्मचारीहरुले सामूहिक राजीनामा दिएपछि उपकुलपति प्रा.डा. संगीता भण्डारीले आफैं विरामी जाँच्न थालेकी छन् । तर उनको कार्यशैली ठीक नभएको भन्दै ‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाऔं अभियान’ले राजीनामा मागेको छ ।

उपकुलपति भण्डारीले मानसिक यातना दिने गरेको भन्दै प्रतिष्ठानका डाक्टर तथा कर्मचारी गरी २२ जनाले ५ भदौमा सामूहिक राजीनामा दिएका थिए ।

अत्यावश्यक सेवा प्रभावित भएपछि उपकुलपति भण्डारी आफैं उपचारमा खटिएकी छन् । ‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाऔं अभियान’ आइतबार ज्ञापनपत्र बुझाउन जाँदा पनि भण्डारी विरामीको उपचारमै व्यस्त थिइन् ।

उनको अनुपस्थितिमा रजिष्ट्रार रामप्रसाद प्याकुरेलले ज्ञापनपत्र बुझेका थिए । ज्ञापनपत्रमा निःशुल्क प्रसूति सेवा र थारु समुदायमा देखिने सिकलसेल रोगको उपचार सेवा कटौती गरेको, पोषण पुनःस्थापना केन्द्र बन्द गरेको, उपचार शुल्क महंगो बनाएको लगायतका आरोप छन् । यसैगरी राप्ती उपक्षेत्रीय अस्पताल प्रतिष्ठानमा हस्तान्तरण भइसकेपछि अस्पतालअन्तर्गतका कर्मचारीलाई समायोजन गर्नुको साटो निष्कासन गरेको आरोप पनि छ ।

२४ घण्टाभित्र राजीनामा दिन आग्रह गर्दै बुझाइएको ज्ञापनपत्रमा लेखिएको छ, ‘दुई वर्षको अवधिमा प्रतिष्ठानमा देखिएको व्यापक अनियमितताले अझै पनि यही नेतृत्व रहिरहे यसले प्रतिष्ठानको गरिमा र प्राज्ञिक मर्यादालाई कायम राख्न सक्छ भन्ने विश्वास गर्न सकिने ठाउँ रहेन ।’

सरकारले भण्डारीलाई उपकुलपति पदबाट हटाउने निर्णय पनि गरेको थियो । तर, सर्वोच्चको आदेशपछि उनी पूर्ववत जिम्मेवारीमा फर्किएकी थिइन् । अहिले फेरि उपकुलपतिलाई २४ घण्टाभित्र पद छाड्न विकीरण गौतम संयोजकत्वको ‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाऔं अभियान’ले माग गरेको छ ।

पोष्टमार्टम पनि हुन छाड्यो

सरकारले २०७४ सालमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरेको थियो । त्यसपछि साविकको उपक्षेत्रीय अस्पताललाई प्रतिष्ठानमा गाभियो । प्रतिष्ठान गठन भएपछि राप्तीबासीले थप गुणस्तरीय, सर्वसुलभ स्वास्थ्य सेवा पाइने भयो भनेर खुसी भए । एमबीबीएससम्म पढाइ हुने भएपछि दाङबाट डाक्टरहरु उत्पादन हुने अपेक्षा गरियो ।

तर, दंगालीलाई मात्र होइन, आसपासका जिल्लाबासीलाई पनि अमूल्य सम्पत्ति भनिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान अहिले धरासायी भएको छ । जनताको अपेक्षामा तुषारापात भएको छ । हाल साविकको उपक्षेत्रीय अस्पतालको जति सेवा पनि प्रतिष्ठानबाट विरामीले पाउन सकेका छैनन् । पोष्टमार्टम सेवासमेत बन्द हुँदा तुलसीपुर वा लमही लैजानुपर्ने बाध्यता छ ।

हाल वर्षायाममा मौसमी विरामीहरुको संख्या बढेको छ । तर डाक्टरहरु उपचार गर्न छाडेर राजीनामा दिएर बसेका छन् । आर्थिक रुपमा सवल विरामीहरु उपचार गर्न अन्य जिल्लामा जाने गरे पनि निम्न वर्गका विरामीहरु उपचार नपाएरै मृत्युवरण गर्छन् ।

१० दिनको अवधिमा चार जना विरामीको ज्यान गएको रेकर्ड प्रतिष्ठानसँग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment