Comments Add Comment

के मापसे गरेर जहाज चढ्न पाइँदैन ?

८ भदौ, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भवन भट्टलाई शनिबार सिंगापुर प्रस्थानका लागि सिल्क एयरको जहाजभित्र बसिसकेका थिए । तर अन्तिम समयमा उनी उड्नबाट वञ्चित भए र विमानबाटै निकालिए ।

भट्ट र उनका सहयोगी सनत न्यौपानेले मापसे गरेकाले जहाजबाट पाइलटले निकालेको समाचार बाहिर आएको छ । यद्यपि, जहाजभित्र मापसे गरेर यात्रा गर्न नपाइने नियम छैन । बरु लामो दुरीका जहाजभित्र यात्रुलाई परिचारिकाहरुले नै रोजी–रोजी मदिरा सर्भ गर्ने गर्छन् । तर, यात्रुको चालचलन ठीक नलागेमा पाइलटले जो–कोहीलाई बिमानबाट निकाल्न सक्ने प्रावधान रहेको छ ।

अत्यधिक मदिरा सेवन गरी विमानस्थल पुग्दा जहाज चढ्न नपाएका घटना अन्यत्र पनि सुनिने गर्छ । यसमा उनीहरुले देखाउने खराब व्यवहार बढी जिम्मेवार हुन्छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारी भन्छन्, ‘विमानस्थल छिरेपछि तपाईंले जस्तो व्यवहार देखाउनुहुन्छ, यात्रा त्यसमै निर्भर हुन्छ । अल्कोहल सेवन गरेर यात्रा गर्न नपाउने भन्ने चाँहि हुँदैन ।’

यात्रुले विमानस्थल प्रवेश गरिसकेपछि विमानस्थलका विभिन्न स्थानमा खटिएका सुरक्षाकर्मी, कर्मचारीसँग देखाउने व्यवहारको रिपोर्टिङ सम्बन्धित जहाजका पाइलटलाई गरिसकेका हुन्छन् । सबै यात्रुका हकमा यस्तो रिर्पोटिङ हुँदैन । जुन यात्रुले बोर्डिङ पास लिनेदेखि अध्यागमन, सुरक्षा जाँचपासका दौरान फरक व्यवहार देखाउँछ, उसमाथि निगरानी शुरु भइसकेको हुन्छ । जहाजभित्र एक यात्रुका कारण अन्य यात्रुलाई असर नपुगोस् भन्नेमा भने निकै सचेतना अपनाउने गरिन्छ ।

विशेषाधिकार पाइलटलाई

अन्तर्राष्ट्रिय नागरिक उड्डयनसम्बन्धी विभिन्न कानूनले जहाजभित्र पाइलटलाई विशेषाधिकार दिएका हुन्छन् । बोलिचालीको भाषामा यसलाई ‘पाइलट–इन–कमाण्ड’ भनिन्छ । जसरी संसद भवनभित्र सभामूखको आदेश सर्वेसर्वा हुन्छ, त्यस्तै अधिकार जहाजमा पाइलटलाई दिइएको हुन्छ ।

त्यसकारण विमानस्थलमा अरु प्रक्रिया पुरा गर्दै जहाज भित्र छिरेपनि पाइलटले ‘उडान सुरक्षामा थ्रेट’ महसुश गरे भने कुनै पनि यात्रुलाई जुनसुकै बेला बाहिर उतार्न सक्छन् । यात्रुले उत्रन नमाने प्रहरी लगाएर भए पनि जहाजबाट बाहिर निकालिन्छ ।

उडान अवधिमा हवाईजहाज, हवाई यात्रु र चालक दलका सदस्यहरुमाथि हुने कुनै पनि प्रकारको जोखिमबाट बचाउनु पाइलटको दायित्व हुन्छ । कुनै यात्रुका कारण उडानमा अवरोध सिर्जना हुन सक्ने वा अन्य यात्रुलाई असर पर्ने देखिएमा पाइलटले ‘पाइलट–इन–कमाण्ड’को अधिकार प्रयोग गर्न सक्छन् । उडिसकेका जहाजभित्र कुनै यात्रुले उद्दण्डता मच्चाएमा सो जहाजलाई गन्तव्यमा नपुग्दै बीचमै अवतरण गराएर यात्रुलाई निकालिएका घटना पनि छन् ।

किन निकालिए भट्ट ?

विमानस्थल स्रोतका अनुसार विमानस्थलमा आवश्यक कागजातको प्रक्रिया पूरा गर्ने क्रममा भट्टको कर्मचारी तथा सुरक्षाकर्मीसँग झमेला भएको थिए । भट्टले आफूहरुमाथि अभद्र व्यवहार गरेको कर्मचारीको भनाइ छ । सोही कारण अध्यागमन पार गरी प्रि–बोर्डिङ पास लिने क्रममा सुरक्षाकर्मीले उनीहरुलाई केहीबेर रोकेका थिए । सोही क्रममा यात्रुको अवस्थाका बारेमा सिल्क एयरका ‘क्रु मेम्बर’लाई जानकारी गराइएको थियो ।

सुरक्षाकर्मीले रोकेको विषयलाई सनतले फेसबुक लाइभमार्फत जानकारी गराएका थिए । सुरक्षाकर्मीले पार गराएपछि उनीहरु जहाजसम्म पुगेका थिए । त्यसपछि भने पाइलटले ‘तपाईहरुलाई सँगै लिएर उड्न असमर्थ छौं’ भन्दै जहाजबाट ओर्लन आग्रह गरे । स्रोतका अनुसार जहाजमै विवाद शुरु भएपछि एयरलाइन्सले विमानस्थल प्रहरीलाई खबर गरेको थियो । प्रहरीको सहयोगमा दुबै जनालाई जहाजबाट बाहिर निकालिएको थियो । न्यौपानेले अल्कोहल सेवन गरेको स्वीकार गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment