Comments Add Comment

रविका समर्थकबाट पिटाइ खाने ‘भाइरल म्यान’ भन्छन्– मण्डलेले बितण्डा गरे

८ भदौ, काठमाडौं । शनिबार राजधानीमा रवि लामिछानेका समर्थकहरुले आयोजना गरेको विरोध प्रदर्शनमा भाषण गरिरहेका बेला पुण्य गौतमले पिटाइ खाए ।

विरोध प्रदर्शनपछिको कोणसभामा गौतमले माइक्रोफोन समातेर बोल्नासाथ केपी ओली र प्रचण्डको नाम लिए । प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गर्नासाथ रविका समर्थकहरुको भीडबाट गौतममाथि बोतल र ढुंगा प्रहार भयो । उनी मञ्चबाटै लखेटिए ।

आफूमाथि मण्डलेहरुले आक्रमण गरेको गौतम बताउँछन् । गौतमले अहिले देशमा राजावादी चलखेल बढेको भन्दै प्रचण्ड र केपी ओली एक भएर ‘मण्डले’ हरुलाई सडकबाट खेद्नुपर्ने बताए ।

शनिबारको घटनाबारे वर्णन गर्दै उनले भने, ‘हामी सभा चल्ने छेऊछाउमै चिया खाइरहेका थियौं । केही भाइहरुले दाइ यहाँ नेकपाका मान्छे पनि छौं, कांग्रेसका पनि छौं, तपाईले बोलिदिनुप¥यो भने, अनि मैले गएर बोल्न थालें, तपाईले भिडियो फुटेज हेरिहाल्नुभयो, मण्डलेहरुले त्यहाँ बितण्डा गरे ।’

गौतमले थपे, ‘मलाई बोतलमात्रै होइन, ढाडमा ढुंगाले पनि लाग्यो । पुलिसले पनि तिनीहरुकै पक्षमा लागेर मलाई रेस्क्यु गरेन ।’

हाल सत्तारुढ नेकपामै रहेका पूर्वमाओवादी कार्यकर्ता गौतमले रवि लामिछाने रिहाइ हुनुपर्ने माग गर्दै आएका छन् । यसैसाता चितवन पुगेर उनले रवि लामिछानेको पक्षमा युट्युब च्यानललाई अन्तरवार्ता दिएका थिए । र, चितवनबाट काठमाडौं फर्केर शनिबार उनी रविको पक्षमा आयोजित विरोधसभामा वक्तव्य दिन पुगेका थिए । तर, रविका समर्थक गौतममाथि रविका समर्थकहरुबाटै ढुंगामुढा भयो ।

यद्यपि आफू चितवनमा रविको पक्षमा भएको सभामा सहभागी हुन नभई पारिवारिक कामले गएको गौतम बताउँछन् ।

‘रवि मेरो पारिवारिक नाताका मान्छे हुन् । उनी मेरा आमाका मावली हुन् । रवि लामिछानेका बुवा श्रीकृष्ण लामिछाने र मेरी आमा दाजुबहिनी हुन्’ गौतम भन्छन्, ‘त्यसकारण मेरो पारिवारिक नाता छ र त्यो अर्थमा म चितवन गएको थिएँ । म अर्कै पारिवारिक कामले पनि गएको थिएँ । म सभामा गइँन । तर, युट्युबेहरुले समातिहाले ।’

युट्युबको राजनीति !

पछिल्लो समय युट्युबरहरुले केही व्यक्तिलाई जबर्जस्त ‘भाइरल’ बनाएका छन् । त्यसरी ‘भाइरल’ बन्नेहरुको सूचीमा ज्ञानेन्द्र शाही, मुकुन्द घिमिरे (मुकुन्दे), रमेश प्रसाईं, सुरेन्द्र केसी, पुण्य गौतम, दिल निशानी मगर लगायत छन् ।

तर, पुण्य गौतम आफैं युट्युबरसँग दिक्दारी प्रकट गर्दै भन्छन्, ‘युट्युबरहरुले मान्छेलाई काहीँ पनि लुक्न दिँदैनरहेछन् । अहिले म आफ्नो दाजुलाई हृदयाघात भएर गंगालाल अस्पतालमा छु, यस्तो क्रिटिकल अवस्थामा पनि फोटो र भिडियो खिच्न भनेर मान्छेहरु आएका छन् ।’

गौतमले युट्युबमा चर्चित बनेका ज्ञानेन्द्र शाहीको पनि विरोध गरे । ‘ज्ञानेन्द्र शाही कस्तो मान्छेलाई युट्युबेहरुले सेलिब्रेटी बनाए ! उनलाई राजावादीले प्रयोग गरेका छन् । कांग्रेसलाई भेट्दा कांग्रेस हुँ भन्छन्, अहिले राजवादीका रुपमा नांगिएका छन्,’ गौतम भन्छन्, ‘युट्युबरलाई चाहिने जुन असभ्यता र अश्लीलता छ, त्यो शाहीसँग छ । उनले गालीगलौचमा महारथ हासिल गरेका छन् । राजनीतिमा उनको कुनै लगानी छैन, उनी पूरै परिचालित मान्छे हुन् ।

युट्युब च्यानलाई यतिखेर राजावादीहरुले कब्जा गरेको गौतमको आरोप छ । युट्युबबाटै भाइरल बनेका गौतम भन्छन्, ‘युट्युबलाई अहिले म, दिल निशानी र मुकुन्देले धानेका छौं । कांग्रेसका मान्छे चुप लागिसके । त्यहाँ राजावादीहरुले स्पेस लिएका छन् । युट्युबमा पैसा पनि राजावादीहरुको टन्नै लगानी छ ।’

गौतम थप्छन्, ‘युट्युब अहिले टुहुरो भएको छ, ऊ जहाँ भ्युज बढ्छ, त्यहीँ कुद्छ । अनि हामी गणतन्त्रवादीहरुचाहिँ युट्युबे भनेर हेप्छौं ।’

रवि आजका मितिसम्म गणतन्त्रवादी !

रवि लामिछाने प्रकरणलाई लिएर राजावादीहरुले खेल्न खोजिरहे पनि रवि स्वयंचाहिँ आजका दिनसम्म गणतन्त्रवादी र नेकपा निकट रहेको पुण्य गौतमको दाबी छ ।

‘रविलाई मैले भेटेर कुरा गर्दा उनले म मण्डलेतन्त्रमा विश्वास गर्दिनँ भन्थे । प्रचण्डप्रति उनको एक किसिमको आक्रोश छ । तर, केपी ओलीलाई उनी प्रशंसा गर्छन्’ गौतम भन्छन्, ‘रविले मसँग के भन्थे भने म राजनीति गर्न जन्मेको मान्छे होइन, गरें भने मूलधारै समाउँछु, नेकपाप्रति आकर्षण छ, तर म राजनीति गर्ने मान्छे नै होइन भन्थे एकचोटि मसँग ।

रवि लामिछाने र उनकी पत्नीको झुकाव राप्रपासँग नरहेको गौतम दाबी गर्छन् । उनी भन्छन् ‘संयोगले रविका चौथो पत्नीका श्रीमान राप्रपा परे । तर, स्वयं उनकी अहिलेकी श्रीमतीले पनि राप्रपा मन पराउँदिरहिनछिन् । रवि आफू पनि आजका मितिसम्म गणतन्त्रवादी हुन् मैले देखेको ।’

तथापि रवि गणतन्त्रवादी नै रहिरहनेमा भने गौतम विश्वस्त छैनन् । उनी भन्छन्, ‘रवि इमोसनल मान्छे हुन् । उनी पोलिटिकल मान्छे होइनन् । भोलि परिस्थति हेरेर जता पनि स्विङ हुन सक्छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment